शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो चरणको महामारीलाई मध्यनजर गर्दै तयारी गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

शनिबार, २६ असार २०७८, २० : ५४
शनिबार, २६ असार २०७८

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले अब आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् । शनिबार वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री केपी शर्माले आइतबार अस्पताल भवन उद्घाटन गर्ने पूर्वसन्ध्यामा निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे । उनले भने– ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस् । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्नुस् ।  सरकारले देखिनेगरी सबै पूर्वाधार तयारी गरिसकेको छ ।’

मन्त्री श्रेष्ठले सबै बिरामीको निशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न निर्देशन दिए । ‘यो अस्पताल सबै नेपालीको हो, यसको बिस्तार र विकासको लागि सरकारले सबै सहयोग गर्नेछ’ मन्त्री श्रेष्ठले भने । उनले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए । 

सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो । हाल सो अस्पतालले सय बेडको आइसियु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा. गौतमले जानकारी दिए ।

त्यस्तै  स्वास्थ्यसचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए । उनले तेस्रो वेभलाई मध्यनजर गरी सबै तयारी थालिएको समेत बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप