शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

उम्लिएको पानी खन्याएर सुतिरहेका श्रीमानको हत्या गर्नेमाथि आजीवन जेल सजाय

शनिबार, २६ असार २०७८, २२ : ५३
शनिबार, २६ असार २०७८

उम्लिएको पानी खन्याएर सुतिरहेका पतिको हत्या गर्ने एक महिलालाई बेलायतमा आजीवन कारावासको सजाय सुनाइएको छ । शुक्रबार चेस्टर क्राउन अदालतले यस्तो सजाय सुनाएसँगै कम्तिमा १२ वर्ष कोरिन्हा स्मिथले जेलमा बिताउनुपर्नेछ । 

आफ्ना पतिले बालबालिकामाथि यौन दुर्व्यवहार गरेको पत्तो पाएपछि रिसले आगो भएर यस्तो अपराध गरेको बयान यी महिलाले दिएकी थिइन् । यद्यपि, उनका पति दोषी भए–नभएको विषय प्रमाणित हुन नसकेको अदालतले जनाएको छ । 

यसरी भएको थियो हत्या 

५९ वर्षीया कोरिन्हा स्मिथले पानीको बाल्टीमा तीन पोका चिनी मिसाइन् र यसलाई उमालिन् । त्यसपछि ८० वर्षका श्रीमान् माइकल बेनिसमाथि खन्याइन् । यतिबेला बेनिस सुतिरहेका थिए । बेनिसले बालबालिकामाथि यौन दुव्यर्वहार गर्ने गरेको थाहा पाएपछि आक्रोशित बनेको बयान यी महिलाले दिएकी थिइन् ।

यी महिलाका आफ्नै छोरा क्रेगले पनि बाल्यकालमा दुर्व्यवहार सहेका थिए, जसले २५ वर्षको उमेरमा २००७ मा आत्महत्या गरेका थिए । स्मिथका अनुसार दुर्व्यवहारले उनको छोराको मानसिक अवस्था बिग्रिएको थियो र एकपटक एक पुरुषलाई गम्भिर रुपमा आक्रमण गरेर उनी जेलसमेत परेका थिए । आत्महत्या गर्नुभन्दा अघिल्लो दिन क्रेगले स्मिथसँग भनेका थिए, ‘ती व्यक्ति बाल दुराचारी भएकाले मैले आक्रमण गरेको हुँ । उसले मलाई खराब नियतले छोएको थियो ।’

के भयो ?
दुराचारकै कारण छोराले आत्महत्या गर्दाको दुःख आफुले सहेकाले पति नै यस्तो कार्यमा वर्षौंदेखि संलग्न छन् भन्ने थाहा पाउनासाथ सन्तुलन गुमाएको उनको बयान थियो । पति दुराचारी हुन् भन्ने लाग्नासाथ गत वर्षको जुलाई १४ मा उनले आफ्नो बगैँचाबाट बाल्टी निकालिन्, त्यसमा पानी र चिनी हालेर उमालिन् । अधिकारीहरुका अनुसार चिनी मिसाउँदा उमालेको पानीले छालामा धेरै असर गर्छ भन्ने जानेरै उनले यस्तो गरेकी थिइन् । 

श्रीमान्लाई पानी खन्याएपछि स्मिथ भागेर छिमेकीको घरमा गइन् । जहाँ उनले भनिन्, ‘मलाई लाग्छ, मैले उनको हत्या गरें ।’ प्रहरी घरमा पुग्दा उनका पति अति पीडामा छट्पटाइरहेका थिए । उनलाई विस्टन अस्पतालमा लगियो । उनको शरीरको एक तिहाई भाग जलिसकेको थियो । अवस्था बिग्रँदै गयो र १८ अगस्टमा उनको मृत्यु भयो । 

न्यायाधीश अमान्डा डिबिईले यस घटनाबारे भनिन्, ‘तपाईको सुनुवाइले तपाईको श्रीमान् विरुद्ध लागेका अपराधको सत्य वर्णन गर्न सक्दैन र सकेन । उनीमाथि आरोप लागेको थियो र यसमा तपाईले विश्वास गर्नुभयो भनेर अधिकारीहरुले स्वीकार गरेका छन् । यो खुलासा तपाईका लागि अति पीडादायी थियो भन्नेमा सन्देह छैन । तपाईले यस्तो किन गर्नुभयो भनेर पृष्ठभूमिले केही वर्णन गरेपनि यसले कुनै माफी मिल्दैन भन्ने तपाईलाई थाहा छ भन्नेमा म ढुक्क छु ।’

उनले भनिन्, ‘तपाईका श्रीमान्ले जेसुकै गरेका छन् भन्ने तपाईलाई लागोस् तर तपाईको कदमले त्यसलाई पुष्टि गर्दैन । तपाईले बेनिसको जीवन लिनुभएको छ र उनका छोराछोरीलाई ठूलो पीडा दिनुभएको छ ।  बेनिसलाई मारेर तपाईले यी अभियोगबारे छानविन हुने अवसर पनि दिनुभएन । यसले निष्पक्ष सुनुवाइको उनको अधिकार खोसेको छ । यो याद राख्नुस् कि दोषी प्रमाणित नभएसम्म सबैजना निर्दोष हुन्छन् । यी आरोपहरू अप्रमाणित छन् । यो पुरै परिवारका लागि भयावह अवस्था हो ।’

जेल सजायको फैसला आएपछि प्रतिक्रिया दिँदै छानविनमा संलग्न प्रहरी इन्स्पेक्टर पाउल हग्सले भने, ‘स्मिथले आफ्ना श्रीमान्लाई पीडादायी र  कठोर तरिकाले मारिन् । सुतेको मानिसमाथि उम्लिएको पानी खन्याउनु पूर्णत भयावह छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप