शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूपूहरूले कब्जा गरे मन्त्री क्वार्टर !

कोही भन्छन्– २८ गतेसम्म त बस्न पाइएला नि
शनिबार, २६ असार २०७८, ०९ : २२
शनिबार, २६ असार २०७८


ललितपुरको पुल्चोकमा मन्त्रीहरु बस्ने सरकारी क्वार्टरहरू छन् । यति बेला ओली सरकारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री बाहेक चार जना मात्रै मन्त्री छन् । तर, पुल्चोकको मन्त्री निवासमा प्रहरीको पहरा क्रस गरेर भित्र छिर्ने हो भने अहिले पनि दर्जनौँ ‘माननीय मन्त्रीहरू’ देख्न सकिन्छ ।

मन्त्री निवासको मूल गेटमा पहरा दिने सुरक्षाकर्मीहरू भूपू मन्त्रीहरूका गाडी नम्बर र नातागोतालाई इन्ट्री गराउँदैमा हैरान बनेका छन् । मन्त्री क्वार्टरभित्रको भिडभाड, होहल्ला र बरन्डामा सुकाइएका कपडाहरू हेर्दा अझै पनि देशमा दर्जनौँ मन्त्रीहरू रहेको भान हुन्छ ।    

प्रतिनिधिसभा विघटनपछि कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले असार ८ गते विस्तारित मन्त्रिपरिषद्लाई काम गर्न नदिन अन्तरिम आदेश जारी गर्‍यो । अन्तरिम आदेश जारी भए लगत्तै जेठ २१ र २७ गते बिस्तार गरिएको मन्त्रिपरिषद्का मन्त्रीहरूको पद निष्क्रिय भयो । अर्थात् सर्वोच्चको आदेशले उनीहरू पदमुक्त भए । सिंहदरबार सुनसान भयो, तर मन्त्री निवास सुनसान हुन सकेन ।

प्रतिनिधिसभा विघटन गरी कामचलाउ भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले काम गर्न नदिन अन्तरिम आदेश दिएका थिए । उक्त आदेशपछि मन्त्री पदबाट पदमुक्त भए पनि केही मन्त्रीहरूले भने अझैसम्म पनि मन्त्री क्वार्टर कब्जा गरेर बसेका छन् ।

हालसम्म पनि मन्त्री क्वार्टर छाडेको जानकारी नदिने र सामान नबुझाउने पूर्वमन्त्रीहरुमा तत्कालीन स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग तथा वाणिज्य मन्त्री राजकिशोर यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दाकुमारी चौधरी, खानेपानी तथा सरसफाइ मन्त्री अनिलकुमार झा, वन तथा वातावरण मन्त्री नारदमुनि राना र श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तव छन् ।

मन्त्री भएकाहरूलाई क्वार्टरको व्यवस्था गराउने जिम्मा लिएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार अहिले पनि मन्त्री पदमा कायम नरहेका ७ जनाले क्वार्टर छाडेका छैनन् । केहीले क्वार्टरमा आफ्नो सामान राखेर ताला लगाएका छन् भने केही पूर्व मन्त्रीका आफन्त र केही पूर्वमन्त्रीहरु आफै पुल्चोकस्थित मन्त्री क्वार्टरमा बसिरहेका छन् ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, मन्त्री आवास तथा भवन निर्माण शाखाले तत्कालीन कृषि तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साहलाई सी–५, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेर बहादुर तामाङलाई डी–५, उद्योग तथा वाणिज्य मन्त्री राजकिशोर यादवलाई डी–२, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दाकुमारी चौधरीलाई ए–५, खानेपानी तथा सरसफाइ मन्त्री अनिलकुमार झालाई ए–४, वन तथा वातावरण मन्त्री नारदमुनि रानालाई सी–४ र श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तवलाई बी–१ क्वार्टर उपलब्ध गराएको थियो ।

अन्य मन्त्रीहरूले मन्त्री पदबाट हटे लगत्तै क्वार्टर छाडेका भए पनि यी मन्त्रीहरूले भने अझैसम्म पनि मन्त्री क्वार्टर छाडेका छैनन् ।

घरधनीले त ३५ दिनको समय दिन्छ, हामी त ... : ज्वालाकुमारी साह

सी–५ क्वार्टर लिएर बसेकी तत्कालीन कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले अझै पनि पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेकी छैनन् । शुक्रबार रातोपाटी पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुग्दा मन्त्री क्वार्टरको गेटमा अझै पनि उनको नेमप्लेट थियो– मा. ज्वालाकुमारी साह, मन्त्री, कृषि तथा पशुपंक्षी विकास ।

जबकि उनको मन्त्री पद खुस्केको शुक्रबार १८ औँ दिन थियो । क्वार्टरको गेटमा नेपाली सेनाको सुरक्षा त थिएन, तर बन्द गरिएको गेटको भित्रपट्टि मानिसहरूको चहलपहल थियो । क्वार्टरको बार्दलीमा लुगा सुकाइएको थियो ।

रातोपाटीले साहलाई सम्पर्क गरी क्वार्टर छाड्नुभयो कि छैन भनेर सोध्दा उनले घरधनीले त ३५ दिनको समय दिन्छ, हामी त अझ ... (माननीय भन्न खोजिएको) भन्ने प्रतिक्रिया दिइन् । आफूहरूले अहिले पनि कोठा खोजिरहेको भन्दै कोठा नपाएकाले सर्न नसकिएको प्रतिक्रिया दिइन् ।

कानुनले नै १५ दिनको म्याद दिन्छ, आज त १८ औँ दिन हो नि भनेर रातोपाटीले प्रतिप्रश्न गर्दा उनले एक÷दुई दिनको के कुरा भयो र भन्दै कोठा पाउने बित्तिकै क्वार्टर छाड्ने प्रतिक्रिया दिइन् । सरकारी गाडी भने आफू मन्त्री पदबाट हटे लगत्तै फिर्ता गरेको साहले बताइन् ।

सामान सार्न मन्त्रालयले गाडी नै दिएन : चन्दाकुमारी चौधरी

पुल्चोकस्थित मन्त्री क्वार्टरको ब्लक नम्बर ए–५ पाएकी तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दाकुमारी चौधरीले पनि अहिलेसम्म मन्त्री क्वार्टर छाडेकी छैनन् ।

शुक्रबार रातोपाटीले मन्त्री क्वार्टर छाड्नुभयो कि त्यहीँ हुनुहुन्छ भनेर सोध्दा सुरुमा उनले क्वार्टर छाडिसकेको बताइन् ।

उनले पहिले भनिन्, ‘क्वार्टर छाडिसकेँ । अलिअलि सामान थियो । त्यो पनि हिजो ल्याइसकेँ ।’ तर जति बेला पूर्वमन्त्री चौधरीले क्वार्टर छाडिसकेँ भनेकी थिइन्, त्यति बेला पनि पुल्चोकस्थित उनले लिएको मन्त्री क्वार्टर ‘अकुपाइड’ थियो । अर्थात् उनको क्वार्टरमा मानिसहरू बसिरहेका थिए र क्वार्टरको बार्दलीमा कपडा धोएर सुकाइएको थियो ।

‘छोडेँ भन्नुभयो, तर आज त अकुपाइड नै थियो त ?’ भनेपछि बल्ल उनले आज ‘फाइनल्ली’ आइसकेको बताइन् । उनले भनिन्, ‘होइन, केही सामानहरू थियो, त्यो पनि ल्याइसकेँ र आज त हामी फाइनल्ली आइसक्यौँ ।’ यति भनेर उनले फोन काटिन् ।

फोन काटेको ३ मिनेटपछि के सम्झिएर हो, उनी आफैले फोन गरिन् । अनि ‘म त्यहाँ बसेको तपाईँलाई कसले भनेको हो ?’ भनेर प्रश्न गरिन् । मिडिया हो, सूचना आइहाल्छ नि भनेपछि उनले मान्छे त थिएन होला, केही सामानचाहिँ बाँकी थियो भन्ने प्रतिक्रिया दिइन् ।

तर, त्यहाँ मान्छे पनि रहेको र कपडा धोएर सुकाइएको देखिएको बताएपछि बल्ल उनले काम गर्ने मान्छेहरू थिए, उनीहरू पनि अब निस्कन्छन् भन्ने प्रतिक्रिया दिइन् । ‘चौधरीले भनिन्, ‘सामानहरू थियो, काम गर्ने मान्छेहरू छन् । अब आज सबै सामान ल्याउँछ । मैले भनिसकेँ त अब सबै सामान ल्याउँछ भनेर ।’

चौधरीले आफूलाई मन्त्रालयले गाडी नदिएको कारण क्वार्टर छाड्न नपाएको बताइन् । उनले भनिन्, ‘गाडी नभएर सामान ल्याउन नपाएको हो । सामान अझै पनि अलिअलि छ, मान्छे कोही छैन ।’

उनले अगाडि भनिन्, ‘डेरा सार्नका लागि महिला मन्त्रालयको गाडी पनि मागे, सहरी विकास मन्त्रालयको गाडी पनि मागे । तर, उनीहरूले दिएनन् । गाडी नभएको कारण सामान ल्याउन पाएको थिइनँ । त्यो पनि केही हिजो ल्याइसकेँ केही ल्याउँदैछु र केही बुझाइसकेँ ।’

आफ्नो पहिलेको डेरा सानो भएको कारण अर्को डेरा पनि खोजिरहेको तर नपाएको कारण ढिलो भएको पनि बताइन् । डेरामा सामान राख्न अप्ठेरो हुने भएकाले नयाँ डेरा खोजिरहेको पनि उनले बताइन् । स्मरणीय छ, उनी मात्रै १७ दिन मन्त्री बनेकी थिइन् ।

को बसेको छ ? थाहा छैन : राजकिशोर यादव

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका राजकिशोर यादवलाई आवास तथा भवन निर्माण शाखाले डी–२ क्वार्टर उपलब्ध गराएको थियो । शुक्रबार रातोपाटीका पत्रकार मन्त्री क्वार्टरमा पुग्दा यादवको क्वार्टरको गेट खुल्लै थियो । भित्र पुग्दा क्वार्टरभित्रबाट धेरै मानिसहरू होहल्ला गरिरहेको आवाज प्रस्ट सुनिन्थ्यो । क्वार्टरको बार्दलीमा पनि कपडा सुकाइएको थियो ।

त्यसपछि रातोपाटीले सम्पर्क गरी क्वार्टर छाड्नुभयो कि छैन भनेर सोध्दा उनले आफूले क्वार्टर नै नलिएको बताए । उनले भने, ‘म मन्त्री क्वार्टरमा बस्नै गएको छैन । क्वार्टर नै नगएपछि त छाड्ने कुरा नै भएन ।’

तर, तपाईंको नेमप्लेट राखिएको डी–२ क्वार्टरमा आज टन्नै मानिसहरू थिए त, भित्रबाट होहल्ला पनि आएको थियो भनेपछि उनले आफू औपचारिकरुपमा क्वार्टर नगएको बताए । औपचारिक भनेको चाहिँ कस्तो हो भन्ने प्रश्न गरेपछि उनले फेरि दोहोर्याए, ‘म औपचारिकरुपमा गएको छैन, छोड्ने कुरा कहाँबाट आयो र ? गएकै छैन त के छाड्ने ? उनीहरू को हुन्, मलाई थाहा छैन ।’

२८ गतेसम्म त बस्न पाइएला नि : नारदमुनि राना

वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका नारदमुनि रानालाई पुल्चोकस्थित क्वार्टरमा सी–४ क्वार्टर उपलब्ध गराइएको थियो । तर उनले पनि हालसम्म क्वार्टर छाडेका छैनन् । शुक्रबार रातोपाटी टोली क्वार्टर पुग्दा क्वार्टरको गेट खुल्लै थियो । यद्यपि नेमप्लेटमा भने ‘बाहिर’ लेखिएको थियो ।

क्वार्टर अझै छाड्नुभएको छैन हो भन्ने रातोपाटीको प्रश्नमा उनले असार २८ गतेसम्म बस्न पाइने जिकिर गरे । रानाले भने, ‘अदालतले हामीलाई काम गर्न नदिनू भनेको हो, बर्खास्त गरेको होइन । त्यसकारण अदालतको फैसलासम्म त हामी बस्न पाउने होला नि ।’

तर, मन्त्री पदमा बहाल नरहेको व्यक्तिले १५ दिनभित्र क्वार्टर छाड्नुपर्ने बारे कुरा गरेपछि उनले आदि सामान सारिसकेको र बाँकी सामान पनि सार्ने तरखरमा रहेको बताए । उनले भने, ‘आदि सामान सारिसकेको छु । आदि सामान पनि सार्ने तरखरमा छु । तर, कोठा पाएको छैन । कोठा खोजेर सर्ने तरखरमा छु । अब सबै सामान सार्ने कि नसार्ने भन्ने कुराचाहिँ असार २८ गतेपछि मात्रै थाहा हुन्छ ।’

खानेपानी मन्त्रीले क्वार्टरमा ताला लगाएर गए

ए–४ क्वार्टर लिएर बसेका तत्कालीन खानेपानी तथा सरसफाइ मन्त्री अनिलकुमार झाको क्वार्टरमा ताला लागेको छ । मन्त्री आवास तथा भवन निर्माण शाखाका अनुसार उनलाई दिइएको क्वार्टरको सामान सारिएको छैन र ताला लगाएर राखिएको छ । ए–४ क्वार्टरको गेटमा अहिले पनि ताला लागेको देख्न सकिन्छ ।

श्रममन्त्रीले पनि बुझाएनन् क्वार्टर

बी–१ क्वार्टर लिएर बसेका तत्कालीन श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तव अहिले क्वार्टरमा त बस्दैनन्, तर पनि उनले क्वार्टर फिर्ता भने गरेका छैनन् । उनले क्वार्टर छाडेर बुझबुझारथ गर्नुपर्ने भए पनि उनी सामान नबुझाई क्वार्टरमा ताला लगाएर हिँडेका छन् । यस विषयमा उनीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

८ गते नै छाडेको हुँ, कसलाई बुझाउनुपर्ने हो र क्वार्टर : शेरबहादुर तामाङ

तत्कालीन स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले मन्त्री पद खुस्केको भोलिपल्ट नै आफूले क्वार्टर छाडिसकेको बताएका थिए । तर, मन्त्री आवास तथा भवन निर्माण शाखाले भने तामाङले क्वार्टर हस्तान्तरण नगरेको बताएको छ ।

यस विषयमा तामाङसँग बुझ्दा उनले आफूले मन्त्री पद खुस्केलगत्तै क्वार्टर छाडेर गएको भन्दै यो समाचार झूटो भएको बताए । उनले भने, ‘मैले सोही दिन क्वार्टर छाडेको हुँ । अब कुन चाहिँ कर्मचारीलाई हस्तान्तरण गर्नुपर्ने हो, थाहा भएन । कि मन्त्री आफै फाइल बोकेर सुब्बाकोमा जानुपर्ने हो भने छुट्टै कुरा । जानुपर्ने रहेछ भने म भोलि जाउँला । नत्र मैले पहिले नै छाडिसकेको हो । सरकारी संयन्त्रको कमजोरीको दोष मलाई नदिनुहोला ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप