आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने

शुक्रबार, २५ असार २०७८, १८ : ४९
शुक्रबार, २५ असार २०७८

नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने भएको छ । शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै नेपालका लागि भारतीय रेलसेवा प्रयोग गर्ने बाटो खुलेको हो । 
सम्झौताअनुसार नेपाल र भारतबीच ओसारपसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतीय बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाइनेछ । सम्झौतापत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोेहातीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापत्रमा सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी बोकेका रेल, विशेष मालसामान बोकेका रेल वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य ढुवानी सञ्चालकसहित सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले नेपाल आउने कन्टेनरहरु प्रयोग गर्न पाउने उल्लेख छ ।

यो सम्झौतासँगै मापदण्ड र प्रक्रिया पुगेका नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका माल डिब्बाहरूले भारतीय रेल सञ्जालमार्फत (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउने भएका छन् ।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्न भारतका थुप्रै प्रयासहरुमध्ये यो अर्को एउटा प्रयास भएका नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सहसचिव तीर्थराज वाग्ले उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप