शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल कलेज निर्माण योजना अलपत्र

आइतबार, २७ असार २०७८, १४ : ३०
आइतबार, २७ असार २०७८

महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य प्रभावित भएको छ । जग्गा प्राप्ति सम्बन्धमा अन्योल भएसँगै मेडिकल कलेज निर्माण योजना अलपत्र बनेको हो ।

नेपाल सरकारले बर्दिवासमा मेडिकल कलेज निर्माण गर्ने निर्णय गरेको ४ वर्षपछि पनि जग्गा प्राप्तिसम्बन्धी अन्योल अन्त्य भएको छैन ।

०७५ साल मंसिर २० मा मेडिकल कलेज निर्माण प्रक्रिया अगाडि बढाउन बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना स्थापना गरे पनि खासै प्रगति हासिल नभएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले जानकारी दिए ।

महोत्तरीले भप्सी खोला छेउमा अवस्थित वनको जग्गामा मेडिकल कलेज बनाउने योजना छ । वन विनाश गरेर मेडिकल कलेज बनाउन नपाइने भन्दै जनकपुरधाम वन प्राविधिक समिति लगायतले विरोध गर्दै आएका छन् ।

यस मेडिकल कलेज निर्माणपूर्व जग्गाको अनुगमनदेखि विभिन्न पत्र पत्रिकामा सूचना निकालिसकेको र बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माणको प्रारम्भिक कार्य नै अड्किएको आयोजनाका निर्देशक सुवेदीको भनाइ छ ।

सुरुमा १०१.४९ हेक्टरमा मेडिकल कलेज बनाउने योजना रहे पनि धेरै रुख मासिने भन्दै त्यसलाई घटाएर ५४.५८४ हेक्टर जग्गामा सीमित गरिएको उनले बताए । प्रस्तावित जग्गामा रहेका १ हजार ९३७ रुखमध्ये बचाउन सकिने रुखलाई मेडिकल कलेज परिसरमै समेटेर सुरक्षित राख्ने योजनासमेत बनाइएको उनको भनाइ छ ।

‘कलेज निर्माणका क्रममा ३ सय रुखमात्रै विनाश हुनेछ,’ उनले भने, ‘कम से कम रुखमा क्षति पुगोस् भन्ने मनसाय राखेर नै हामी काम अगाडि बढाउने योजनामा छौं ।’

बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीले कलेज निर्माणका लागि अधिग्रहण हुने जग्गामा रहेको रुखको साटो आफूहरु त्यसको १० गुणा रुख रोप्ने अभियानमा लागेको जनाए । मेडिकल कलेज स्थापनाले यसै क्षेत्रका सर्वसाधारण जनताले लाभ उठाउने भन्दै उनले जसरी पनि यो योजनालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए ।

३५ अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण हुन लागेको १ हजार शय्याको बर्दिवास मेडिकल कलेजको डिपिआर निर्माण भइसकेको छ भने इआइए रिपोर्टसमेत तयार भइसकेको छ ।

तर वन कार्यालयकै कर्मचारी सुजितकुमार झाले वन विनाश हुने भन्दै उक्त आयोजनाको विरोध गरेका छन् ।

मिथिला वाईल्डलाईफ ट्रष्टका देवनारायण मण्डलले पनि वन क्षेत्र विनाश गरी मेडिकल कलेज निर्माण गर्न नहुने बताए । बर्दिवास नगरपालिकाभित्रै वनक्षेत्र बाहिर उपलब्ध अन्य क्षेत्रमा मेडिकल कलेज निर्माण गर्न सकिने उनको भनाइ छ । वन अतिक्रमण गरी कलेज निर्माण भएमा सोको कडा विरोध गर्ने उनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप