आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र छापामार शैलीमा चलिरहेको पार्टी हो :  टोपबहादुर रायमाझी

शुक्रबार, २५ असार २०७८, २१ : ००
शुक्रबार, २५ असार २०७८

नेकपा (माओवादी केन्द्र) का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रवार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरुसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन् । उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताए ।

उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे । उनले भने– ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन ।’ 

उनले थप भने, ‘एमाले, माओवादीको एकतालाई शून्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुन संगत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने दाबी पनि गरे । राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि  स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए । 

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप