बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेलमा प्रसूति सेवा निःशुल्क

बुधबार, २३ असार २०७८, २१ : १५
बुधबार, २३ असार २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसूति गराउन थालिएको हो ।

सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसूति गराउँदै आएको भए पनि स्तरोन्नतिका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसूति सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसूति विभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए । ‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको थियो, अहिले पुनः सुरु भएको छ,’ डा.बरालले भने, ‘नोबेलमा निःशुल्क प्रसूति सेवासँगै प्रसूति गराउनेलाई प्रोत्साहन स्वरूप यातायात खर्च पनि दिइन्छ ।’

प्रसूतिका क्रममा गरिने परीक्षण, बेड चार्ज, अप्रेसन चार्ज लगायत सेवा निःशुल्क छ । त्यस्तै, प्रसूति गराउन आउनेहरूलाई निःशुल्क सेवासँगै प्रोत्साहन स्वरूप यातायात खर्च बापत १ हजार रुपैयाँसमेत दिने गरिएको छ । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्न सक्ने भएकाले सरकारले अस्पतालमा प्रसूति गराउन प्रोत्साहन गर्दै आएको छ । सोही कारण सरकारले प्रसूति निःशुल्क गरेर यातायात खर्च पनि उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

नोबेलको स्त्री तथा प्रसूति विभागमा डा.बराल, डा.शान्ति सुवेदी, डा.सीता पोख्रेल लगायत विशेषज्ञ डाक्टरहरूको टिम कार्यरत छ । उनीहरूले नै प्रसूति गराउने गरेका छन् । विशेषज्ञ डाक्टरबाट भरपर्दो सेवा पाइने हुनाले नोबेलमा प्रसूति गराउनेहरुको आकर्षण बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप