शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भेरोसेल र जोनसोन एन्ड जोनसोन खोप क–कसले पाउँछन् ?

आइतबार, २७ असार २०७८, १८ : १५
आइतबार, २७ असार २०७८

अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनको कोरोनाभाइरस (कोभिड–१९) खोप सोमबार अर्थात् भोलि आउने भएको छ । यद्यपि एक जोड मात्र लगाइने जोनसन एन्ड जोनसन खोप कुन उमेर समूहका नागरिक दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्क्योल गरिनसकेको प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘गत शुक्रबार चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप, भोलि आउने भनिएको जोनसोन एन्ड जोनसोन खोप कुन उमेर समुहकालाई दिने भनेर छलफलमै छौँ,’ उनले भने, ‘स्थानीय तहले भेरोसेल खोप आफ्नो तयारी अनुसार अबको दुई तीनपछि दिन सक्छन् ।’

सरकारले भेरोसेल खोप र जोनसन एन्ड जोनसन खोप तालिका सार्वजनिक गरिसकेको छैन । चीनको राजधानी बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोपको नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको हो ।  सम्झौताअनुसार चरणबद्धरुपमा भेरोसेल खोप ४० लाख मात्रा आउने उनले बताए ।

गत शुक्रबार चीनबाट खरिद गरिएको ८ लाख मात्रा खोप बाग्मती र गण्डकी प्रदेशको भण्डारण केन्द्रमा पठाइएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले बताएको छ । खरिद तथा सुविधामार्फत नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको खोप सबै सिधै केन्द्रीय भण्डारण केन्द्र मात्रै भण्डारण गर्न समस्या हुने भएकाले प्रदेशका भण्डारणका लागि पठाएको शाखाले जनाएको छ ।

‘सम्झौताअनुसार खोप क्रमशः आउँदै गर्छ, विमान स्थलको भण्डारणमा राखेर केन्द्र, प्रदेशका भण्डारण स्थलमा पठाइन्छ,’ मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘खोप प्राप्तिसँगै अब क्रमशः अभियान पनि सञ्चालन गर्दै जान्छौं ।’

प्रदेश र केन्द्र खोप भण्डारण केन्द्रमा ४० मात्रा खोप राख्न सक्ने क्षमता रहेको उनले सुनाए । पाँचै प्रदेशमा खोप भण्डारण गर्न सकिन्छ । हाल कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर दुईको जनकपुरमा खोप भण्डारण केन्द्र निर्माणको चरण रहेको छ । खोप टेकुस्थित खोप भण्डारण केन्द्र, पथलैया भण्डारण केन्द्रहरू केन्द्रीय स्तरका भण्डारण केन्द्र हुन् । यससँगै हेटौँडा, पोखरा, बुटवल, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीमा पनि क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । यस्तै जोनसोन एन्ड जोनसोनको खोप पनि २ देखि ८ डिग्री तापक्रममा राख्न सकिने हुँदा भण्डारणका लागि पनि सहज भएको सह प्रवक्ता पौडेलले बताए । 

नेपालमा हालसम्म चीन सरकारले अनुदान सहयोगमा सिनोफार्म कम्पनीद्वारा उत्पादन गरिएको भेरोसेल खोप १८ लाख मात्रा उपलब्ध गराएको छ । यस्तै भारत सरकारको अनुदान सहयोगमा १० लाख मात्रा कोभिशिल्ड खोप सरकारले प्राप्त गरेको छ । नेपाल सरकारले भरतसँग खरिद गरेको २० लाख कोभिशिल्ड खोपमध्ये १० लाख मात्रा मात्रै नेपालले प्राप्त गरेको छ ।

कोभ्याक्स सुविधाअन्तरगत तीन लाख ४८ हजार कोभिशिल्ड खोप, एक लाख खोप भारतीय सेनाले नेपालीलाई सेनालाई उपलब्ध गराएको थियो । शुक्रबार मात्रै चाइनाबाट भेरोसेल ८ लाख मात्रा खोप प्राप्त गरेको छ । हालसम्म नेपालले ५० लाख ४८ हजार मात्रा कोभिशिल्ड र भेरोसेल खोप नेपालले प्राप्त गरिसकेको छ । यस्तै नेपाललाई अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

खोपको लागि तड्पिनुपर्दैन :  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभाव नहुने बताएका छन् । कोरोनाविरुद्धको खोप सरकारले निरन्तर ल्याउने र दिने काम गरिरहेको कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए ।

ठूलो समूहलाई खोप दिने उदेश्यले सरकारले निरन्तर प्रयास गरिरहेको सुनाए । २०२१ को अन्त्यसम्ममा सरकारको लक्षणअनुसार सबैलाई खोप दिने प्रधानमन्त्री ओलीले दाबी समेत गरे  । ‘२०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौं, हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘अब हामी खोपको अभावले तड्पिनुपर्दैन ।’

केही समय खोपको अभाव देखिएपनि अब त्यो अवस्था दोहोरिन नदिने गरि काम भइरहेको उनका भनाइ छ । यद्यपि कोभिड–१९ समाप्त हुँदैन तव सम्म सबैले सजकता अपनाउनुको विकल्प नभएको ओलीले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप