बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दुई कीर्तिमानी गोलकिपरमध्ये को चम्केला ?

आइतबार, २७ असार २०७८, २२ : ५१
आइतबार, २७ असार २०७८

बिम्बलीमा केही बेरमै सुरु हुने फाइनल खेलमा कुन टोलीका गोलकिपरको प्रदर्शन कस्तो रहला ? यसबारे धेरैलाई जिज्ञासा छ, किनकि प्रतियोगिताका दुई उत्कृष्ट गोलकिपर यी दुई टोलीमा छन् ।  इटलीका गियानलुईगी डोनारुम्माले जारी प्रतियोगितामा केवल तीन गोल खाएका छन् । अन्तिम १६ को खेलमा अतिरिक्त समयमा २–० ले अघि रहेको इटलीविरुद्ध अस्ट्रियाका सासा कालाज्किले १ सय १४ मिनेटमा गोल फर्काएका थिए । उक्त गोल लगातार ११ खेलपछि उनले खाएको पहिलो गोल थियो । यस अवधिमा ११ सय ६८ मिनेटसम्म अन्तर्राष्ट्रिय फुटबलमा गोल नखाने कीर्तिमान डोनारुम्माले आफ्नो नाममा लेखाए । त्यसपछि भने उनले निरन्तर गोल खाइरहेका छन् । क्वाटरफाइनलमा बेल्जियमका रोमेलु लुकाकु र सेमिफाइनलमा स्पेनका अल्भारो मोराटाले पनि यी कीर्तिमानी गोल किपरविरुद्ध गोल गरे । 

तर, यसका बाबजुद इटलीले खेल जित्यो । फाइनलमा उनको ध्याउन्न गोल नखानेमै केन्द्रीत हुनेछ ।  इङल्यान्डका जोर्डन पिकफोर्डले यस प्रतियोगितामा एक गोलमात्रै व्यहोरे, सेमिफाइनलमा डेनमार्कका मिक्केल ड्याम्सगार्डले उनीविरुद्ध फ्रिकिकमा गोल गरेका थिए । उक्त गोल खानुअघि उनले लगातार ७ सय २० मिनेटसम्म गोल खाएका थिएनन्, यति लामो अवधि गोल नखाने उनी पहिलो इंलिस गोलकिपर हुन् ।

२७ वर्षका पिकफोर्ड एर्भटनबाट खेल्छन् । कुनै समय उनी डार्लिङटन फुटबल क्लबबाट खेल्थे, उक्त क्लबका तत्कालीन प्रशिक्षक क्रेग लिडल पिकफोर्डमा विश्वकै उत्कृष्ट गोलकिपर बन्ने संभावना रहेको दाबी गर्छन् ।  पिकफोर्डको दाँजोमा २२ वर्षीया डोनारुम्माको उचाई केही बढी छ । पिकफोर्ड १.८६ मिटर र डोनारुम्मा १.९६ मिटर अग्ला छन् । तर बल नियन्त्रण र साथीलाई पास मिलाउने कला पिकफोर्डसँग राम्रो छ । डोनारुम्माको टोलीमा विश्वकै दुई उत्कृष्ट रक्षक जर्जियो चिल्लिनी र लियोनार्दो बुनुची छन्, यसको फाइदा पनि उनलाई छ । 
फाइनलमा दुईमध्ये कसको प्रदर्शन उत्कृष्ट रहला ? प्रतिक्षा त्यसैको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप