शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा बढ्यो सम्बन्धविच्छेद, करणी उद्योग र चोरीमा भने केही कमी

बिहीबार, २४ असार २०७८, १७ : ३६
बिहीबार, २४ असार २०७८

ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा बढ्दै गएको छ । बढ्दो पारिवारिक वेमेलका कारण विवाह गरेको २ महिनादेखि विवाह भएको ५५ वर्षपछि पनि सम्बन्धविच्छेदका लागि मुद्दा परेको पाइएको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले मुलुकी फौजदारी संहिता लागू भएपछि हालसम्म सम्बन्धविच्छेदका लागि १ हजार २ सय ७ वटा मुद्दा दर्ता भएको बताए ।

२०७५ साल भदौ १ गतेदेखि २०७८ असार २४ गतेसम्म परेको सम्बन्धविच्छेदको मुद्दामध्ये करिब ८० प्रतिशत मुद्दा फर्सौट भएका छन् ।

पाण्डेयका अनुसार अदालतमा गत आर्थिक वर्षमा ३३६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा २३१ वटा मुद्दा फर्सौट भइसकेका छन् । १०५ थान मुद्दा भने जिम्मेवारी सरेर यस आर्थिक वर्षमा आएको थियो ।

 जिम्मेवारी सरेकोमध्ये ६७ थान मुद्दा फैसला भइसकेका छन् भने ३८ थान मुद्दा चालु अवस्थामा रहेका छन् । 

यस आर्थिक वर्षमा गत वर्षभन्दा पनि बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा यस आर्थिक वर्षमा ४४१ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २६९ थान मुद्दा फर्सौट भइसकेका छन् भने १७२ थान मुद्दा चालु अवस्थामा रहेका छन् । यस आर्थिक वर्ष सकिन अझै एक साता रहेको भएपनि गत आर्थिक वर्षभन्दा हालसम्म ३१ दशमलब २५ प्रतिशतले सम्बन्धविच्छेदको मुद्दा बढेको पाण्डेयले बताए ।

करणी उद्योगका मुद्दामा कमी

अदालतमा करणी उद्योगका मुद्दामा भने केही कमी आएको छ । मुलुकी फौजदारी संहिता लागू भएपछि (२०७५ भदौ १ गतेदेखि) हालसम्म १६७ थान करणी उद्योगका मुद्दा दर्ता भएका छन् । जसमध्ये ११२ थान मुद्दा फर्सौट भइसकेका छन् भने ५५ थान मुद्दा चालु अवस्थामा रहेका छन् ।

आर्थिक वर्ष २०७६७७ मा जम्मा ६६ थान करणी उद्योगका मुद्दा दर्ता भएकामा ५० थान मुद्दा फर्सौट भएका छन् भने १६ थान चालु अवस्थामा रहेका छन् ।

यस आर्थिक वर्षमा भने करणी उद्योगको मुद्दामा सामान्य कमी आएको छ । यस आर्थिक वर्षको असार २४ गतेसम्म करणी उद्योगमा ५९ थान मुद्दा दर्ता भएका छन् । ५९ थान मुद्दामध्ये २० वटा मुद्दा फर्सौट भइसकेका छन् भने ३९ वटा चालु अवस्थामा रहेका छन् ।

त्यसैगरी २०७५ भदौ १ गते हालसम्म अदालतमा ३२७ वटा डाँका चोरीका मुद्दा दर्ता भएका छन् जसमध्ये २५३ वटा मुद्दा फर्सौट भइसकेका छन् भने ७४ थान मुद्दा चालु अवस्थामा रहेका छन् ।

गत आर्थिक वर्षमा ललितपुरमा १०९ वटा डाँका चोरीका मुद्दा परेकामा यस आर्थिक वर्षमा भने ९६ वटा मात्रै यस्ता मुद्दा परेका छन् । गतवर्ष दर्ता भएका १०९ थान मुद्दामध्ये ९१ थान मुद्दा फर्सौट भइसकेका छन् । त्यसैगरी यस आर्थिक वर्षमा दर्ता भएका ९६ थान डाँकाचोरीका मुद्दामध्ये ४३ थान फर्सौट भइसकेका छन् भने ५३ थान मुद्दा चालु अवस्थामा रहेका छन् ।

अदालतमा दर्ता हुने मुद्दामध्ये धेरैजसो मुद्दा अंश मागदाबी र सम्बन्धविच्छेदका मुद्दा आउने गरेका छन् । कतिपय मुद्दा सम्बन्धविच्छेद र अंश दाबी जोडिएरै आउने गरेका भन् भने केही मुद्दा अंश र सम्पत्ति विवादमा आउने गरेका छन् ।

मिसिल डिजिटलाइज्ड गरिँदै

ललितपुर जिल्ला अदालतले आफ्ना मिसिल र फैसलाहरुलाई डिजिटाइज गर्ने क्रममा तीब्र प्रगति गरेको देखिएको छ । अदालतको अभिलेख शाखामा ६८ हजार १४८ थान मिसिल रहेकामा ६६ हजार ६६३ थान मिसिल कम्प्युटरमा इन्ट्री गरि सकिएको अदालतले जनाएको छ ।

कम्प्युटरमा इन्ट्री गराइसकिएका मिसिलमध्ये ५ वर्ष पुराना ५३ हजार २६९ थान मिसिल धुल्याइएको छ । ११ हजार ६६२ थान मिसिलहरुलाई पूर्णरुपमा स्क्यान गरी कम्प्युटर सिस्टम र देशैभरका अदालतबाट हेर्न मिल्ने गरी सिएमएस (केस म्यानेज्मेण्ट सिस्टम)मा राखिएको अदालतले जनाएको छ ।

यस आर्थिक वर्षमा दर्ता भएका २००१ थान मुद्दा मध्ये ६४० थान मुद्दा फर्सौट गरिएको अदालतले जनाएको छ । कुल दर्ता भएका मुद्दामध्ये यो ३२ प्रतिशत मात्रै हो । श्रेष्तेदार पाण्डेयका अनुसार कोभिड माहामारीका कारण लक्ष्यअनुसार मुद्दा फर्सौट गर्न नसकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप