केन्द्रीय संस्करण

कश्यपको कथा : जुवाडेको बोको

person explore access_timeअसार २७, २०७८ chat_bubble_outline0

अघि एक समयमा कुनै एक बेइमान जुवाडे थियो । जुवाडेहरू प्रायः बेइमान नै हुन्छन् । त्यस्तो नभई जुवा नै खेल्दैनन् । त्यसमा पनि ऊ धेरै नै बेइमान थियो । महाभारतका पात्र शकुनीले जस्तै पाशामा कपट गरी दुनियाँको पैसा धुत्ने गथ्र्यो । बिस्तारै मानिसले उसको कपट थाहा पाउँदै गए, पेशा सुक्दै गयो । त्यसपछि बोकाको माध्यमबाट ठगीधन्दा चलाउन थाल्यो । जसले मेरो बोकालाई अघाउन सक्छ, उसलाई एक हजार असर्फी दिनेछु । सकेन भने चाहिँ एकको दुई दिनुपर्नेछ भन्थ्यो । मानिसहरू त्यसैमा लोभिन्थे, बाजी थाप्दै बोका चराउन लान्थे तर बोका न हो कहाँ खाएर अघाउँथ्यो र ! जति नै खुवाएर ल्याए पनि हरियो घाँस देख्नेबित्तिकै मुख बाउने गथ्र्यो । त्यसपछि लौ बोका अघाएको रहेनछ, भन्दै एकको दुई असुल्ने गथ्र्यो ।

ठगिएका मानिसहरू उसले पोशामा कपट गरेको भएपनि बोकामा कपट गरेको छैन भन्नेमा विश्वस्त थिए । त्यसैले गुमेको पैसा असुल्न पटक पटक बाजी लगाउन आउँथे । प्राय ः जुवा खेल्ने मानिस यस्तै गर्छन् । जब एकपटक हार्छन् तब त्यसलाई असुल्न अर्को बाजी लगाउने गर्छन् र घरखेत गएको पत्तै पाउँदैनन् । यहाँ पनि यस्तै भइरहेको थियो । ठगिनेहरू ठगिँदै गए, ठगिइनै रहे, उसको पेशा चली नै रह्यो । 

बिस्तारै यो कुरा चतुरे (चतुर्भुज शर्मा) को कानसम्म पुग्यो । सिधासाधा जनतालाई सहयोग गर्ने र ठग धूर्तको दोहोलो काड्ने उनको विशेषता नै थियो । ठगहरू जति नै चलाख भए पनि र ठगी कलामा जति नै चतु¥याईँ देखाएको भए पनि उनी कुनैनकुनै तरिकाले कमजोरी पत्ता लगाइहाल्थे र ठगिनेहरूको उद्धार गरिदिन्थे । जुवाडेको करतुत थाहा पाउनासाथ उसलाई सबक सिकाउने विचार गरी आएर भने–

‘महाशय ! बोकाको खेल सुरू गर्नुभएको रहेछ होइन ?’

जुवाडेले झर्किँदै भन्यो–

‘जे गरे पनि तिमीलाई के चासो ? आफ्नो काम गर न ।’

‘हो कि होइन भन्नुस् न ।’

‘हो, दुनियाँलाई मनोरञ्जन दिने मेरो काम हो ।’

‘कत्तिको चलेको छ ?’

‘राम्रै चलेको छ, मानिस आउँछन्, खेल्छन्, रमाएर जान्छन् ।’

‘सबैले भाग लिन पाउँछन् ?’

‘पाउँछन् किन नपाउने, खेल्न पनि कसैले पाउने र कसैले नपाउने भन्ने हुन्छ र ।’

‘मैले पनि पाउँछु ?

‘खेलको शर्त स्वीकार्नुपर्छ पाइहालिन्छ नि ।’

‘कस्तो शर्त ?’

‘यही कि जसले बोकालाई तृप्त पार्न सक्छ उसले एक हजार असर्फी पाउँछ, सकेन भने एकको दुई तिर्नुपर्छ ।’

‘ठीकै छ तर मेरो पनि एउटा शर्त छ ।’

‘के हो नि तिम्रो शर्त ?’

‘बोकालाई तृप्त पार्न सकेँ भने तपाईँको पूरा सम्पत्ति मेरो हुनेछ  । सकिनँ भने जति बाजी लगाउनु हुन्छ त्यसको दस गुणा बढी पाउनुहुनेछ ।’

चतुरेको कुरा सुनेर जुवाडे सोच्न लाग्यो–

‘यो मानिस आफूलाई निकै चतर ठान्छ तर रहेछ मूर्खै । बोकाहरू खाएर अघाउँदैनन् भन्नेसम्म पनि थाहा रहेनछ । आफैँ आएर एकको दश दिन्छु भनिरहेको छ । लाग्छ यसलाई ठूलै दशाले कुतकुत्याएको छ । आज ठूलै सिकार हात पर्ला जस्तो छ ।’

‘किन, के भो र ? शर्त मन परेन ?’

चतुरेको कुरा सुनेर ऊ झस्क्यो र खिस्स हाँस्दै भन्यो–

‘यो त खुसीको कुरा, भन्नुस् बाजी कति राखौँ ?’

‘तपाईँको मर्जी । ध्यान दिनुस् यदि जित्नुभयो भने एकको दश पाउनुहुनेछ ।’

पैसा कमाउने सुनौलो मौका ठान्दै जुवाडेले भन्यो–

‘मेरो सबै सम्पत्ति राख्छु । जित्नुभयो भने सबै पाउनु हुनेछ । हार्नुभयो भने तपाईँकै भनाइ अनुसार त्यसको दश तिनुपर्छ । मन्जुर हुनुहुन्छ ? तर होस गर्नुहोला बोको यति अघाएको उनुपर्छ कि घाँस खाने होइन सुघ्नेसम्म पनि गर्ने छैन ।’

त्यसपछि बाजी पक्का गर्न गाउँलेहरूलाई साक्षी राखी उनी बोकालाई चराएर ल्याउन जङ्गलतिर लागे तर बोकालाई चराउने काम भने गरेनन् । बरु एउटा हातमा घाँस र अर्को हातमा सिम्कनो लिएर बसे । जब बोका घाँस खान खोज्थ्यो उनी सिमकानाले मुखमा हानिदिन्थे । एवंरीतले दिनभर हजार पटक भन्दा बढी घाँस देखाए र त्यति नै पटक थप्पड पनि लगाए । त्यसपछि बोकाले खान खोज्न छाड्यो तर हेर्न भने अझै छाडेन । यसका लागि गोडा सएक थप थप्पड लगाउनुप¥यो उनलाई । त्यसपछि हेर्न पनि छाड्यो । घास देख्ने बित्तिकै बोको डराएर अर्कोतिर फर्कने गथ्र्यो । साझपख बोका लिएर आए । त्यतिबेलासम्म जुवाडेको घरमा रमिता हेर्ने मानिसको भीड लागिसकेको थियो ।

बोको आएपछि जुवाडे एक मुठी कमलो घाँस देखाएर म्याम्या गर्न लाग्यो तर बोकोले सुघ्न त के पुलुक्कसम्म हेरेन । ऊ जता घाँस देखाउँथ्यो । बोको अर्कोतिर फर्कने गथ्र्यो । उसले बोकालाई फकाउन हरसम्भव प्रयास ग¥यो तर केही लागेन । जब ऊ घाँस देखाउँथ्यो बोको चतुरेको मुखमा हेथ्र्यो । चतुरे उसलाई हेरे जस्तो गरी आँखा तरिदिन्थे । बोको उनको आँखाको भाषा आँखाले नै बुझ्थ्यो र घाँसको ठीक विपरीत दिशातिर फर्कने गथ्र्यो ।

बल्ल जुवाडेको होस आयो र खुय्य गर्दै टाउको समातेर बस्यो । शर्त अनुसार उसको सारा सम्पत्ति चतुरेको भयो । त्यसपछि उनले जो–जसको सम्पत्ति लुटिएको थियो एकएक गरी बोलाएर उनीहरूलाई नै फिर्ता दिए । उनीहरू चतुरेको जयजयाकार गर्दै घरतिर लागे । जुवाडे सारा सम्पत्ति गुमाएर एकैसाथ महलबाट सडकमा पुग्यो ।

भनाइ नै छ नि–

‘अन्यायोपार्जितं द्रव्यं दश वर्षाणि तिष्ठति ।

प्राप्ते चैकादशे वर्षे समूलं तद्विनश्यति ।’

अर्थात् अन्यायले कमाएको सम्पत्ति बढीमा दश वर्षसम्म टिक्न सक्छ । एघार वर्ष लाग्नासाथ सावा र ब्याज एकैसाथ नाश हुन पुग्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.