शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साना मझौला व्यवसायलाई समेट्ने मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीको माग

शुक्रबार, २५ असार २०७८, १२ : १०
शुक्रबार, २५ असार २०७८

चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट पर्यटन व्यवसायीहरूले अपेक्षित लाभ लिन नसकेको भन्दै पर्यटन व्यवसायीहरूले अहिले सबै खालका व्यवसायीहरूले राहत तथा सहुलियत महसुस गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैङ्कसँग आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको सुझाव विषयक भर्चुअल अन्तरक्रियामा उनीहरूले यस्तो माग गरेका हुन् । 

अन्य क्षेत्र चलायमान हुन समेत पर्यटन क्षेत्र चलायमान हुनु पर्ने बताउँदै व्यवसायीहरूले सो क्षेत्रका साना तथा मझौला व्यवसायीहरूलाई समेत समेट्ने गरी मौद्रिक नीति ल्याउन बैङ्कसँग आग्रह गरेका हुन् ।

कार्यक्रममा व्यवसायीका सुझाव तथा मौद्रिक नीतिका बारेमा धारणा राख्दै नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले विगतको मौद्रिक नीतिले धेरै व्यवसायीलाई सहयोग पुगे पनि रकमको सीमितताको कारण र कतिपय कार्यविधिगत जटिलताको कारण सबैले त्यसबाट राहत लिन नसकेको बताए ।

उनले कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएको र यसलाई उच्च प्राथमिकतामा राखिएकोले नयाँ मौद्रिक नीतिले व्यवसायीहरूका माग सम्बोधन गर्ने धारणा राखे । यद्यपि बैङ्क तथा वित्तीय संस्थाहरूका पनि आआफ्नै सीमितता र कार्यविधि हुने हुनाले त्यसलाई पालना गरेर मात्र ऋण दिन सकिने उनले बताए ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले अन्य क्षेत्र चलायमान हुन पनि यो क्षेत्र चलायमान हुन आवश्यक रहेकोले सबै व्यवसायीहरूले राहत र सहुलियत पाउने गरी मौद्रिक नीति आउनु पर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मौद्रिक नीतिमा पर्यटन व्यवसायलाई उच्च प्राथमिकतामा राखिएन भने यो क्षेत्रबाट धेरै व्यवसायी र मजदुरहरू पलायन हुन सक्ने बताए । उनले अप्ठ्यारो परेको बेला नै सहयोग भएन भने अरू समयको सहयोगले अर्थ नराख्ने भन्दै अप्ठ्यारोमा परेको व्यवसायी र मजदुरलाई बचाउने जिम्मा पनि सरकार र राष्ट्र बैकको भएको बताए ।

यस्तै बोर्डका सदस्य कृष्ण शाहले पर्यटन प्रवर्द्धन, ऋण र ब्याजमा सहुलियत हुने गरी मौद्रिक नीति आउनु पर्ने बताए । उनले भारतीय पर्यटक आगमन बढाउन नेपालमा भारतीय पाँच सय, हजार र दुई हजारको मुद्रा चलाउने विषयमा पहल गर्न सुझाव दिए । यस्तै अर्का बोर्ड सदस्य पम्फा पौडेल धमलाले विगतको मौद्रिक नीतिबाट साना तथा मझौला व्यवसायीले लाभ लिन नसकेकोले अहिलेको मौद्रिक नीतिले त्यस्ता व्यवसायीका माग सम्बोधन गर्ने अपेक्षा गरेको बताइन ।   

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले व्यवसायी कोभिडले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भए पनि यो क्षेत्रले पर्याप्त राहत तथा सुविधा पाउन नसकेको धारणा राख्दै व्यवसायीको जायज मागलाई सम्बोधन गर्न आवश्यक भएको बताए । 

उनले  पर्यटनलाई चलायमान बनाउन  सके अन्य क्षेत्र समेत चलायमान हुने भन्दै यो क्षेत्रलाई बचाउनु अहिलेको प्राथमिकता हुनु पर्ने धारणा राखे ।  बोर्डका निर्देशक सन्तोष पन्तले सबै व्यवसायीहरूका मागहरूलाई समेटेर बोर्डले मन्त्रालयमा पेस गरिसकेको जानकारी दिँदै सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा तथा ब्याज सहुलियतका विषय सम्बोधन हुन सके यो क्षेत्रले गति लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप