शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुद्वारा फेरि बहिष्कार

आइतबार, २७ असार २०७८, २२ : ५७
आइतबार, २७ असार २०७८

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिष्कार गरेका छन् । आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीहरुका प्रश्नबारे जवाफ दिएपछि सुरु भएको प्रदेशसभा बैठक चल्दै गर्दा विद्युत अवरुद्ध भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भोलिका लागि आह्वान गर्न माग गरेका थिए । सभामुखले बैठक जारी राख्ने बताएसँगै विपक्षी दलहरुले बैठक बहिष्कार गरेका हुन् ।

विपक्षी दलहरुले बहिष्कार गरे पनि सभामुख श्रेष्ठले बैठक सञ्चालन गरेका छन् । विपक्षी दलका तर्फबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका सांसदहरुको बहिष्कारका बीच सत्तापक्षको उपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन भएको हो ।
प्रतिपक्ष दल नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अवरोध र बहिष्कारका बीच पनि एकलौटी ढंगबाट वर्तमान सरकारले बजेट पास गर्ने चेस्टा गरेमा आजको दिन इतिहासकै कालो दिन हुने बताए ।
उनले रातोपाटीसँग भने बिहान ११ः३० बजेदेखि निरन्तर बैठक चलाइएको छ । कमजोर व्यवस्थापनका बीच चलेको बैठकमा समय–समयमा विद्युत कटौतीको समस्या आइरहेको छ । बजेटका सन्दर्भमा सांसदहरुले आफ्ना सुझाव राख्न बाँकी नै रहेकोले भोलिका लागि बैठक आह्वान गर्न आग्रह गर्दासमेत सरकारले दम्भ देखाएर बजेट पास गर्ने काम गरिरहेको उनको आरोप छ ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद् युवराज दुलालले आफूहरुले लचकता देखाएर संसद् सञ्चालन गर्न दिएको भएपनि सरकार विपक्षीहरूलाई दबाएर बजेट पास गर्ने खेलमा लागेको बताए । उनले व्यवस्थापनमा समस्या रहेको र रात परिसकेका कारण बैठक सार्न आग्रह गर्दासमेत सत्तापक्षले हेपाहा प्रवृत्ति देखाएर रातारात विपक्षी दलहरूको बहिष्कारका बीच बजेट पास गर्न खोजेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप