बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका पुरुष ६ वर्षपछि पक्राउ

आइतबार, २७ असार २०७८, २२ : १४
आइतबार, २७ असार २०७८

अर्घाखाँचीमा ६ वर्ष अघि आफ्नै घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका एक पुरुषलाई प्रहरीले हालै पक्राउ गरेको छ । साबिक धरमपानी गाविस–९ घर भई हाल भूमिकास्थान नगरपालिका–३ बस्ने वीरबहादुर बञ्जाडेलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनले आफ्नै घरमा आगो लगाई श्रीमती र ३ छोरीको हत्या प्रयास गरेका थिए ।

उनले घर र गोठमा आगो लगाउँदा पशु चौपाया, लत्ताकपडा, अन्न जलेर नष्ट भए पनि श्रीमती र ३ छोरीलाई छिमेकीले उद्धार गरेर बचाएका थिए । सो घटनालगत्तै फरार उनलाई २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले आगलागी तथा ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालका अनुसार प्रहरीले फरार अभियुक्तहरूको खोजतलास गर्दै जाँदा असार २५ गते चितवनको भरतपुर महानगरपालिका–११ अमनचोकस्थित डेराबाट उनलाई पक्राउ गरेको हो ।

निजलाई अदालतको फैसला अनुसारको कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ । बञ्जाडेकी श्रीमती विष्णुकुमारीका अनुसार लगातार तीनवटी छोरी जन्मिएका कारण वीरबहादुरले उनलाई प्रताडित गर्दै आएका थिए । वीरबहादुरले लुकिछिपी दोस्रो विवाह गरेको र कान्छी श्रीमतीतर्फ पनि छोरी नै जन्मिएको कुरा आफूहरुले पछिमात्र थाहा पाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप