शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्न वामदेवको माग

‘ओलीतिर होइन, म एमालेतिर गएको हुँ’
आइतबार, २७ असार २०७८, १४ : ५४
आइतबार, २७ असार २०७८


नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने । तपाई किन उठ्नुहुन्न भन्नभयो ?, मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा विभेद अन्त्य गर्दिनुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नुपर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरी पनि उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौँ ।’

उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भए पनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनको भनाइ छ । 

‘त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको ७८÷७९ को बजेट वक्तव्य फेरी आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऊँ । र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावलीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदि त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहिँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा सङ्घीय संसद्को एउटा अभिन्न अङ्ग हो यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार विमर्श गर्न सकिन्छ । त्यस कारण त्यो आउनुपर्दछ । यो मेरो माग हो,’  उनले भने ।

राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विभाजन गराएर नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) व्युतिएको अवस्थामा आफूले नेकपा(एमाले) रोजेर बैठकमा समेत उपस्थिति भएको पनि बताए । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको स्पष्ट पारे । वामदेव केपी ओलीतर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई आफू एमाले भएको प्रमाण पेस गर्न बैठकमा गएको बताए । उनले भने, ‘मैले केही समय पहिले नेकपा हुँदा खेरी भएको पार्टी विभाजनमा म कतै पनि सामेल हुन पाइनँ । सकिनँ । र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुनर्स्थापित भएपछि मैले एमाले रोज्नैप¥यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्ति पनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो । र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसहरूले  के भने भने वामदेव केपी तिर गयो भनेर भने । मैले यो सभा मार्फत हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरूलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहन्छु, म कुनै तर्फ गएको होइन । म नेकपा(एमाले) भएको हुनाले एमाले भएको प्रमाण पेस गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका यद्यपि मैले प्राप्त गर्न सकिनँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा(एमाले)ले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरू कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप