आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बीआरआईको महत्त्वपूर्ण साझेदार हो : चिनियाँ राजदूत

सोमबार, २८ असार २०७८, १२ : ५३
सोमबार, २८ असार २०७८

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।

विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न भई हस्तान्तरण भएको बताइन् ।

त्यस्तै टोखा–छहरे सुरुङ मार्ग आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य राम्रोसँग अघि बढेको राजदूत यान्छीले बताइन् । त्यस्तै चीनको सहायतामा अरनिको राजमार्गको दीर्घकालीन उद्घाटन एवं मर्मत परियोजनाको तेस्रो चरणको निर्माण कार्य सुरु उनले जानकारी दिइन् ।

त्यसै गरी पत्रकार सम्मेलनमा मन्तव्य राख्दै राजदूत यान्छीले अन्तर हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले पनि बिस्तारै आकार लिन थालेको बताइन् ।

कोभिड–१९ महामारीको प्रकोपविरुद्धको सङ्घर्षमा चीनले सक्रियतापूर्वक अन्तर्राष्ट्रिय सहयोग गरेको बताउँदै राजदूत यान्छीले भनिन् ‘विकासोन्मुख राष्ट्रहरूमा खोपहरूको सहुलियत र क्षमता सुनिश्चित गर्न चीन सरकार प्रतिबद्ध छ ।’

हालसम्म चीनले नेपाल लगायत झन्डै १०० मुलुकलाई ४५ करोडभन्दा बढी मात्रामा खोप उपलब्ध गराएको बताउँदै उनले भनिन्, ‘नेपालले चीनबाट खरिद गरेको खोपको पहिलो ब्याच आइसकेको छ । त्यसले नेपाली जनताका लागि रोग प्रतिरोधी क्षमता निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरुन् भन्ने कामना गर्दछु ।’

चीनले कठिनाइहरूको सामना गर्दा नेपाल लगायतका विकासशील देशहरूले पनि चीन को पक्षमा बोलेर सहयोग पुर्‍याएको उनले बताइन् । खास गरी मानव अधिकार र कोभिड–१९ भाइरसको उत्पत्तिजस्ता विषयहरूमा चीनविरुद्ध केही देशहरूले गरेको निन्दा विरोधमा नेपाल जस्ता देशहरूले बोलेको उनले सङ्केत गरिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन सधैँ विकासशील मुलुकको पार्टनर हुने बताएको स्मरण गर्दै राजदूत होऊले भनिन्, ‘अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भएता पनि हामी विकासोन्मुख राष्ट्रहरूको भरपर्दो मित्र र निष्कपट साझेदार हुनेछौँ ।’

अनलाइन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजदूत होऊले गत जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी मनाएको स्मरण गरिन् । यसक्रममा उनले चीनको कम्युनिस्ट पार्टीले चीनलाई समृद्ध बनाउन कसरी भूमिका खेल्यो भन्ने अनुभवसमेत नेपाली पत्रकारहरूसँग सेयर गरिन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप