ब्राजिलविरुद्ध अर्जेन्टिना : नेयमार र मेस्सीमध्ये कसको सपना पूरा हाेला ?
सन् १९९१ मा अर्जेन्टिनाको रोसारियोस्थित धुले मैदानमा एक बालक फुटबल म्याच खेल्न उपस्थित भएनन् । के थाहा, यही घटनाले विश्व फुटबलको इतिहास बदल्नेवाला थियो ।
स्थानीय क्लब ग्रान्डोलीका प्रशिक्षक साल्भाडोर अपारिसियोले उनको सट्टा खेलाउन मिल्ने कोही खेलाडी खोले । ‘मैले भित्तामा बल हानिरहेको एउटा सानो बच्चा देखेँ,’ ६३ वर्षका अपारिसियोले २००८ मा द इन्डिपेन्डेन्टसँग भनेका थिए ।
तर चार वर्षका यी बच्चा निकै सानो थिए । उनकी आमा छोरालाई खेलाउन चाहन्न थिइन् ।
हजुरआमाले हस्तक्षेप गरिन् । उनले फुटबलले केही हानि नगर्ने भन्दै नातिलाई खेल्न दिन भनिन् । अन्त्यमा आमा पनि मानिन् । आमालाई खुसी बनाउन प्रशिक्षकले भने, ‘म उसलाई राइट विङमा राख्छु, स्ट्यान्ड नजिक अर्थात् तिमी नजिक । यदि उसलाई दुख्यो भने ऊ कराउनेछ र तिमी नजिक हुनेछौ ।’
यो त्यही धुले मैदान थियो, जहाँ मेस्सीले ३० वर्षअघि खेलेका थिए ।
मेस्सीले यसलाई अलि फरक रूपले सम्झन्छन् । ‘मभन्दा एक वर्ष ठूलो टिम थियो । उनीहरू खेल्दै गर्दा खेलाडी चाहिएको थियो,’ मेस्सीले यस खेलबारे भनेका छन्, ‘मेरी हजुरआमाले नातिलाई टिममा राख्नु भनिन् । प्रशिक्षकले यति सानो बच्चालाई कसरी राख्ने ? कस्तो पागल कुरा गरेको, ऊ घाइते हुन्छ भने । तर हजुरआमाले जिद्दी गरिन् ।’
मेस्सीले भनेका छन्, ‘त्यसपछि अन्ततः प्रशिक्षकले खेलाए । मेरी हजुरआमाले फेरि प्रशिक्षकलाई भनिन्– उसलाई बुट किनिदेऊ । म अर्को सातादेखि अभ्यासमा ल्याउनेछु र यसरी मेरो खेल यात्रा सुरु भयो ।’
आज विश्वभर मेस्सीका करोडौँ समर्थक छन् तर हजुरआमा उनकी पहिलो समर्थक थिइन् । जब उनले गोल गर्छन्, उनी आकाशतर्फ इसारा गर्छन् । १९९८ मा स्वर्गीय भएकी हजुरआमाको सम्मानमा उनले यस्तो गरेका हुन् ।
हजुरआमाले कहिल्यै मेस्सी महान् बनेको देखिनन्, तर उनको सपनालाई देखेकी थिइन् । अर्जेन्टिनामा हुर्कने ९० को दशकका अधिकांश बच्चाजस्तै मेस्सीको सपना पनि म्याराडोनाको फलो गरेर देशलाई उपाधि जिताउने थियो ।
७ अक्टुबर १९९३ मा युरोपबाट फर्किएर म्याराडोनाले निवेल्स वर्ल्ड ब्वाइजमा डेब्यु गरेका थिए । खेलको हाफ टाइममा मनोरञ्जनका लागि यो क्लबले ६ वर्षका मेस्सीलाई मैदानमा उतारेर कला देखाउन लगाएको थियो ।
मेस्सी र म्याराडोनाबीच बारम्बार तुलना भइरहन्छ । उनीहरू दुवै फुटबलका महान् खेलाडी हुन् । जब क्लब स्तरको कुरा आउँछ, मेस्सीले आफूले कल्पना गरेभन्दा धेरै जितिसकेका छन् । उनले बार्सिलोनाबाट ३४ वटा ट्रफी जितिसके । जसमा ४ वटा यूईएफए च्याम्पियन्स लिग समावेश छ । बार्साबाट अविश्वसनीय खेलेकैले उनले ६ पटक बेलोन डी अवार्ड जितिसकेका छन् । म्याराडोनाले क्लबमा हासिल गरेको उपलब्धिभन्दा मेस्सीको उपलब्धि निकै माथि छ ।
यद्यपि जब राष्ट्रिय टिमको कुरा आउँछ तर कथा फरक छ । म्याराडोनाले १९८६ को विश्वकप फुटबलमा गरेको प्रदर्शन विश्व फुटबलले देखेको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत प्रदर्शन हो । जसको अर्थ उनी अर्जेन्टिनामा सधैँ आदर्श रहनेछन् ।
अर्जेन्टिनीहरू मेस्सीलाई माया गर्छन्, म्याराडोनालाई आदर्श मान्छन् ।
दुवै खेलाडी प्रतिभावान् भए पनि म्याराडोना र मेस्सीबीच व्यक्तित्वदेखि धेरै कुराहरू फरक छन् । अर्जेन्टिनीहरूको आँखामा दुईबीचको सबैभन्दा ठूलो फरक, मेस्सीले देशलाई ठूला उपाधि जिताउन नसक्नु हो ।
अब उनी निकै नजिक छन् ।
सन् २०१४ को विश्वकप फाइनलमा उनी जर्मनीसँग अतिरिक्त समयमा हारेका थिए ।
२०१५ को कोपा अमेरिका फाइनलमा चिलीसँग पेनाल्टीमा हारे ।
२०१६ मा कोपा अमेरिकाको फाइनल फेरि हारे । यसपटक पनि चिलीसँगै हारे, पेनाल्टी सुटआउटमै हारे ।
हैरान भएर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे । यस घटनाले अर्जेन्टिनाको राष्ट्रपति कार्यालयकै ध्यान खिच्यो । ‘हाम्रोजस्तो फुटबललाई माया गरिने देशमा विश्वकै उत्कृष्ट खेलाडी हुन्, भगवान्कै उपहार हो । हामी भाग्यमानी छौँ, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेस्सी अर्जेन्टिनासँग भएका बहुमूल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,’ तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीले भने ।
मेस्सी फर्किए तर २०१८ को विश्वकप र २०१९ को कोपा अमेरिकामा अर्जेन्टिनाको प्रदर्शन राम्रो भएन । २०१९ मा ब्राजिलसँग पराजित हुँदै अर्जेन्टिना कोपाबाट बाहिरिएपछि मेस्सीले तीतो पोखेका थिए । ‘म यस भ्रष्टाचारको हिस्सा बन्न चाहन्न । हामीले कोपामा जुन बेइज्जती खेप्यौँ त्यसको हिस्सा हामी बन्न हुँदैन थियो । अगाडि जानसक्थ्यौँ तर हामीलाई जान दिइएन । भ्रष्टाचार, रेफ्री र अन्य कुराले मानिसलाई फुटबलको मज्जा लिन दिएनन्,’ उनले भने ।
यो मेस्सीको चरित्रबाहिरको टिप्पणी थियो । उनी हत्तपत्त यस्तो टिप्पणी गर्दैनन् । यद्यपि पछिल्ला वर्षहरूमा अर्जेन्टिनाका लागि खेल्दै गर्दा उनी प्रायः भावुक भएजस्तो देखिन्छन् ।
यो समय फरक हुनसक्छ । हुनसक्छ यसपटक मेस्सीले टोलीका लागि उपाधि जित्नेछन् । उनले अर्जेन्टिनाका लागि यू–२० विश्वकप जितेका छन् । उनले अर्जेन्टिनाका लागि ओलम्पिक जितेका छन् । तर २००७ मा ब्राजिलसँग कोपाको फाइनल हारेयता यो प्रतियोगिता उनका लागि मिठासपूर्ण रहेन ।
१९९३ मा उपाधि जितेयता अर्जेन्टिनाका लागि कोपा मिठासपूर्ण बन्न सकेको छैन । मेस्सी यसपटक निकै राम्रो लयमा छन् । ६ खेलमा उनले ४ गोल र पाँच एसिस्ट गरेका छन् । २०२१ मा उनले ३६ खेलमा ३३ गोल र १४ एसिस्ट गरेका थिए ।
३४ वर्षको उमेरमा आइपुग्दा पहिलो पटक बार्सिलोनासँगको उनको सम्झौता टुङ्गिएको छ र उनी यस पटक बेलोन डी अरका प्रत्यासी पनि हुन् । आइतबार बिहान ब्राजिलविरुद्धको खेल जित्ने हो भने उनी अर्जेन्टिनी फ्यानहरूको आँखामा अमर बन्नेछन् ।
ब्रिस्बेनदेखि ब्युनोस आयर्ससम्म, विश्वभरका बालकहरू मेस्सी बन्ने सपना देख्छन् तर आइतबार मेस्सीलाई आफ्नै बाल्यकालको सपनामा बाँच्ने मौका छ ।
२०१९ को त्यस विवादास्पद कोपा अमेरिका सेमिफाइनलपछि उनको टोली पराजित भएको छैन । १९९१ मा उनलाई केवल हजुरआमाले विश्वास गर्थिन्, २०२१ मा आउँदा विश्वभरका करोडौँले विश्वास गर्छन् ।
उनलाई सफलता हासिल गर्नबाट केही कुराले रोक्छ भने त्यो विश्व फुटबलको महाशक्ति र उसको घरेलु मैदान हो । उक्त टोली १३ खेलयता अपराजित छ, जसमध्ये १२ खेल उसले जितेको छ । हामी यहाँ ब्राजिलको चर्चा गर्दैछौँ ।
फुटबल कहिल्यै सहज हुँदैन । उनीहरूका लागि पनि जसले यसलाई सहजजस्तो देखाउँछन् ।
ब्राजिलको तगारो
ब्राजिलका लागि फुटबल के हो भनेर जति वर्णन गरे पनि कमै होला । यहाँ प्रायजसो आम निर्वाचन विश्वकप आयोजना हुने वर्षमै हुन्छ र आलोचकहरू फुटबलबाट सिर्जित राष्ट्रवादी लहरको फाइदा उठाउन राजनीतिक पार्टीहरूले यस्तो गरेको आरोप लगाउँछन् । विश्वमा १० हजारभन्दा धेरै ब्राजिलीहरू विभिन्न देशमा व्यावसायिक फुटबल खेल्छन् ।
इङ्ल्यान्डले फुटबलको घर हामी हौँ भन्नसक्ला । तर ब्राजिलीहरूले ‘यो खेल हाम्रो माटोमा धेरै सुहाउँछ’ भनेर तर्क गर्नसक्छन् ।
२००२ को विश्वकपमा ब्राजिललाई प्रशिक्षण दिएका लुइस फिलिप स्कोलारीले फुटबलमा आफ्नो जागिर सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए । ‘२० करोड प्रशिक्षकहरू भएको देशमा लामो समयसम्म पदमा टिक्नु असम्भव छ,’ उनले भनेका थिए, ‘राष्ट्रिय टिमबारे हरेकको आफ्नै तर्क हुन्छ ।’
यस्तो ठाउँमा टिटेले ५ वर्षदेखि जे गरिरहेका छन्, त्यो हेर्नलायक छ । २०१६ मा उनको नियुक्तिपछि ब्राजिलले ४५ खेल जितेको छ, ११ खेलमा बराबरी खेलेको छ भने केवल चार पटक हारेको छ । उनीहरूले ६० खेलमध्ये ४२ खेलमा कुनै गोल खाएका छैनन् ।
उनको रेकर्डमा लागेको एउटै कालो दाग बेल्जियमविरुद्धको २०१८ विश्वकपको क्वाटरफाइनल हार हो । उनी अर्को वर्ष कतारमा यो दाग मेटाउने आशामा छन् । यो प्रतियोगिता त्यही प्रक्रियाको एउटा हिस्सा हो ।
२०१९ मा घरेलु मैदानमै कोपा अमेरिका जितेका टिटे यसपटक पनि टोलीलाई उपाधि जिताउन सके दुई पटक कोपा अमेरिका जित्ने पहिलो ब्राजिली प्रशिक्षक हुनेछन् ।
यदि आइतबार कोपा जितेर २०२२ को विश्वकप पनि जित्नसके, टिटे ब्राजिली इतिहासकै सर्वाधिक सफल प्रशिक्षक बन्नेछन् ।
इतिहासमा आँखा लगाउने मेस्सी एक्लो होइनन् ।
त्यहाँ नेयमार पनि छन् । रोनाल्डिनोपछिका सर्वाधिक प्रतिभावान् तथा रोनाल्डोपछिका सर्वाधिक प्रभावशाली फुटबलरका रूपमा उनलाई लिइन्छ । यद्यपि ब्राजिलीहरूका आँखामा उनी रोनाल्डिन्हो र रोनाल्डो जतिको महान् हुन बाँकी नै छ । यसको कारण अर्जेन्टिनामा मेस्सीले झैँ उनले पनि ब्राजिलमा प्रमुख प्रतियोगिता जित्न बाँकी छ ।
नेयमारले ब्राजिलबाट जितेको उपाधि कन्फेडेरेसन कप र ओलम्पिक खेलकुदमा स्वर्ण मात्र हो ।
मेस्सीझैँ नेयमारलाई पनि थाहा छ, बाल्यकालदेखिको रहर पूरा गर्ने यो ठूलो अवसर हो ।
पेरिस सेन्ट जर्माइनबाट खेल्ने यी खेलाडी गोल र एसिस्ट दुवै जोड्दा केवल मेस्सीभन्दा पछि छन् । उनले जारी प्रतियोगितामा २ गोल र ३ एसिस्ट गरेका छन् ।
‘म फाइनलमा अर्जेन्टिना आएको हेर्न चाहन्छु । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेरा साथीहरू छन्,’ नेयमारले सेमिफाइनलमा पेरुविरुद्ध ब्राजिल विजयी भएपछि भनेका थिए ।
कोलम्बियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले टाइब्रेकरमा तीनवटा पेनाल्टी बचाएपछि नेयमारको चाहना पूरा भयो ।
अब आफ्नो युगका दुई उत्कृष्ट प्रतिभाहरू फाइनलमा एउटै कामनासहित भेट्नेछन् । दुईमध्ये एउटाको कामना मात्रै पूरा हुनेछ ।
कुन टिमको रणनीति कस्तो ?
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले २०१८ मा टोली सम्हालेयता रक्षापङ्क्तिमा मुख्य जोड दिँदै आएका छन् ।
इमिलियानो मार्टिनेजले अर्जेन्टिनाको गोलपोस्ट सम्हाल्नेछन् । उनले केवल ५ साताअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । बुधबार तीनवटा पेनाल्टी बचाउँदै अर्जेन्टिनाको हिरो बनिसके ।
रक्षापङ्क्तिमा म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर निकोलास ओटामेन्डी, फियोरेन्टिनाका जर्मेन पेज्जेल्ला, एटलान्टाका क्रिस्ट्रियन रोमेरो तथा युडिनेसेका राइट ब्याक नाहुयिल मोलिनाले खेल्ने लगभग पक्का छ । लेफ्ट ब्याकका रूपमा सेभियाका मार्कोस अकुना वा अज्याक्सका निकोलास टाग्लियाफिकोमध्ये एकले खेल्नेछन् । यी दुवै खेलाडीले यस प्रतियोगितामा राम्रोे खेलेका छन् ।
मिडफिल्डमा टोट्टेनह्यामका जियोभानी लो सेल्सो र युडिनेसेका रोड्रिगो डी पाउलले खेल्ने लगभग तय छ । डी पाउलले एथलेटिको म्याड्रिडसँग सम्झौता गरिसकेका छन् । यसको घोषणा फाइनल खेलपछि हुनेछ । मिडफिल्डमा पीएसजीका लियन्ड्रो परेडेस पनि यी खेलाडीसँगै मैदान उत्रनसक्छन् वा उनको साटो गुइदो रोड्रिग्वेज सुरुवातमा उत्रन सक्छन् ।
अग्रपङ्क्तिमा स्कालोनीसँग धेरै विकल्प छन् । उनले इन्टर मिलानका लाउटारो मार्टिनेज र फियोरेन्टिनाका निकोलास गोन्जालेसलाई पछिल्ला खेलमा मौका दिइरहेका छन् । कोलम्बियाविरुद्ध यी दुवैले ठूला अवसर गुमाएका थिए । मार्टिनेजले तीन खेलमा तीन गोल गरेका छन् । तर यसका बाबजुद सर्जियो अग्वुइरोले उनको साटो पनि खेल्न सक्छन् । सेभियाका अलेस्यान्द्रो गोमेज र पीएसजीका एन्जेल डी मारियाले मौका पाएका बेला राम्रो गरेका छन् तर पछिल्ला दुई खेलमा दुवैजना बेन्चमा थिए ।
ब्राजिलमा पनि कसलाई खेलाउने भनेर टाउको दुखाइ छ । लिभरपुलका एलिस्सन बेकर र म्यानचेस्टर सिटीका इडर्सनमध्ये एकले गोलपोस्ट सम्हाल्नेछन् ।
पछिल्ला दुई खेलमा इडर्सनले खेलेको टिटेले फाइनलमा उनलाई नै निरन्तरता दिनसक्छन् । चार रक्षकमा एथलेटिको म्याड्रिडका रेनान लोदी लेफ्ट–ब्याक, चेल्सीका थिएगो सिल्भा र पीएसजीका माक्र्विन्होस सेन्टर ब्याक र युभेन्टस्का डेनिलोले राइट ब्याकका रूपमा खेल्ने सम्भावना धेरै छ । यद्यपि माक्र्विन्होसको साटो रियल म्याड्रिडका इडर मिलिटाओले पनि खेल्नसक्छन् । नेयमारपछि जारी प्रतियोगितामा रियल म्याड्रिडका कासिमिरो र म्यानचेस्टर युनाइटेडका फ्रेडले उत्कृष्ट खेलेका छन् । मिडफिल्डमा उनीहरूको स्थान सुरक्षित छ ।
सेमिफाइनलमा टिटेले लुकास पाक्वेटासहित तीनजना मिडफिल्डर उतारेका थिए । उनले नेयमारसँग मिलेर निकै उत्कृष्ट खेले । मिडफिल्ड र आक्रमणलाई जोड्ने काम गरे, निर्णायक गोल पनि गरे ।
अग्रपङ्क्तिमा नेयमार पक्का भइ नै हाले । तर म्यानचेस्टर सिटीका गाब्रियल जेसुस चिलीका इयुग्नियो मेनामाथि क्वारटफाइनलमा फ्लाइङ किक प्रहार गरेकाले दुई खेलको प्रतिबन्धमा छन् । उनको साटो एभर्टनका रिचर्लिसन मैदानमा उत्रनसक्छन् । लिभरपुलका रोबर्टो फिर्मिनोले पनि यस प्रतियोगितामा राम्रो खेल्न सकेका छैनन्, त्यसैले बेनफिकाका एभर्टन रिबेरोले फाइनलमा मौका पाउनसक्छन् ।
जारी प्रतियोगितामा प्रदर्शन
प्रारम्भिक चरणमा समूह एमा रहेको अर्जेन्टिनाले आफ्नो पहिलोे खेलमा चिलीसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पराग्वे र तेस्रो खेलमा उरुग्वेलाई समान १–० ले हरायो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ को जित दर्ता गरेको थियो ।
क्वाटरफाइनलमा इक्वेडरविरुद्ध ३–० को जित दर्ता गरेको अर्जेन्टिनाले सेमिफाइनलमा भने कोलम्बियालाई टाइब्रेकरमा हरायो । त्यसअघि दुवै टोलीबीच निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।
अर्जेन्टिना २९औँ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो । उसले १४ पटक उपाधि जितेको छ ।
यस संस्करणमा प्रतियोगिता सुरु हुनअघि नै ब्राजिललाई उपाधिको दाबेदार मानिएको थियो । उसले अहिलेसम्म ९ पटक उपाधि जितेको छ । जारी प्रतियोगिताको समूह बीका पहिलो खेलमा ब्राजिलले भेनेजुयलालाई ३–० ले हरायो । त्यसपछि पेरुलाई ४–० ले हराएको ब्राजिलले तेस्रो खेलमा कोलम्बियालाई २–१ हरायो । समूह चरणको अन्तिम खेलमा इक्वडेरसँग उसले बराबरी खेल्यो । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० र सेमिफाइनलमा पेरुलाई १–० ले हराएर फाइनल यात्रा गरेको हो । यी दुवै खेलमा लुकास पाक्वेटाले ब्राजिलबाट निर्णायक गोल गरेका थिए ।
हेड टु हेड
यी दुई टोलीबीच खेलिएका एक सय पाँच खेलमा ब्राजिलले ४१ खेल जितेको छ भने अर्जेन्टिनाले ३८ खेल जितेको छ । त्यस्तै २६ खेल बराबरीमै टुङ्गिएको छ । यसक्रममा ब्राजिलले १ सय ६३ र अर्जेन्टिनाले १ सय ६० गोल गरेका छन् । यी दुवै देश विश्व फुटबलमा पावर हाउसको नामले चिनिन्छन् । ब्राजिलले सर्वाधिक ५ पटक र अर्जेन्टिनाले २ पटक विश्वकप जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?