सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

सोमबार, २८ असार २०७८, १२ : ०७
सोमबार, २८ असार २०७८

झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताइन् । उनी आफैँले पालेको ४० घार मौरी मरेको छ ।

बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । झापाको चारआली र मोरङको बेतना जङ्गल आसपास चरनमा लगिएका मौरी मरेर सोत्तर भएका छन् । मौरी के कारणले मरेका हुन् भन्ने पत्ता लगाउन सकिएको छैन ।

उनका अनुसार यसबाट मौरीपालक किसानलाई रु ३४ लाखभन्दा बढी क्षति भएको छ । मौरी मरेको थप घटनाको विवरण आउन बाँकी रहेको हुँदा क्षतिको मात्रा अझ बढ्ने उनको भनाइ छ । 

शिवसताक्षीको गजुरमुखी मौरी फर्मकी सञ्चालक धनमाया पाठकले १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको जानकारी दिइन् । पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले अज्ञात रोगका कारण १० घार मौरी घरमै मरेको बताइन् । सोम दाहालको ४०, सन्तकुमारी मुखियाको ३५, धनमाया थापाको २०, टीका थापाको २५, पूmलकुमारी चौधरीको १०, नन्दकुमार दङ्गालको ३१ र डिकुरादेवी गजुरेलको ३५ घार मौरी अज्ञात रोगले मरेको छ ।

मौरीपालन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय किसान मौरी मर्ने घटना बढेपछि चिन्तित बनेका छन् । मौरीको घारको बीमा नगरिएका कारण क्षतिपूर्ति पाउने सम्भावना पनि छैन । झापाको शिवसताक्षी मौरीपालनका लागि केन्द्र मानिन्छ । जहाँ तीन हजार घार मौरी पालिँदै आएको छ । यहाँ वार्षिक ११ टन मह उत्पादन हुने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्ववरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउँछन् । 
    
मह प्रशोधन केन्द्रले किसानबाट रु ४०० प्रतिकेजीका दरले मह खरीद गर्दै आएको छ । यो हिसाबले शिवसताक्षीमा वार्षिक रु चार करोड २० लाखको मह उत्पादन हुने गरेको छ । मौरी मरेर सोत्तर भएपछि किसानले अपूरणीय क्षति व्यहोर्नु परेको खरेल बताउँछन् । कैयौँ किसानले भर्खर ऋण लिएर मौरी पाल्न शुरु गरेका थिए । कसरी कर्जा तिर्ने भन्ने समस्याले किसानलाई सताउन थालेको छ । 
“मौरीको घार खरीद गरेको ऋण तिर्न बाँकी नै छ, अब कसो गर्ने ?”, गजुरमुखी मौरी फार्मका सञ्चालक धनमाया पाठकले चिन्ता व्यक्त गर्दै भनिन् । उनको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको थियो । सत्र घार मौरी मर्दा रु दुई लाख ५५ हजार बराबरको क्षति भएको छ । 

व्यवस्थापक दाहालले मौरीमा रोगको लक्षण केही नदेखिएको जनाउँदै झार मार्ने विषादीको अत्यधिक प्रयोगका कारण चरनमा भएको बेला पानी पिउँदा मौरी मरेको हुनसक्ने बताए । मौरी मर्ने रोग पनि हुने जनाउँदै कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले मौरीपालन व्यवसाय नै धराशायी हुने जोखिम बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप