बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाः प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित

सोमबार, २८ असार २०७८, १० : १३
सोमबार, २८ असार २०७८

बागमती प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश सरकारको आर्थिक विधेयक बहुमतले पारित गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक विधेयकमाथि संसद्मा छलफल गरी बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारको आर्थिक विधेयक माथि कुल १० जना सांसदहरुले भाग लिएका थिए । जसमध्ये सत्तापक्ष नेकपा एमालेका २ जना र प्रतिपक्षका ८ जना सांसद्हरुले उक्त विधेयक माथिको छलफलमा भाग लिएका थिए ।

छलफलमा भाग लिएका सत्तापक्षका सांसद्हरुले आइतबारको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथिको खर्च कटौतीको प्रस्ताव राखेर मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने क्रममा प्राविधिक समस्या आई प्रदेशसभा बैठक केहीबेर रोकिँदा प्रतिपक्षले बैठक नै बहिस्कार गरेर संसद्कोे मर्यादालाई उलघंन गरेको बताए ।

उनीहरुले संसद्को मर्यादालाई नै वेवास्ता गर्ने प्रतिपक्ष दल नेकपा एमालेको एकता देखि डराएर बैठक छोडेर भागन्ु पर्ने अवस्था आएको बताए ।

सरकारले गरेको राम्रो काम देख्न नसकेर विपक्षी दलहरुले संसद् नै बहिस्कार गरेर हिडेको भन्दै नेकपा एमालेले जनमुखी काम गरेर कम्युनिष्टको झण्डालाई उच्च राख्ने काम गरेको उनीहरुको भनाई छ ।

त्यस्तै बैठकमा आर्थिक विधेयक माथि छलफलमा भाग लिँदै विपक्षी दलहरुले सरकारले विपक्षी दलहरुको उनुपस्थितीमा उनीहरुले राखेको खर्च कटौतीको प्रस्ताव निष्कृय बनाउने काम भएको भन्दै उक्त कार्यको विरोध गरेका छन् ।

सत्तापक्षले दम्भ र आडम्बरको आधार रातको अन्धकारमा बजेट पास गरेर हिजोको दिन इतिहासमा कालो दिनको रुपमा दर्ज गराएको विपक्षी दलका सांसद्हरुको आरोप छ ।

सरकारले संसद्मा पूर्ण छलफल नै नगरि रातारात बजेट पास गरेर सत्ता टिकाउने काम मात्र गरेको भन्दै सरकार विपक्षीहरुसंग डराउने गरेको बताए ।

बहुमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमनत्री पौडेलले संसद्मा उठेका प्रश्नहरुको उचित जवाफ दिन नसक्ने देखिएपछि कमजोर व्यवस्थापनका कारण रोकिएको प्रदेशसभाको बैठकमा एकलौटी ढंगबाट विपक्षी बिना नै बजेट पास गरेर आप्नो निकम्मा पन देखाएको उनीहरुको भनाइ छ ।

उनीहरुले सत्तापक्षको सरकार टिकाउनको लागि प्रतिपक्षले महत्वपूर्ण भूमिका खेलेको भन्दै घमण्ड र आडम्बरी छोड्न उनीहरुको आग्रह गरे । यस्तै रवैया देखाउने हो भने विपक्षी दलहरुले प्रदेश सरकारको हैसियत देखाउन केही बेर नलाग्ने उनीहरुको भनाई छ ।

प्रदेश सरकारको आर्थिक विधेयक पारित भए लगत्तै १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप