शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची बजारलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ : प्रधानमन्त्री ओली

शनिबार, २६ असार २०७८, १७ : १९
शनिबार, २६ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए ।

उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गरे । प्रधानमन्त्री ओलीले भने, “विपतका समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।” 

उनले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले  एकद्वार प्रणालीबाट मात्रै  वितरण गर्न आह्वान गरे । उनले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गरे । प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशमशेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए ।

उनले मेलम्ची  खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताए । उनले भने– “राष्ट्रिय गौरवको मेलम्ची  खानेपानी आयोजना  आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन ।” आयोजनाको सुरुङ परिक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उनको भनाइ थियो  ।  सो अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङको समेत सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप