मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको जोखिमकै बीच कामको खोजीमा भारत जानेको लर्को

शुक्रबार, २५ असार २०७८, ०९ : ०२
शुक्रबार, २५ असार २०७८

कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि उनीहरु फेरि कामको खोजीमा भारत जान थालेका हुन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक सरदर तीन हजारको संख्यामा नेपालीहरु भारततर्फ जाने गरेको नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले रातोपाटीलाई बताए ।

हाल यो नाका हुँदै नेपाल भित्रिनेभन्दा भारत जानेको संख्या अत्यधिक रहेको उनको भनाइ छ । उनका अनुसार बिहीबार यो नाकाबाट ४४९ जना नेपाली भित्रिएका छन् भने २ हजार ३९६ जना भारततर्फ प्रस्थान गरेका छन् ।

चैत १ गते यता त्रिनगर भन्सार नाकाबाट ५२ हजार १२५ जना नेपाली नागरिक कामको सिलसिलामा भारततर्फ गएको उनले बताए । यो अवधिमा केही साता निषेधाज्ञाका कारण भन्सार नाका सुनसानजस्तै थियो । त्यतिबेला भारत जानेको संख्या लगभग शून्य रहे पनि पछिल्लो समय दैनिक दुई÷तीन हजारजनाका दरले नेपालीहरु भारततर्फ जाने गरेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइ नेपाल भित्रिनेहरुको ज्वरो मापन तथा शंकास्पदको एन्टिजेन परीक्षणसमेत गर्न थालिएको छ । संक्रमणको दोस्रो लहर सुरु भएपछि यो नाकामा २६ हजार ८४२ को एन्टिजेन परीक्षण गरेकोमा २ हजार ५८४ जनामा कोरोना ‘पोजेटिभ’ पाइएको ठकुल्लाले बताए ।

पछिल्ला दिनमा भारतबाट नेपाल आउनेको संख्या निकै कम रहेको उनले बताए । ‘अहिले त भारतबाट आउनेको संख्या कम छ,’ उनले भने, ‘बरु नेपालबाटै भारत जानेको संख्या बढ्दो छ ।’

हेल्थ डेस्कमा २१ जना खटिएको र उनीहरुले तीन सिफ्टमा काम गर्ने गरेको उनको भनाइ छ ।

बिहान ६ बजेदेखि राति ९ बजेसम्म सिफ्ट मिलाएर काम गर्दै आएको हेल्थ डेस्कका अहेव लोकेन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार भारतबाट आउने नेपालीको एन्टिजेन परीक्षण गर्दा एक÷दुई प्रतिशतमा मात्र कोरोना पोजेटिभ देखिने गरेको छ ।

‘भारत जानु बाध्यता’

बिहीबार त्रिनगर भन्सार नाकाबाट भारत जानेको लर्कोमा सुर्खेतका उज्वल विक पनि सामेल थिए । कोरोनाको कहर भए पनि परिवारको गुजाराका लागि आफू बाध्य भएर भारत जानुपरेको उनको भनाइ छ । ‘नेपालमा काम पाइँदैन,’ उनले भने, ‘परिवार पाल्न बाध्य भएर भारत जान थालेको हुँ ।’

बझाङ्गका ४० वर्षीय सुजन रोकाया पनि कामको खोजीमा दिल्लीतर्फ जाँदै थिए । भारतमा कोरोनाको दोस्रो लहर फैलन थालेसँगै नेपाल फर्किएका उनी तेस्रो लहर आउने चेतावनी दिइरहेकै समयमा फेरि भारततिर जान लागेका हुन् ।

विगतमा आफूले दिल्लीस्थित एउटा होटलमा ‘कुक म्यान’ का रुपमा काम गरेको जनाउँदै उनले कोरोनाको दोस्रो लहरमा लकडाउन भएसँगै रोजगारी गुमेपछि नेपाल फर्किनुपरेको सुनाए । ‘नेपालमा त्यही काम गरेर परिवारको गुजारा चलाउन कठिन हुन्छ,’ उनले भने, ‘तर भारतमा तलब तथा सुविधा राम्रो पाइने भएकाले केही सहज हुन्छ ।’

डोटीको आदर्श गाउँपालिका–१ निवासी ४२ वर्षीय लोकबहादुर खड्का कोरोना महामारीका कारण बेरोजगार भएका छन् । भारतको राजस्थानमा चौकीदारीको काम गर्दै आएका उनी कोरोना महामारीका कारण रोजगारी गुमेपछि नेपाल फर्किएको बताउँछन् ।

अहिले संक्रमण दर घटेका कारण फेरि काम पाइन्छ कि भनेर आफू भारत जान लागेको उनले सुनाए । ‘खेतबारीबाट वर्षभरी खान र परिवारको खर्च चलाउन कठिन हुन्छ,’ उनले भने, ‘उता गएर कमाएको पैसाले नुनतेल र बालबच्चाको पढाइ खर्च चल्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप