बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा साउन ५ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारीमा जोरबिजोर कायमै

बिहीबार, २४ असार २०७८, २२ : ३५
बिहीबार, २४ असार २०७८

कास्कीमा साउन ५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दरमा केही कमी आएको भएपनि अपेक्षाकृत नियन्त्रण नभएकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्मका लागि थप गरेको हो ।

कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक केहि खुकुलो बनाएको छ । यसअघि जारी गरिएको निषेधाज्ञामा सार्वजनिक सवारीहरू जोर बिजोर प्रणालीमा चलाउने र पसल ब्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गराउन अनुमति दिएको थियो । अब भने पसल ब्यवसाय बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म खोल्न पाउनेगरी निषेधाज्ञा थपिएको छ ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर जोरबिजोर प्रणालीमा भाडाका सवारी सञ्चालन गर्न र ब्यवसाय विहान ५ देखि साँझ ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थालेश्वर गौतमले जनाकारी दिए । 

एनका अनुसार असार २५ गते राति १२ बजेबाट लागू हुनेगरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्रमात्र जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी सञ्चालन हुनेछन् । त्यसैगरी निजी सवारी साधन पनि अहिले जस्तै जोर बिजोरका आधारमा सञ्चालन हुने छन् ।

निजी सवारी साधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने छन् । साना निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ । 

सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्डहरु पुरा गरेर सञ्चालन गर्न प्रशासनले आदेश दिएको छ । प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यसअघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, होटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकूद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, व्यूटीपार्लर, शैलुन र फुटपाथ पसल लगायतका सेवा खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यसैगरी सबै प्रकारका शैक्षिक संस्थाहरु भौतिक रुपमा उपस्थित भएर सञ्चालन नगरी अनलाइन रुपमा सञ्चालन गर्न सकिने भएको छ । विवाह, ब्रतबन्ध एवम् संस्कार जन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा सञ्चालन गर्न नपाइने भएको छ । 

पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १५ जनाभन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृत्यु संस्कार बाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । 

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्धतिबाट लागू गर्न प्रशासनले आग्रह गरेको छ ।

कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । असार २५ गते मध्यरातसम्म कायम निषेधाज्ञामा पुनः समय  थप गरी साउन ५ गतेसम्म पुर्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप