सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीले बिर्सिए धनकुटाको सम्पर्क कार्यालय

तीन महिनादेखि प्रमुखविहीन बन्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय
आइतबार, २७ असार २०७८, १८ : ३२
आइतबार, २७ असार २०७८

विराटनगर । प्रदेश १ सरकारले दुई वर्षअघि पहाडी जिल्ला धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोले पनि उक्त कार्यालयको उपयोगिता अहिलेसम्म देखिएको छैन ।

मुख्यमन्त्री शेरधन राई दुई वर्षयता दुई पटकमात्र सम्पर्क कार्यालयमा पुगेका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सचिवहरु पनि पातलो रुपमा सम्पर्क कार्यालयमा पुग्ने गरेका छन् ।

तत्कालीन समयमा सम्पर्क कार्यालय उद्घाटन गदै मुख्यमन्त्री राईले धनकुटालाई सहायक राजधानीको रुपमा विकास गर्ने बताएका थिए । उनले सम्पर्क कार्यालयलाई स्रोत सम्पन्न बनाएर पहाडी जिल्लाका विकास आयोजना र प्रशासनिक कामलाई गतिशील बनाउने उद्घोष समेत गरेका थिए ।

तर, प्रदेशको राजधानी विराटनगरबाट करिब ९० किलोमिटर दूरीमा रहेको धनकुटास्थित सम्पर्क कार्यालयमा हाल कार्यालय प्रमुखसमेत छैनन् भने जम्मा दुई कर्मचारीमात्र छन् । उक्त कार्यालयमा मुख्यमन्त्री राईसमेत पुग्न सकेका छैनन् ।

मुख्यमन्त्रीको सम्पर्क कार्यालयका कर्मचारी केशव कोइरालाले धनकुटामा सम्पर्क कार्यालय खोलेपछि मुख्यमन्त्री राई दुईपटक कार्यालय आएको आफूलाई जानकारी रहेको बताए । प्रदेश सरकारका प्रमुख सचिव, सचिव पनि निकै पातलो रुपमा कार्यालयमा आउने गरेको उनले बताए ।

‘मुख्यमन्त्रीको सम्पर्क कार्यालय भएकै कारणले होला, प्रदेश सरकारका मन्त्रीहरूको आवागमनसमेत हुने गरेको छैन,’ कोइरालाले भने । मुख्यमन्त्री कार्यालयसँग सरोकार राख्ने पत्रहरू कार्यालयमा आउने गरेको र आफूले ती पत्र फरवार्ड गरिदिने गरेको कोइरालाको भनाइ छ ।

उनका अनुसार विगत तीन महिनादेखि कार्यालय नै प्रमुखविहीन अवस्थामा छ । मुख्यमन्त्री सम्पर्क कार्यालयका कार्यालय प्रमुख शाखा अधिकृत लोकेन्द्र फागोको गत वैशाखमा सरुवा भएपछि सो कार्यालय प्रमुखविहीन बनेको उनले बताए ।

फागोलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय र स्वास्थ्य निर्देशनालयको दोहोरो जिम्मेवारी दिइएको थियो । सोहीअनुसार उनले मुख्यमन्त्रीको सम्पर्क कार्यालय र स्वास्थ्य निर्देशनालयमा समय दिँदै आएका थिए ।

कुल पाँच जनाको अस्थायी दरबन्दी रहेको सम्पर्क कार्यालयमा हाल नासु कोइराला र एक कार्यालय सहयोगी गरी दुईजना कर्मचारीमात्र कार्यरत छन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालयको सुरक्षार्थ नेपाल प्रहरीका पाँचजना प्रहरीले पहरा दिँदै आएका छन् ।

धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्ने मागसहित चर्किएको आन्दोलनलाई मत्थर पार्ने योजनासहित मुख्यमन्त्री राईले त्यहाँ प्रदेशको सम्पर्क राजधानी बनाउने निर्णय गरेका थिए । मुख्यमन्त्रीको सम्पर्क कार्यालय बनाए पनि त्यसबाट धनकुटावासीले कुनै उपलब्धी पाउन नसकेको धनकुटाकै सत्तापक्षका प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले बताए । 

‘धनकुटालाई सम्पर्क राजधानी भनेर मुख्यमन्त्रीको कार्यालय खोलियो,’ उनले भने, ‘हामी धनकुटेली जनता त्यो बेला उत्साहित भएका थियौं तर बिडम्बना, मुख्यमन्त्रीले त्यो बेला भनेका कुरा र अहिले देखाएको व्यवहार निकै फरक छ ।’

मुख्यमन्त्री नै सम्पर्क कार्यालय जान समय निकाल्न नसक्ने हो भने सो कार्यालयको के औचित्य रह्यो भन्ने उनको प्रश्न छ ।

नेकपा माओवादी केन्द्रकी धनकुटाकी प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले पनि मुख्यमन्त्रीको बोली र व्यवहारमा फरक देखिएको बताइन् । उनले धनकुटालाई राजधानी बनाउनुपर्ने माग उठेपछि धनकुटामा ५ सय शय्याको शिक्षण अस्पताल र सम्पर्क राजधानी बनाउने निर्णय प्रदेश सरकारले गरेको स्मरण गराइन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोलिए पनि शिक्षण अस्पताल निर्माणको योजना तुहाउने काम सरकारबाटै भएको उनको भनाइ छ ।

‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने काममात्र भएको छ,’ प्रदेशसभा सदस्य श्रेष्ठ भन्छिन्, ‘मुख्यमन्त्रीले समय दिनै नभ्याउने कार्यालयको औचित्य छैन ।’ सुविधा सम्पन्न सरकारी भवनलाई बेवारिसे बनाउने काम मुख्यमन्त्रीबाट हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ ।

धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरे राजनीति र प्रशासनिक नेतृत्वले विकेन्द्रीकरणको मर्मलाई आत्मसात् गर्न तयार नहुँदा यस्ता समस्या देखिने गरेको बताउँछन् ।

मुख्यमन्त्री राईले भने सम्पर्क कार्यालय खोलिएपछिका दिनमा कोरोना कहर बढेकाले धनकुटा जान नपाएको जिकिर गरे । जुन उद्देश्यका लागि कार्यालय खोलेको हो, त्यो उद्देश्य पूरा पर्न सरकार प्रतिबद्ध रहने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप