शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रले हाले महन्थलाई अर्को घेरा : हरिनारायण यादवले दर्ता गराए राजपा

शनिबार, २६ असार २०७८, ०७ : ४९
शनिबार, २६ असार २०७८

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका हुन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादवलाई जाने सम्भावना बढेपछि महन्थ ठाकुर पक्षका नेताहरुले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेका थिए । त्यसको लागि कागजातहरु तयारी गरिरहेका थिए ।

यसबीचमा यादवले बाजी मारे । महन्थ ठाकुरलाई जसपा नदिने र उनको पूर्व पार्टी राजपा पनि रहन नदिने भन्दै हरिनारायण यादवको नामबाट अध्यक्ष उपेन्द्रले शुक्रबार राजपा नेपाल दर्ता गर्न लगाएको स्रोतको दाबी छ ।

समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । २०७७ असार २४ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । एकीकृत भएको पार्टी एक वर्षसम्म कसैले दर्ता गराउन नपाउने प्रावधान रहेको छ । हिजो एक वर्ष पुरा नहुने वित्तिकै उपेन्द्र यादवले हरिनारायण यादवलाई अध्यक्ष राखेर राजपा दर्ता गराएका हुन् ।

उपेन्द्र यादव निकट एक नेताले भने,  ‘हरिनारायण यादव जसपाकै कार्यकर्ता हुनुहुन्छ उहाँलाई भनेर पार्टी दर्ता गर्न लगाएको हो ।’ 

तर हरिनारायण यादवले उपेन्द्र यादवले भनेर पार्टी दर्ता नगराएको बताए । उनी भन्छन्, ‘मलाई कसैले भनेर पार्टी दर्ता गराएको होइन, हामी केही साथी मिलेर मधेशमा नयाँ ढंगको राजनीति विकास गर्न यो पार्टी दर्ता गराएको हुँ ।’

आफू जसपाको कार्यकर्ता भएको नाताले कतिपयले उपेन्द्र यादवले नै यो पार्टी दर्ता गराउन लगाएको भनि आरोप लगाएपनि त्यसमा कुनै सत्यता नरहेको उनले दावी गरे ।

मधेशमा राजपाको पहिचान बनिसकेकाले आफूले सो पार्टी रोजेको बताउँदै उनले आफूहरुले मधेशमा केही नयाँ गर्नका लागि दर्ता गराएको बताए । अहिलेका मधेसवादी दलहरुले मधेशी जनतालाई भ्रममा राखेर राजनीति गरिरहेको आरोप लगाउँदै अब राजपाले नयाँ ढंगको राजनीतिक गर्ने उनको भनाइ छ ।

अहिले एकजना अध्यक्ष सहित २१ सदस्यीय कार्यसमिति बनाइएको भन्दै यसलाई विस्तारै विस्तार गर्दै जाने हरिनारायणले बताए ।

राजपा हरिनारायण यादवको नाममा दर्ता भएपछि जसपाको आधिकारिकता नपाएको अवस्थामा महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गराउनुपर्ने हुन्छ । राजपाको छाता छाप जसपासँग छ । राजपाको चुनाव चिन्हका लागि पञ्जा छाप माग गरिएको छ ।

को हुन् हरिनारायण यादव ?

हरिनारायण यादव पूर्व संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का सदस्य हुन् । उनी मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवको साथमा काम गर्दै आइरहेका थिए । मधेश आन्दोलनका चिरपरिचित नाम हो हरिनारायण यादव ।

उनी पछिल्लो समय तत्कालिन समाजवादी पार्टीको प्रदेश २ समितिको कार्यसमितिमा सदस्यका लागि चुनाव लडेका थिए तर उनी चुनाव हारेका थिए । प्रदेश समितिमा चुनाव हारेपछि पार्टीको कुनै पोस्टमा गएनन् ।

 उनी निश्कृय जस्तै थिए । जसपा नेपाल बनेपछि समायोजनको क्रममा उसलाई पार्टीमा कुनै जिम्मेवारी दिने तयारी भइरहेको थियो । 

उनी उपेन्द्र यादवकै सम्पर्कमा थिए । उनी धनुषा लक्ष्मीनिया गाउँपालिका सोहनीका बासिन्दा हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप