आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै, नियन्त्रणका लागि झापा प्रहरी आक्रामक बन्दै

बिहीबार, २४ असार २०७८, १४ : ००
बिहीबार, २४ असार २०७८

लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणमा झापा प्रहरी आक्रामक शैलीमा लागिपरेको छ । सामाजिक समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन सकेको छैन ।

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रहरीले लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न ३०२ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । उनीहरुलाई विभिन्न लागुऔषध सहित नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागुऔषध सम्बन्धी १९४ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । गत आर्थिक वर्षमा लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरी ११८ वटा मुद्दा दर्ता गरेको थियो ।

चालु आवमा दर्ता गरिएको मुद्दा अघिल्लो आवको भन्दा ६४.४ प्रतिशतले बढी हो भने पक्राउ परेकाहरुको संख्या ६७.०३ प्रतिशतले बढी हो ।

प्रहरीले पक्राउ गरेकाहरूको साथबाट ब्राउन सुगर १ किलो ४२९ ग्राम ९०१ मिलिग्राम, गाजा १० किलो ९८१ ग्राम ५८० मिलिग्राम, डाइजेपाम ७५३ एम्पुल, लुपिजेसिक ७५३ एम्पुल, फेनारगन ६६१ एम्पुल, नाइट्रोजन÷नाइट्रोभेट ९५५ चक्की, कोरेक्स ६९ बोतल, नोभेन ८ चक्की, फस्फेट ८० ट्याब्लेट, ट्याण्डोल ५९ चक्की, इस्कुफ ५० बोतल बरामद गरेको थापाले रातोपाटीलाई बताए ।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ तथा केही नेपाल ऐन संशोधन ऐन २०७२ ले लागुऔषध खेती, सेवन, कारोबार, ओसारपसारमा संलग्न तथा त्यस्ता कार्य गर्न सहयोग गर्ने ब्यक्तिलाई कसुरको प्रकृतिअनुसार २५ लाख रुपैयाँसम्म जरिवाना तथा जन्मकै दसम्मको सजाय हुने व्यवस्था गरेको छ ।

झापामा पछिल्लोसमय लागुऔषधमा संलग्न व्यक्तिहरु बढेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्युरो नै बनाएर काम गरे पनि अपेक्षाकृत उद्देश्य हासिल हुन सकेको छैन । निषेधाज्ञाको तीन महिना अवधिमा मात्र ५४ जना लागुऔषधमा संलग्नलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

झापामा लागुऔषध दुव्र्यसनीमा संलग्नहरु बढ्नुमा मुख्यतः खुला सीमाना, बढ्दो जनघनत्व, यातायातको सहज पहुँच रहेको जानकारहरु बताउँछन् । खुला सीमा नाका हुँदा सहज रुपमा वारिपारी आउजाउ हुने भएकाले लागुऔषधको कारोबार बढेको उनीहरुको भनाइ छ ।

कतिपय प्रयोगकर्ता लागुऔषध सेवन गर्न सीमापारी भारतीय बजार नै पुग्ने गरेका छन् भने भारतीय बजारबाट लुकाईछिपाई नेपालमा ल्याएर प्रयोग गर्नेको संख्या झन् धेरै छ । प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्नहरूले पैसाको प्रलोभनमा सामान्य मानिसलाई भरियाको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । उनीहरुले झापाको काकरभिट्टा, भद्रपुर, कचनकवल साथै दक्षिणी नाकाहरु प्रयोग गर्ने गरेका छन् ।

गरिबी, शैक्षिक चेतनाको अभाव, पारिवारिक वातावरण, साथी संगत, बेरोजगारी आदिका कारण मानिसहरु दुव्र्यसनीमा फस्ने गरेको प्रहरी प्रवक्ता थापा बताउँछन् । परिवारमा अभिभावकबीच हुने झैझगडा, ब्यक्तिको मानसिक कारण आदिले पनि मानिसलाई दुर्व्यसनमा फसाउने गरेको उनको भनाइ छ ।

परिवारमा सही अभिभावकत्व नपाएर साथै अभिभावक गुमाएर सडक बालबालिका बनेकाहरू पनि दुर्व्यसनको सिकार बन्ने गरेको पाइन्छ । त्यस्ता बालबालिकाहरु सस्तो र सहज रुपमा बजारमा पाइने डेन्ड्राइट, खोकीको औषधि तथा अन्य ट्याब्लेट आदि प्रयोग गरि नशामा लठ्ठिने गरेका छन् ।

दुव्र्यसनीले प्रयोग गर्ने डाइजेपाम निद्रा लगाउन, रक्सीको लत छुटाउन, छारे रोग आदिमा प्रयोग गरिनुका साथै फेनार्गन दुखाई कम गर्न, अपरेशन गरिसकेका बिरामीहरुलाई प्रयोग गरिने बिर्तासिटी हस्पिटलका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर आभाष निरौलाले जानकारी दिए ।

त्यस्ता औषधिलाई गलत मात्रामा लागुऔषध दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको उनको भनाइ छ । त्यस्ता लागुऔषधलाई बढी मात्रामा सेवन गर्दा मात लाग्ने, झुम्म बनाउने गर्दछ ।

डा निरौलाका अनुसार लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई डिप्रेसन, साइकोसिस, बाइपोलर डिस्अर्डर हुने, चिन्ता लाग्ने तथा निन्द्रा नलाग्ने, आत्महत्या गर्ने जस्ता मानसिक समस्या हुने गर्दछ । त्यस्तै नशाको इन्फेक्सन, रगत जम्ने, रगतको ढिक्का बन्ने, मुटुको समस्या हुने, टाउको दुख्ने, शारीरिक दुर्बलता हुने जस्ता गम्भीर शारीरिक समस्या हुने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्प खड्का
पुष्प खड्का
लेखकबाट थप