यूरोमा वियोगको कथा : छोरो च्याम्पियन, हत्या आरोपमा बाबु जेलमा
जसले अनाथालयमा बाल्यकाल बिताए । समर्थकहरूको चर्को दबाब खेप्नुपर्दा आत्महत्याको सोचसम्म पुगेका थिए । ती खेलाडीले पाँच वर्षअघि आजकै दिन पोर्चुगललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउन ठुलो योगदान गरे ।
युरो २०२० को फाइनलमा आज जोसुकैले निर्णायक गोल वा महत्त्वपूर्ण बचाऊ गरोस्, उसको प्रोफाइल २०१६ का निर्णायक गोलकर्ताको दाँजोमा धेरै माथि पुग्ने मौका छ । एडर भने सधैँ युरोपेली च्याम्पियनसिपकै कारण मात्र चर्चामा आउनेछन् । उनको करियर फ्रान्स र पोर्चुगलबीचको भिडन्तको १ सय ९ मिनेट अर्थात् अतिरिक्त समयमा आकासिएको थियो ।
त्यो बिन्दुभन्दा पहिले त २०१६ को फाइनल खेलमा रोनाल्डोको चोट नै चर्चामा थियो । पेरिसमा त्यस साँझ रोनाल्डोले आँसु झार्दै मैदान छाडे । र, साइडनलाईनबाटै खेलाडीहरूलाई निर्देशन दिन तल्लीन थिए ।
अनि, एडरले २५ यार्ड परबाट गरेको प्रहारले फ्रान्सका गोलकिपर ह्युगो लोरिसलाई पार गर्दै जाली चुम्यो । चोटका कारण पर्याप्त खेल खेल्न नसक्दा यी खेलाडीलाई ६ महिनाअघि मात्रै स्वान्सी सिटीले ऋणमा लिल पठाएको थियो । अर्थात्, युरोपेली फुटबल इतिहासको आइकोनिक गोल त्यस्ता खेलाडीले गरे, जो क्लब करियरको खराब समयमा थिए । यी खेलाडी अहिले क्लबविहीन छन्, फुटबलमा उनको भविष्य दुविधाग्रस्त छ ।
३३ वर्षका एडरले पाँच वर्षअघिको त्यो रातपछि लोकोमोटिभ मस्कोमा केही उत्कृष्ट खेले । २०१७–१८ को सिजन उनी लोनमा त्यस क्लबमा थिए । उनले यस क्लबलाई १४ वर्षपछि पहिलो रसियन प्रिमियर लिग जिताउन महत्त्वपूर्ण योगदान गरे । अर्को सिजन उनलाई क्लबले स्थायी रूपमै अनुबन्धन ग¥यो । २०१९ र २०२१ मा क्लबलाई रसियन कप जिताउन उनले योगदान गरे । उनले च्याम्पियन्स लिगमा पनि खेले ।
यद्यपि, गत सिजन उनले सबै खाले प्रतियोगितामा केवल १० खेलमात्र खेल्ने मौका पाए । जुनको अन्त्यमा उनीसँगको सम्झौता सकियो र क्लबले त्यसलाई नवीकरण गरेन । ६ फिट ३ इन्चका यी खेलाडी हेडिङ गर्न र बललाई नियन्त्रणमा राख्न माहिर छन् । उनी त्यस्ता फरक स्ट्राइकर रहे, जसको प्रयोग गोल गर्न नभएर अरूलाई पास मिलाइदिनका लागि हुन्छ । अर्थात्, उनले विश्वका रोनाल्डोहरूलाई सहयोग गर्छन् ।
पोर्चुगलका समर्थकहरूले २०१६ को युरोअघि उनलाई धेरै मन नपराउनुको एउटा प्रमुख कारण यो पनि हो । किनभने उनले ३५ अन्तर्राष्ट्रिय खेल खेलेर ५ गोलमात्र गरेका थिए । २०१४ को विश्वकपमा जर्मनीसँग ४–० ले पराजित भएको पोर्चुगल अमेरिकासँग बराबरी खेलेपछि समूह चरणबाटै बाहिरिएको थियो ।
हारपछि पोर्चुगलका केही खराब समर्थकहरूले एडरमाथि निशाना साँधे । उनका अनुसार दुर्व्यवहारले आजित भएर उनी आत्महत्या गर्ने सोचमा समेत पुगिसकेका थिए ।
‘मेरो दिमाग यतिबेला धेरै खराब ठाउँमा पुगिसकेको थियो,’ उनले सेप्टेम्बर २०१६ मा भनेका थिए,‘ म निकै खराब अवस्थाबाट गुज्रिएको थिएँ । केही चोटबाट पीडित भएर विश्वकप खेल्न गएको थिएँ र राम्रो गर्न सकिनँ । यो कठिन थियो । मैले फेरि सपना देख्नका लागि सङ्घर्ष गरें । यो मेरा लागि भयावह अवस्था थियो र यस्तो अवस्थाबाट कसरी उम्कन सकिन्छ भनेर आश्चर्य लाग्छ ।’
फुटबल मैदानमा देखिनेभन्दा ठुलो वियोगान्त र त्रासदी उनको विगतमा थियो । एडरको जन्म पश्चिम अफ्रिकाको जिनी बिसाउमा भएको थियो । उनी तीन वर्षको छँदा राम्रो जीवनको खोजीमा परिवार पोर्चुगल सर्यो । हेरचाह गर्न नसकेपछि आठ वर्षको उमेरमा बाबु–आमाले अनाथालयमा पठाए ।
एडर अनाथालयमै छँदा उनका बाबु फिलोमेनो एन्टोनियो लोपस सन् २००३ मा आफ्नी दोस्री श्रीमती डोमिग्यास ओलीभियासको हत्यामा जेल गए । ‘म १२ वर्षको छँदादेखि मेरा बाबु जेलमा छन् । मेरी सौतेनी आमाको हत्या भयो र बाबुमाथि हत्या आरोप लाग्यो । मेरो विचारमा उनलाई १६ वर्ष जेल सजाय मिल्यो,’ २०१६ मा युरोकप जितेपछि पोर्चुगलको एक टेलिभिजनसँग अन्तर्वार्ता दिदैं उनले यस्तो खुलासा गरेका थिए ।
यी सबै उतार–चढावका बाबजुद एडर प्रतिभावान थिए । उनले १८ वर्षको उमेरमा टोरिजेन्स क्लबमार्फत व्यवसाहिक फुटबलमा डेब्यु गरे । उनले एकेडेमिकाबाट राष्ट्रिय कप जितेपछि ब्रागामा तीन वर्ष उत्कृष्ट खेले । तर, घुँडामा गम्भीर चोट लागेपछि केही समय करियर सुस्त रह्यो ।
२०१५ मा ५० लाख पाउन्डमा उनी इङ्लिस प्रिमियर लिग क्लब स्वान्सी सिटीमा आबद्ध भए । तर वेल्सको यस क्लबबाट उनले केवल चारपटक मात्रै खेले । त्यसपछि ०१५–१६ को सिजन उनी ऋणमा फ्रान्सेली क्लब लिल गए । त्यहाँ १४ गोलमा ६ गोल गरेकाले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सन्तोषले उनलाई राष्ट्रिय टिममा बोलाए । प्रशिक्षकका लागि यो जुवा खेले सरह थियो, र एडरका लागि ज्याकपट परेजस्तो ।
युरो २०१६ मा उनले केवल ५४ मिनेट खेले । त्यसमध्ये ४१ मिनेट त फाइनल खेल नै थियो । उनी ७९ मिनेटमा रेनेटो सान्चेजको सट्टा मैदान छिरेका थिए । त्यसपछि आइसल्यान्ड र अस्ट्रियाविरुद्धको खेलमा निकै छोटो समय मैदानमा ओर्लिएका थिए । अन्य खेलहरू उनले बेन्चमै बसेर हेरे ।
जब फाइनलमा गोल गरे, त्यसपछि उनले आफ्नो जन्मभूमिको समेत सम्झना गरेका थिए । ‘म यहाँ आउन पाउँदा गर्विलो छु । मलाई जिनी बिसाउमा जन्मिएकोमा गर्व लागेको छ । म आफूलाई पोर्चुगिज पनि मान्छु, यहाँ मैले पूरा जीवन बाँचेको छु । यो मेरा लागि अद्भुत छ र मेरा देशहरूका लागि पनि,’ उनले भनेका थिए, ‘मैले जोआ मोटिन्होबाट बल पाएँ । सोचेँ, अवसरको खोजीका लागि टर्न गर्ने प्रयास गरेँ, र त्यसपछि गोलका लागि प्रहार गरेँ र मलाई थाहा भयो बल सही ठाउँमा जाँदैछ ।’
न त्यसअघि न त्यसपछि नै उनी यस्तो उचाइमा आए । २०१७ सम्म त आन्द्रे सिल्भाले टोलीमा उनको ठाउँ लिइसकेका थिए । उनी रुस विश्वकपका लागि ३५ सदस्यीय प्रारम्भिक टोलीमा परेका थिए, अन्तिममा उनको नाम कटौती भयो । युरो २०२० मा पनि उनलाई बोलाइएन । तर, यी कुराले अब खासै के अर्थ राख्छ र ।
अर्थपूर्ण, २०१६ को त्यही निर्णायक गोल थियो, जसले पोर्चुगललाई पहिलो प्रमुख उपाधि दिलायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा
-
उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप