बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमालेको वार्ता प्रगति शून्य, अदालतलाई प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप

बिहीबार, २४ असार २०७८, २० : ३६
बिहीबार, २४ असार २०७८

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । 
यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए । ‘भोलि शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ । 

तर, नेता घनश्याम भुसालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यहीँ छौं । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर, विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाइ छ ।

यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले रातोपाटीसँग भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’

ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ । आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको  नेपाल पक्षका नेताले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप