आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री जेनीले किन रोजिन् आत्महत्या ?

शुक्रबार, २५ असार २०७८, ११ : २७
शुक्रबार, २५ असार २०७८

अभिनेत्री जेनी कुँवर बिहिबार यो संसारबाट सदैका लागि बिदा भएकी हुन् । थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवास राति करिब ९ बजे आत्महत्या गरेर मृत्य रोजेकी छिन् ।

प्रहरीका अनुसार उनको शव झुण्डिरहेको अवस्थामा फेला पारिएको हो । शव उनको आफ्नै निवासको भान्सा कोठामा फेला परेको थियो । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनले आत्महत्या गरेको खुलेको छ । घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ । जसबाट उनले आत्महत्या रोज्नुको कारण डिप्रेसन रहेको बताइन्छ ।

​घटनास्थलमा भेटिएको सुसाइड नोटमा पनि उनले आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै मृत्युमा कसैलाई दोष नदिन र आफ्नै हिसाबले मृत्यु रोजेको भनेकी छन् ।

‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ । पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैले गरेको हो,’ नोटमा अगाडि भनिएको छ, ‘यसमा कसैको दोष छैन ।’

श्रीमान्सँग बस्दै आएकी उनले श्रीमान् अपार्टमेन्टमा नभएको बेलामा आत्महत्या रोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका थिए ।

एकसमय फिल्ममा राम्रै जमेकी जेनीले पछिल्ला केही वर्षदेखि डिप्रेशनको औषधि समेत सेवन गर्दै आएको बताइन्छ ।

२०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’नामक सिरियलबाट अभिनयमा डेब्यु गरेकी कुवँरले फिल्ममा भने ‘जिन्दगानी’बाट डेब्यु गरेकी थिइन् । मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिव दर्जन फिल्म उनले अभिनय गरेकी छन् ।

‘हलचल’ र ‘घायल’ नामक दुई फिल्म समेत निर्माण गरेकी उनी फिल्म निर्माण र अभिनयको अलवा उनले सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी छन् । केही म्युजिक भिडियो निर्देशन समेत गरेकी उनले गीत समेत गाएकी छन् ।

विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी अध्यात्म र ध्यान भन्दै विभिन्न गुरुहरुको खोजीमा हेटौडा लगायत देशको धेरै ठाउँमा रहेको आश्रममा समेत बेला बेला पुग्ने गरेकी थिइन् । सामाजिक क्रियाकलापमा पनि सधैँ अग्रसर रहेकी थिइन् । अभिनयमा जम्दै गर्दा फिल्म निर्माणमा हात बढाएकी कुवँरलाई निर्माणबाट भने घाटा भएको थियो । त्यसपछि उनी फिल्मबाट टाढा भएकी थिइन् । आफुले निर्माण गरेका दुवै फिल्म व्यवसायिक असफल हुनु र बाहिरको फिल्मबाट अफर नमिल्नु उनले धार्मिक तथा आध्यात्मिक मार्ग अपनाउनुको कारण भएको फिल्मकर्मी बताउछन् ।

करिव ६ महिना विपश्यना ध्यान शिविरमा समेत बिताएर फर्किएकी उनको शव पोष्टमार्टमका क्रममा त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । उनको शव मध्यान्न १२ बजेपछि पशुपति आर्यघाटमा अन्तिम श्रदान्जलीका लागि राखिने र त्यसपछि अन्त्येष्टि गरिने नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप