आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए यूके अध्यक्ष पदको उम्मेदवारी शुल्क २ लाख ५० हजार

आइतबार, २७ असार २०७८, ०८ : ५७
आइतबार, २७ असार २०७८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनको लागि निर्वाचन तालिका र उम्मेदवारी शुल्क सार्वजनिक गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका उम्मेदवारको लागि १५ सय पाउण्ड अर्थात दुई लाख ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको  छ ।

संघको वेबसाइटमा शनिबार प्रकाशित गरिए अनुसार जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन तथा १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ ।

यसैगरी, १४ जुलाई साँझ ५ बजे एनआरएनए यूके वेबसाइटमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उम्मेदवारी दर्ताका लागि जुलाई १५ देखि १६ तारिख साँझ ५ बजेसम्मको समय छुट्याइएको छ । जुलाई १८ आइतबार साँझ ५ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारमाथि दाबी विरोध गर्न १९ जुलाई दिउँसो १ बजेसम्म समय दिइएको छ ।

जुलाई २०, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान जुलाई ३१ शनिबार ० ः ०० देखि बेलुका २३ ः ५९ सम्म अनलाइनमार्फत हुनेछ । परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ १ अगस्ट भर्चुअल माध्यमबाट गरिनेछ ।

अन्य पदका लागि उम्मेदवारी शुल्क

दुई खुला, एक महिला र वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डको प्रतिनिधित्व गर्ने एकएक गरी कुल ६ उपाध्यक्ष र महासचिवका लागि ११ सय पाउण्ड निर्धारण गरिएको छ ।

त्यसैगरी, दुई खुला र एक महिला गरी तीन सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकका लागि ८ सय ५० पाउण्ड शुल्क छ भने १२ कार्यसमिति सदस्यका लागि ४ सय ५० पाउण्ड उम्मेदवारी शुल्क लाग्नेछ ।

त्यस्तै, ७ आइसिसी सदस्यहरुको लागि १५ सय पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन उमेदवारी दिनेहरुले ४० पाउण्ड शुल्क बुझाउनुपर्नेछ ।

राज्य समन्वय परिषदहरूको हकमा भने अध्यक्षलाई ४ सय ५० पाउण्ड, उपाध्यक्षलाई ३ सय पाउण्ड, सचिव र कोषाध्यक्षलाई २ सय पाउण्ड, सहसचिव र सह कोषाध्यक्षलाई १ सय ५० पाउण्ड तथा ४ सदस्यहरुलाई १ सय पाउण्ड शुल्क छ ।

निर्वाचन समितिका संयोजक महेन्द्र कंडेल र सदस्यसचिव कर्णबहादुर शाहीले राष्ट्रिय समन्वय परिषद बेलायतसँगै यहाँका चार वटै राज्य समन्वय परिषदको निर्वाचनका लागि तालिका ‘गैरआवासीय नेपाली संघ यूके निर्वाचन समिति २०२१ नियमावली तथा सूचना’ प्रकाशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप