सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भारतमा जिका भाइरस देखियो, जोखिममा नेपाल ?

आइतबार, २७ असार २०७८, १३ : ५०
आइतबार, २७ असार २०७८

हालै भारतको दक्षिणी राज्य केरेलामा जिका भाइरसका सङ्क्रमितहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाइरहेका छन  ।  हुन त भारतमा योभन्दा अगाडि सन् २०१६/२०१७ तथा सन् २०१८ मा पनि देखिएको थियो । नेपाल–भारतबीच खुला लामो सीमा र हेल्थ डेस्कहरू पर्याप्त नहुँदा सङ्क्रामक रोगहरू एकअर्काको देशमा सहजै भित्रने गर्छन् । हाल नेपालमा देखिरहेको कोरोनाको डेल्टा भेरियन्ट पनि भारतमा विकास भई नेपाल भित्रिएको थियो । जिका सङ्क्रमितलाई लामखुट्टेले टोके लामखुट्टे सङ्क्रमित भई सो ठाउँमा भाइरस फैलाउने गर्छ । रगत, वीर्य, गर्भावस्थामा आमाबाट बच्चामा, शारीरिक सम्पर्क तथा बादरको टोकाइबाट पनि जिका भाइरस सर्न सक्छ ।

ब्राजिलमा सन् २०१५ मा जिकाको महामारी देखिँदै गर्दा सङ्क्रमित गर्भवती महिलाबाट जन्मने धेरै बच्चाहरूमा टाउकोको आकार सानो हुने समस्या देखिएका थिए । यसलाई ‘माइक्रोकेफाली’ पनि भनिन्छ ।  यो घटनाले गर्दा विश्वको ध्यान जिका भाइरसप्रति आकृष्ट भएको थियो । अर्काे वर्ष सन् २०१६ मा भारतमा पनि यो भाइरस देखिँदा त्यसको तरङ्ग नेपालसम्म आइपुगेको थियो । यो पङ्क्तिकारले पनि सो समयमा जिकासँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई प्रयोगशाला परीक्षण गर्न पठाउने गरेको थियो । हाल यस्तो परीक्षण स्थगित गरिएको छ ।  

जिका भाइरस सङ्क्रमितहरू अधिकांशमा लक्षणहरू सामान्य वा लक्षणविहीन हुनेगर्छ । शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको तथा मांसपेशीका दुख्ने आदि जिका भाइरसका लक्षण हुन् । कतिपय यी लक्षण डेङ्गु तथा चिकुनगुनिया भाइरसहरूसँग पनि मिल्ने गर्छन् । यी तिनै भाइरसहरू एडिस जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टे काठमाडौँ लगायत नेपालका विभिन्न भागमा विगतदेखि नै विशेषतः मनसुन सिजनमा देखिँदै र सक्रिय हँुदै आइरहेको छ ।  बिहान र बेलुकी यो लामखुट्टे बढी सक्रिय हुने र टोक्ने गर्छ । हाल नेपालमा मनसुन भित्रिएसँगै यो लामखुट्टे पनि सक्रिय भइसकेको छ । लक्षणहरूको आधारमा मात्र जिका निदान गर्न नसकिने हुँदा प्रयोगशाला परीक्षण आवश्यक पर्छ । हाल कोरोना भाइरस परीक्षणमा प्रयोग हँुदै आइरहेको पीसीआर प्रविधि जिका पहिचानको लागि पनि प्रयोग गर्न सकिन्छ । लक्षण देखिएको एक हप्ताभित्र रगतको जाँच गरे जिका पत्ता लाग्न सक्छ । सङ्क्रमितको पिसाबबाट पनि जिका पत्ता लगाउन सकिन्छ । सङ्क्रमण भएको ३ देखि १४ दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ ।   

जिका सङ्क्रमण भएर मृत्यु हुनु दुर्लभ मानिन्छ । तर गर्भवती महिलामा जिका सङ्क्रमण भए जन्मने बच्चामा विशेष गरी स्नायु र मस्तिष्कसँग सम्बन्धित समस्याहरू देखिने गर्छन् । मस्तिष्कको पूर्ण विकास नहुँदा टाउकोको आकार सानो हुने (माइक्रोकेफाली) र गुलेन सिन्ड्रोम देखिन सक्छन् । आँखामा समस्या, सुन्ने शक्तिमा कमी, शारीरिक वृद्धि विकासमा अवरोध जस्ता अरू समस्या पनि देखिन सक्छ ।  तर भारतीय स्वस्थ मन्त्रालयले जनाएअनुसार भारतमा सङ्क्रमित आमाहरूबाट जन्मिएका बच्चाहरूमा मष्तिस्कसम्बन्धी समस्या देखिएको थिएन  । ब्राजिलमा देखिएको मस्तिष्कमा प्रभाव पार्ने जिन (अनुवंश) भएका जिका भाइरस भारतमा नदेखिएकाले (स्थानीय भाइरस) बच्चाहरू स्वस्थ भएका उनीहरूको तर्क थियो । वास्तमा जिका सङ्क्रमितहरू आफ्ना गाउँठाउँभन्दा बाहिर गएका भ्रमण इतिहास भएकाहरू थिएन । तर भारतीयहरू ठूलो सङ्ख्यामा विश्वका विभिन्न देशमा आवतजावत गर्ने हुँदा ब्राजिलियन जिका भाइरस भारतसम्म नआउला भन्न भने सकिने अवस्था छैन ।

नेपालमा आजका मितिसम्म जिका पुष्टि भइसकेको छैन । तर जिका भाइरस डेङ्गु जस्तो नियमित जाँच (सिजनमा) अन्तर्गत नपर्दा छैन भन्ने अवस्था पनि छैन । यसका लक्षणहरू डेङ्गुसँग मिल्दो जुल्दो भए पनि डेङ्गु नेगेटिभ भएका बिरामीमा जिका जाँच गर्ने गरिँदैन ।  सन् २०१७ मा लालबन्दी, सर्लाहीमा डेङ्गु नेगेटिभ भएका तर डेङ्गुसँग मिल्दाजुल्दा सङ्क्रमित अत्यधिक मात्र देखिएका थिए । तर त्यो बेलामा जिका परीक्षण भने गरिएन । भारतमा डेङ्गुसँग मिल्दोजुल्दो सङ्क्रमितमा परीक्षण गर्दा जिका भाइरस पत्ता लागेको थियो ।

अन्त्यमा अधिकांश जिका सङ्क्रमितहरूमा लक्षण कडा नहुने र मृत्यु पनि दुर्लभ मानिन्छ तर गर्भवती महिला सङ्क्रमित भए जन्मिने बच्चामा मस्तिष्क र स्नायुसम्बन्धी विभिन्न समस्या देखा पर्न सक्छ । जिका भाइरस विरुद्ध भ्याक्सिन बनिसकेको छैन । तसर्थ गर्भवतीको योजना बनाएकाहरूले जिका भाइरसबाट सङ्क्रमित नहुन् थप सतर्कता अपनाउनुपर्ने हुन्छ । नेपालमा जिका पुष्टि भएको त छैन तर परीक्षण नियमित नहुनाले छैन भनेर ढुक्क हुने अवस्था पनि छैन । किनभने छिमेकी देश भारतमा बर्सेनि जिका भाइरस देखिँदै गर्दा ढिलो चाँडो नेपालसम्म भाइरस नआउला भन्न सकिँदैन ।                             

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप