प्रदेश १ मा उकालो लाग्दै संक्रमण दर, अस्पतालहरुमा संक्रमितको संख्या बढ्दै
विराटनगर । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमण दर बिस्तारै बढ्न थालेको छ । पछिल्लो १० दिन यता संक्रमणको दर फेरि बढ्न थालेको हो ।
संक्रमण दर बढेसँगै फेरि कोभिड अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । पहिला शहरी सघन बस्ती भएका मोरङ, सुनसरी र झापा जिल्लामा संक्रमणको दर उच्च रहँदै आएकोमा पछिल्ला दिनमा तराईसँगै पूर्वी पहाडी जिल्लाहरूबाट उपचारका लागि बिरामीहरु अस्पताल आउने क्रम बढेको अस्पतालहरुले जनाएका छन् ।
सरकारले कोरोना संक्रमणको दर घटेको भन्दै निजी अस्पतालले चलाएका कोभिड अस्पतालसँगको सम्झौतासमेत खारेज गरेको छ ।
प्रदेश १ मा १० दिन अघि दैनिक संक्रमितको संख्या ३ सय भन्दा कम थियो । शनिबारमात्र कुल ८६५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३०५ जना संक्रमित थपिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणको दर घटे पनि संक्रमणको दर भने बिस्तारै उक्लिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
वैशाख अन्तिमदेखि जेठको दोश्रो सातासम्म संक्रमणको दर उच्च भई दैनिक १२ सय बढी पुगेकोमा असारको दोश्रो सातासम्म आउँदा त्यो संख्या घटेर झरेर २ सय ५० को हाराहारी नजिक आइपुगेको थियो ।
मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रविन्द्र निरौलाले गएको १० दिन यता क्रमिक रुपमा संक्रमण दर बढ्दै गएको बताए ।
निरौला भन्छन्, ‘पछिल्लो अवस्था हेर्दा संक्रमणको दर घट्यो भनेर ढुक्क हुने अवस्था रहेन ।’ अस्पतालमा फेरि संक्रमितको संख्या बढ्न थालेको उनले बताए ।
डा. निरौलाले संक्रमण दर फेरि बढेर ४२ प्रतिशतमा पुगेको बताए । मन्त्रालयको तथ्याङ्क अनुसार असारको दोश्रो सातामा प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको थियो । तर यो अवधिमा पहाडी तथा हिमाली जिल्लामा पनि संक्रमणको दर बिस्तारै उकालो लाग्ने क्रममा रहेको उनको भनाइ छ ।
शनिबारको तथ्याङ्क अनुसार पाँचथर जिल्लामा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा ७, खोटाङमा ९, ताप्लेजुङमा ७ जना संक्रमित थपिएका छन् । यसअघि संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यमा झरेको थियो ।
बिरामीको चाप घटेर खाली भएका अस्पतालको सघन उपचार कक्ष पनि फेरि बिरामीले भरिन थालेका छन् । धेरै जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल भर्ना हुन आउने भएकाले उनीहरुलाई अक्सिजनको सहायतमा राखेर उपचार गर्नुपर्ने अवस्था रहने गरेको अस्पतालहरुले जनाएका छन् ।
अहिले प्रदेशका चारवटा सरकारी अस्पतालले कोरोना संक्रमितको उपचार गर्दै आएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड युनिट, कोशी कोभिड–१९ उपचार केन्द्र, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा पछिल्ला दिन बिस्तारै बिरामीको चाप बढ्न थालेको छ ।
कोशी अस्पतालको कोभिड युनिटमा १० दिनअघि जम्मा ९ जना संक्रमित उपचाररत रहेकामा यो बीचमा ६२ जना संक्रमित थपिएका छन् । त्यसमध्ये पाँचजना भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।
‘अस्पतालको कोभिड युनिटमा जम्मा ९ जनामात्र बिरामी रहँदा अब संक्रमणको दर घटेको भत्रे हाम्रो निष्कर्ष थियो,’ डा दासले भने, ‘तर संक्रमणको दर एक तहमा आएर स्थिरमात्र भएको रहेछ । अब फेरि संक्रमणको दर ग्रोथ हुने क्रममा देखिन्छ ।’
मेसु दासका अनुसार अस्पतालको ल्यावमा दैनिक एकसय जनाको पीसीआर परीक्षण गर्दा २५ जनाभन्दा बढीको रिपोर्ट पोजेटिभ आउने गरेको छ ।
संक्रमणको दर बढेसँगै अब अस्पतालले पनि पूर्व तयारी थाल्नुपर्ने उनको सुझाव छ । डा दासका अनुसार कोशी कोभिड युनिटमा पछिल्ला दिन दैनिक पाँच जनासम्म नयाँ संक्रमित भर्नाका लागि आउने गरेका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै जताततै मानिसको भीडभाड बढेकाले संक्रमणको दर उकालो लागेको मेसु दासले बताए ।
झापाको मेची अस्पतालमा पनि बिरामीको चाप बिस्तारै बढ्न थालेको छ । अस्पतालका अनुसार अहिले ३३ जना बिरामी उपचाररत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले करिब १० जनाको संख्यामात्र बिरामी रहेको अस्पतालमा अहिले १३ जना एचडियु, १७ जना जनरल वार्डमा र ३ जना मेडिकल वार्डमा गरी कुल ३३ जना बिरामी उपचाररत रहेको बताए ।
मेसु बाह्रकोटीका अनुसार बिस्तारै फेरि अस्पतालका बेड संक्रमितले भरिन थालेको छ ।
विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा पनि बिरामीको संख्यामा वृद्धि हुन थालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शनिबारसम्म ४१ जना उपचाररत छन् । अस्पतालका संयोजक वैजनाथ साहले जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत रहेको बताए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड युनिटमा पनि बिरामीको चाप बिस्तारै बढेको छ । प्रतिष्ठानमा ६१ जना संक्रमित उपचाररत छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले केहीदिन यता फेरि संक्रमितहरु अस्पताल आउने क्रम बढेको बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६७ छ ।