शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय कम्पनी एसजेभिएनले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना निर्माणको ठेक्का

सोमबार, २८ असार २०७८, १२ : २८
सोमबार, २८ असार २०७८

भारतीय कम्पनीले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण ठेक्का औपचारिक रूपमै हात पारेको छ । प्रदेश नम्बर १ को सङ्खुवासभा र भोजपुर जिल्लाको सीमा नदी अरुणमा बन्ने उक्त जलविद्युत निर्माणको ठेक्का भारतीय कम्पनी एसजेभिएन लिमिटेड इण्डियाले पाएको हो । 

आइतबार एक समारोहका बीच नेपाल सरकार, लगानी बोर्डको कार्यालय र निर्माण कम्पनी एसजेभिएनबीच परियोजना निर्माणको सम्झौता (एमओयू) भएको छ ।

समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्धक नन्दलाल शर्माले संयुक्त हस्ताक्षर गरेका छन् । 

पिकिंग रन अफ दी रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० अमेरिकी डलर (२०१७ को दर रेट अनुसार) रहेको छ । २०७५ चैत्र १५ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा प्रस्तावित उक्त परियोजनालाई लगानी बोर्डको ३५ औँ बैठकले अनुमति दिएको थियो । 

सम्मेलनमा प्रस्तुत गरिएको उक्त परियोजनाका लागि प्राप्त प्रस्तावहरूमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रक्रिया अवलम्बन गरी २०७७ माघ १६ मा बसेको लगानी बोर्डको ४६ औँ बैठकले परियोजनालाई निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण दाँचामा विकास गर्न भारतीय कम्पनी एसजेभिएनको प्रस्ताव छनौट गरिएको लगानी बोर्डले जनाएको छ । 

पछिल्लो बोर्डको ४७ औँ बैठकले उक्त समझदारी पत्रको मस्यौदा स्वीकृत गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई समझदारी पत्रमा हस्ताक्षर गरी सर्वेक्षण अनुमति पत्र जारी गर्न अख्तियारी प्रदान गरेको थियो । 

सङ्खुवासभा र भोजपुर जिल्लाको सीमा अरुण नदीमा बन्ने यस परियोजनाबाट कुल ६७९ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ भने, परियोजनाले प्रस्तावित वार्षिक उत्पादन २ हजार ६२५ गिगावाट–घण्टा विद्युत् उत्पादन गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप