शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आन्तरिक गृहकार्य गर्ने भन्दै कार्यदल बैठक स्थगित, साँझ पुन: बस्ने

बिहीबार, २४ असार २०७८, १३ : ११
बिहीबार, २४ असार २०७८

आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।

एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको रातोपाटीलाई जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

‘थोरै तयारी गर्नुपर्ने भयो । त्यसका लागि बैठक ७ बजेसम्म स्थगित गरेका छौँ । भरसक आजै निष्कर्षमा पुर्याउछौँ । संयुक्त वक्तव्य सानो कुरा हो,’ नेम्वाङले भने,  ‘हामी पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ । छलफल जारी छ, सकारात्मक छ गम्भीर छ । शीर्ष नेताहरुसँग हिजो पनि छलफल भयो, आज पनि भेट हुनेछ ।’

यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो । 

कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो ।

​बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् । सहमति जुटाउने प्रयासको स्प्रीट नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप