बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘आफ्नो परिवार नियोजनको अपरेसन आफैँले गरेँ’

शनिबार, २६ असार २०७८, ११ : २१
शनिबार, २६ असार २०७८

चिकित्सा पेसामा स्थापित व्यक्तित्व हुन् प्राडा  अर्जुनदेव भट्ट । कैयौँलाई मृत्युको मुखबाट फर्काउन सफल उनी प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित छन् ।

पाल्पामा जन्मिई एमडी, पीएचडी (सर्जरी), डीएससी (युरोलोजी), एफआईसीएस र मिर्गौला प्रत्यारोपण फेलोसिप अध्ययन पुरा गरेका भट्टको सानो छँदा भने इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । उमेर र अध्ययन बढ्दै जाँदा उनको उद्देश्य फेरियो र चिकित्सा पेसा रोज्न पुगे । चिकित्सा पेसामा पनि उनी त्यस्ता डाक्टर हुन् जसले आफ्नो अपरेसन आफैँ गरेर धेरैलाई चकित तुल्याएका छन् ।

चिकित्सा क्षेत्रमा मात्र होइन उनी साहित्य फाँटमा पनि परिचित छन् । उनको लेखन रहेका करिब आधा दर्जन पुस्तक प्रकाशित छन् भने केही प्रकाशनको तयारीमा छन् । साहित्यमा पनि कविता विधामार्फत उनी आफ्ना भावना, संवेदना र विचारलाई सशक्त ढङ्गले अभिव्यक्त गर्ने गर्दछन् । पछिल्लो समय आएको उनको कविता सङ्ग्रह ‘अविस्मरणीय पलहरू’ले पनि यो देखाएको छ । मूत्ररोगलगायत विभिन्न स्वस्थ्य समस्यासम्बन्धी थुप्रै लेखबाट सर्वसाधारण स्वास्थ्य र समाधानसँग जोड्दै आएका उनी देशका विभिन्न अस्पताल हँुदै पछिल्लो समय मेडिकेयर चावहिलमा कार्यरत छन् ।

धेरैको नजरमा डाक्टर एक विशेष व्यक्तित्व हो । उनीहरूको रहनसहन, खानपिनदेखि जीवनसँग जोडिएका हरेक विषय फरक र विशेष हुने सोच पाइन्छ । त्यसैले आज हामीले डा. अर्जुनदेव भट्टको जीवनमा विभिन्न पाटो रातोपाटीको मेरो ‘जीवन स्तम्भ’मा केलाउने प्रयास गरेका छौं । डा. भट्टका  जीवनका विभिन्न पाटा उनकै शब्दमाः

पेसा

सन् १९७० मा रसियाको खार्काे मेडिकल इन्स्टिच्युटबाट जर्नल विषयमा एमडी अध्ययन सकेर म डाक्टरी पेसामा होमिएको हो । नेपालमा यो अध्ययनलाई एमबीएस भन्ने चलन छ । त्यसपछि २ वर्षको जनरल सर्जरी र पीएचडी समेत त्यही गरेको थिएँ ।

मभन्दा अगाडि कोही पनि विदेशीले त्यहाँबाट पीएचडी पाएका रहेनछन् । त्यहाँबाट पीएचडी पाउने म पहिलो विदेशीसमेत भएँ ।

मैले पीएचडी सक्याउँदै गर्दा सँगै पढेका मेरो विदेशी साथीहरू विभिन्न विकसित मुलुकमा काम गर्थे । मलाई पनि प्रस्ताव आएको थियो । मेरी श्रीमतीले देशप्रतिको मेरो प्रेम देखेर नेपालमै फर्कन आग्रह गरिन् ।

स्वदेश फर्किएपछि सर्जनका रूपमा अञ्चल अस्पताल जलेश्वरबाट काम सुरु गरेँ । एक वर्षपछि त्यो अस्पताल जनकपुरमा स¥यो ।

त्यसपछि मैले भक्तपुर सरुवा मागेको थिए । त्यो भएन । त्यो समय काठमाडाैंमा बस्ने डाक्टरले भ्याली बाहिरभन्दा धेरै सुविधा पाएका रहेछन् । मभन्दा जुनियर डाक्टरले समेत विदेशका विभिन्न स्थानमा पढ्ने अवसर पाउँदा म भने वञ्चित भएछु । स्रोत र साधनको अभावमा काम गर्न थुप्रै समस्या थिए । त्यसैले युरोलोजीमा डीएसए पढ्न म फेरि रसिया पुगेँ । यो अध्ययन सोभियत युनियनमा प्रोफेसर हुन नभई नहुने डिग्री पनि हो ।

त्यहाँबाट फर्किएपछि वीर अस्पतालमा जनरल सर्जनका रूपमा काम सुरु गरेँ । त्यसपछि केही समय धनगढी अस्पताल बसेँ । त्यो समय मैले पोखरा र विराटनगरमा काम गर्न चाहेको थिएँ दिएनन् । म जागिर क्विट गर्ने अवस्थामा थिएँ । सोही समय फेमेली प्लानिङमा मेडिकल डाइरेक्टरको पद खाली रहेछ ।

सोर्सफोर्सबाट त्यहाँ ज्वाइन भएँ । त्यहाँ मैले परिवार नियोजनको ट्रेनिङ दिन्थेँ । तीन वर्ष त्यहाँ बसेपछि फेरि प्रोफेसर र युरोलोजी डिपार्टमेन्ट हेडका रूपमा वीर अस्पताल फर्किएँ । त्यहाँबाट रिटायर भएपछि मेडिकेयर युरोलोजिस्टका रूपमा ज्वाइन भएको थिएँ । अहिले पनि यहीँ कार्यरत छु ।

डाक्टरी पेसामा प्रशस्तै जोखिम छन् । त्यो मैले अनुभव गरेको विषय हो । अहिले आएको कोरोनाले मात्र जोखिम भएको होइन । अन्य विभिन्न जोखिम छन् ।

वीर अस्पताल, मेडिकेयरलगायत रहँदा विभिन्न अपरेसन गरेर धेरै मानिसलाई पुनर्जीवन दिएको छु । अपरेसन गर्न ठीक पारेको बिरामीमा कोरोना समेत भेटिएको थियो । रोग र इमर्जेन्सी हेरेर अपरेसन गर्ने गरेको छु ।

अपरेसनको सिलसिलामा डाक्टरले बिरामीको शरीरभित्रै सामान छोडेको विभिन्न समयमा सुनेको छु । मेरो जीवनमा त्यस्तो केस अहिलेसम्म परेको छैन । त्यो जानाजान गरिने होइन । झुक्किएर रहने हो ।

अपरेसन जोखिम हुन्छ । कतिपय बिरामीले अपरेसनकै समय कतिको जोखिम हुन्छ भनेर सोध्छन् । अहिलेको प्राविधिक र सर्जिकल इक्युमेन्टको विकासले जोखिम न्यून छ । जोखिम प्लेनमा उडेको जस्तै हो । प्लेन सधैँ खस्ने पनि होइन । कहिले खस्छ थाहा हुँदैन मैले यो भनेर बुझाउने गरेको छु ।

मैले आफ्नो परिवार नियोजनको अपरेसन आफैले गरेको छु । धेरैलाई यो विषय सिकाएको मैले आफैँले गर्दा ठीक ठानेर आफैँ गरेको हो । पानी जहाजमा भएको बेला एउटा डाक्टरले आफ्नो एपेन्डिसाइटेको अपरेसन आफैले गरेको सुनेको थिएँ । त्यो कुराले मलाई आफ्नो अपरेसन आफैँ गर्न प्रेरित ग¥यो । धेरैले रिस्क हुन्छ भन्थे । मैले रिस्क त्यति नै देखेको थिएँ जति अर्काेको गर्दा थियो । अर्काले देखाएको ऐना हेरेर आफ्नो अपरेसन आफैँ गरेँ ।

 चिकित्सातिर नभएको भए इलेक्ट्रिकल इन्जिनियर हुने थिएँ । 

सपना

सपना खासै केही छैन । जति सकिन्छ यही पेसामा रहेर धेरैभन्दा धेरैको सेवा गर्ने नै हो ।

खुसी

मैले गरेको उपचारले कुनै पनि व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो भएको अनुभव गर्दछ र त्यो अनुभव मैले पनि गर्नसकेँ भने त्यो नै मेरो सबैभन्दा ठूलो हो ।

भुल

जीवनमा ठूलो भुल गरेँ जस्तो लाग्दैन । आफूले गरेको काममा सन्तुष्टि हुन सकिएन भने त्यो भुल लाग्ने हो । अपरेसन गर्ने सिलसिलामा कोहीको मृत्यु भयो भने त्यसलाई म कहिलै भुल मान्दिनँ । त्यो मेरा लागि खोजको विषय हुने गर्छ । कसरी र के कारणले त्यस्तो हुन पुग्यो भनेर । पछुताउनु नै पर्ने भुलै अहिलेसम्म भएको जस्तो लाग्दैन ।

खाना

दाल, भात र तरकारी मेरो मनपर्ने खाना हो । त्यसपछि बैतडीको मासको फुलौरा, त्यहाँको सेल, गहतका डुब्का, चिउरीको गुँडलगायत विशेष मनपर्छ । नखाने भन्ने त्यस्तो केही छैन ।

पकाउन रुचि छ । दालभात, माछामासु सबैथोक पकाउन सक्छु । रेस्टुरेन्ट गएर खाने बानी छैन । कार्यक्रममा बोलाएको बेला जानै पर्दा मात्र जान्छु ।

फिट्नेस

फिट्नेसका लागि नियमित योग गर्छु । नियमित योग गर्न थालेको सानैदेखि हो । मेरो ठूलो दाजु पनि पहिलेदेखि नै योग गर्नुहुन्थ्यो ।

त्यो हेरेर अलिअलि गर्दा गर्दै बानी प¥यो । बेलुका कहिलेकाही वाक गर्छु घरमै ।

पोसाक

सर्ट, पाइन्ट, टिसर्ट, ट्राउजर मैले बढी प्रयोग गर्ने पोसाक हो । विशेष कार्यक्रम तथा जाडोमा सुटपाइन्ट प्रयोग गर्छु । पहिले सरकारी कर्मचारी भएको समय फर्मल कार्यक्रमका लागि दौरासुरुवाल लगाउनै पथ्र्याे । त्यो समय लगाउँथे । तर मैले दौरासुरुवालमा कहिल्यै इन्जोय गरिनँ ।

रातो, पहेँलो र कालो रङ मेरा मनपर्ने पहिरन कलर हुन् । पोसाक रेडिमेड र सिलाएर दुवै खालको प्रयोग गर्छु । ब्रान्डमा खासै मतलब छैन । पछिल्लो समय मेरो पहिरन श्रीमती र छोरीले नै किन्ने गरेका छन् । त्यसैले खर्च थाहा हुँदैन ।

अध्ययन

अध्ययनमा रुचि छ । अस्पतालकै कामले प्रायः व्यस्त रहने भएकाले फुर्सद हुने बित्तिकै अध्ययन गर्छु । नेपाली लेखकका सबै प्रकारको पुस्तक पढ्छु ।

दाजु आनन्ददेव भट्ट लेखक भएकाले पनि उहाँको सङ्गतले सानैदेखि पुस्तक पढ्ने बानी लागेको हो । उहाँको कारणले लक्ष्मीप्रसाद देवकोटा, श्यामदाश वैष्णव, लेखनाथ पौडेल लगायत कयौँ कवि, लेखकसँग चिनजान थियो ।

विकास र परिवतर्नसँग जोडिएका पुस्तक बढी मनपर्छ । जीवनी, कथा, कविता सबै थरी पढ्ने गरेको छु । अहिले पढिरहेको पुस्तक लेखक हरिभक्त सिग्देलको एक मात्र भन्ने  रहेको छ ।

घुमघाम

घुमघाममा रुचि कहिल्यै रहेन । सानोमा परिवारसँग केही जिल्ला घुमेको थिएँ । झापा, इलाम, बैतडी, डोटी, पाल्पा, प्युठान र तराईका धेरै भेग पुगेको छु । यी सबै ठाउँमा कामको सिलसिलामा पुगेको थिएँ ।

विदेशका लन्डन, पेरिस, पोल्यान्ड, हल्यान्ड, अमेरिका, मेक्सिको लगायत करिब दर्जनभन्दा बढी देश पुगे होला । जापान र इटली जाने धेरै रहर थियो । पुग्न सकेको छैन ।

फुर्सद

मेरो जीवनमा समस्याको विषय भनेकै फुर्सद हो । फुर्सद कहिल्यै हँुदैन । घरपरिवार, आफन्तसँग केही काम परेर समय दिनुप-यो भने फुर्सद निकाल्न सक्छु । घुम्ने, आफन्तसँग रमाइलो गर्ने रुचि रहेन ।

खेलकुद

स्कुल पढ्दा म स्काउटमा थिएँ । त्यो समय भोगटेको फुटबल बनाएर पनि खेलिन्थ्यो । ब्याडमिन्टनमा समेत रुचि थियो । ब्याडमिन्टन त केही समय पछिसम्म पनि खेल्थेँ । अहिले खेल खेल्न र हेर्न दुवैमा रुचि छैन ।

मोबाइल

म ग्यालेक्सी टेन ब्रान्डको एउटा मोबाइल बोक्छु । अहिले मोबाइल अनिवार्य जस्तै भएको छ । मैले हेरेको हरेक बिरामीसँग मेरो मोबाइलबाटै सरसल्लाह हुन्छ ।

उनीहरूको उपचारको विषयका जानकारीसमेत मोबाइलमै राख्ने गरेको छु । चाहिएको बेला सजिलो होस् भनेर । मल्टिमिडिया, सामाजिक सञ्जाल, इमेल, युट्युब लगायत धेरै प्रयोग गर्दिनँ ।

मोबाइल छिटो छिटो फेर्ने बानी कहिल्यै बसेन छैन । बिग्रियो, हरायो वा धेरै पुरानो भयो भने फेर्छु ।

चलचित्र

चलचित्र हेरेकै छैनभन्दा फरक पर्दैन । सानोमा मदर इन्डिया हरेको याद छ । धेरै पहिले साथीहरूको सङ्गतले कहिलेकाहिँ चलचित्र घर पुगिन्थ्यो । तर कामले पूरा चलचित्र हेर्नै पाउँदिनँ थिएँ ।

टिभी हेरेँ भने पनि समाचार हेर्छु । युट्युबमा म्याक्सिम गोर्की, तोल्सतायलगायत चर्चित व्यक्तित्वहरूको जीवनी हेर्ने गरेको छु ।

विवाह

मैले सन् १९७१ मा रसियामै त्यहीँकी केटीसँग प्रेम विवाह गरेको हुँ । त्यो समय म पोस्टग्रयाजुएसन गर्दै थिएँ । उनी शिक्षिका थिइन् ।

करिब ६ महिनाको प्रेमपछि हामीले विवाह गरेका थियौँ । मैले इन्टरनेसनल विवाह गरेको आमालाई मनपरेको थिएन । बुबाले भने केही प्रतिक्रिया दिनु भएन । दाजुभाइहरुले सपोर्ट गरेका थिए । विवाहपछि हामी नेपाल आएर बस्यौँ ।

साहित्य

स्कुल पढ्दाखेरी हल्काफुल्का कविताहरू कोर्थें । बिस्तारै कोर्दै थुपार्दै गरेको लेखनहरू अहिले पुस्तकका रूपमा क्रमशः ल्याइरहेको छु । मेरो प्राकृतिक परिवार नियोजन (अगुवा पुस्तक) २०४७, ‘एड्स प्रतिरक्षा प्रणाली विनाशक रोग २०४७, ‘यौन प्रसारित रोगहरू २०४८, ‘मुटुको धड्कन खण्डकाव्य २०७७, ‘समय यात्रा (जलेश्वरजनकपुर अस्पतालको सम्झना) २०७७, ‘मेरो आमा ः दृढ प्रतिज्ञा नारी (स्मरण) २०७७ जस्ता कृति प्रकाशित भएका छन् । अहिले दुईवटा कृति बजारमा आउने तरखरमा छन् ।

युरोलोजीको विभिन्न जानकारीसहितको एउटा पुस्तक समेत ल्याउँदैछु । यो पुस्तक आम मानिसका लागि उपयोगी होस् भनेर ल्याउन लागेको हो ।

  गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । पुरानादेखि नयाँसम्म सबै प्रकारको नेपाली गीत सुन्ने गरेको छु । देशभरकै लोकगीत र बैतडीतिरका देउडासमेत मनपर्छ ।

मापसे

मापसमा सौखिन छैन । साथीभाइ जमघट हुँदा हल्का लिन्छु ।

रोग

कोही भन्छन्, ‘आफै डाक्टर रोग त के होला र ! मेरो पनि बाहिर देखिने रोग त्यस्तो केही छैन । उमेरसँगै हुने भित्री रोगहरू प्रोस्टेटलगायत केही देखिन थालेको छ । भागवानको कृपाले नियमित औषधि खानुपर्ने रोग अहिलेसम्म केही छैन ।

राशि

वृश्चिक राशि हो मेरो । ग्रहदशामा विश्वास लाग्दैन । तर कहिलेकाहीँ मिलेजस्तो लाग्छ । हेराउने, जुराउने, पूजापाठ मैले कहिल्यै गरिनँ । पहिले पढ्ने बाहेकको कुनै पनि कुरामा ध्यान नभएकाले यसतर्फ लगाव नबसेको हुनसक्छ ।

मृत्यु

मृत्यु एउटा हुनैपर्ने प्रोसेस हो । जीवनको अन्तिम सत्य पनि । जीवनमा मृत्यु अनिवार्य हुन्छ । यसलाई साधारण क्रियाको रूपमा हेर्छु । मृत्यसँग मानिसलाई डर छ । त्यो पनि स्वाभाविक हो । हामी डाक्टरले धेरैका मृत्यु देखेको हुनाले खासै डर लाग्दैन ।

डाक्टरको नजरबाट भन्ने हो भने काम गर्ने क्षमता घट्दै, सेलहरू मर्दै गएर जीवनको अन्त्य हुनु मृत्यु हो । यो हिसाबले भन्ने हो भने कैयौँ कुरामा मेरो मृत्यु भइसकेको छ । त्यो पूर्ण बिराममा छैन र हिँडडुल गर्दैछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप