बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

२ अर्बको बीमा दाबी

शुक्रबार, २५ असार २०७८, ०७ : २७
शुक्रबार, २५ असार २०७८

देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू. २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ । बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ ।

सम्बद्ध व्यक्ति तथा कम्पनीबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी पेश नभएको पनि हुन सक्छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ ।

यसरी परेको कुल बीमा दाबीमध्ये सबैभन्दा बढी इन्जिनीयरिङ बीमामा परेको छ । इन्जिनीयरिङतर्फ कुल रू. १ अर्ब १२ करोड १४ लाख ७३ हजारको दाबी परेको छ ।

त्यसमध्ये बाढीका कारण क्षति ग्रस्त भएका १०७ ओटा निर्माणाधीन आयोजनाबाट रू. ९० करोड ७ लाख ३४ हजारको बीमा दाबी परेको छ । निर्माण सम्पन्न भएका ८ ओटा आयोजनाबाट रू. ११ करोड ७० लाखको दाबी परेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप