शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युगको हाँक

शनिबार, २६ असार २०७८, १० : ०२
शनिबार, २६ असार २०७८

 

 

टङ्कमणि अधिकारी

यहाँ फुलेनन् फूलहरू
रोइरहेछन् झ्याउँकीरीहरू 
झरीले बगाइरहेछन् पहाडहरू 
बगैँचा बगर भएका छन्
आँसुहरू रित्तिएर झर्न सकेका छैनन् 
पानीका मुहानहरू 
रगतझैँ राताम्य भएका छन् 
पिउन सकिरहेको छैन प्यासले 
तिर्खा बाँझो भएको छ 
सुन्दरीहरू 
लालिमाविहीन भएका छन् 
भवराहरू 
पराग छाड्न असमर्थ छन् फूलमा !
          
साँझ रोइरहेछ, बिहान रोइरहेछ 
ओछ्यान उठ्न छोडिसक्यो उषामा 
ओछ्यान निर्जीव भएको छ 
वर्तमान कहालीलाग्दो छ 
समय निदाइरहेको छ  
मसानतुल्य जिन्दगी 
पटक पटक जिउँदै जलिरहेको छ 
बेहोसीमा 
वर्तन रित्तिँदो खस्कँदो निभ्दो दियोझैँ !

घामका किरणहरू, जूनका शीतलहरू 
निष्प्राण देखेर 
मनहरू अत्तालिएका छन् 
डुबिरहेको सागर हेरेर 
वर्तमान नियास्रिरहेको छ 
अस्तित्वको वेदीमा 
समय लम्पसार परेको देखेर !
शून्यता पर्गेल्दैनन् ठालुहरू 
निस्फिक्री चुमिरहेका छन् 
अर्धनिद्रामा महलका निरोका बाँसुरीहरू 
र बजाइरहेछन् ह्विस्की, सेकुवा तन्दुरीहरू !
                
सहाराविहीन थाकका थाक मान्छेहरू 
भोक चुसेर रोगसँग लडिरहेका छन् 
एक धरो वस्त्र बेर्न नपाएर 
अर्धनग्न सडकपेटीमा 
तुसारो तापिरहेछन्, मनवतावादी संसारमा 
मानवताको दुहाइ बेच्ने ठगहरू 
उग्राइरहेछन्, आणविक भट्टीहरू चेपेर 
नरसंहारको सम्भावित दाउ हेरेर !
              

यस्ता मूर्धन्य निराशाहरू चेपेर 
भो ! अब बाँच्न सक्तैन भूगोल 
आशाका मसाल लिएर निस्क 
ओ ! भुइँमान्छेहरू हो ! 
भोक, रोग, शोकहरूको छाला काढ्न 
र, पशुतुल्य नरपिसाचहरूको अन्त्येष्टिमा
मनवताको विराट् विश्व उचाल्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप