शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्काउटको प्रमुख संरक्षक राष्ट्रपति बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

आइतबार, २७ असार २०७८, २० : ०४
आइतबार, २७ असार २०७८

युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख  गरे ।

उनले भने– ‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ । आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजी मार्फत् यहाँहरु समक्ष प्रस्ताव राख्न चाहान्छु, हाम्रो यो मुलुकको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामीले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षामन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक । यो ढंगले अगाडि बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ ।’

मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशनअनुरुप आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए । मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । स्काउटलाई अझै नयाँ र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप