बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘महाप्रबन्धक पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन रोक्दैनौँ’

बुधबार, २३ असार २०७८, १७ : १४
बुधबार, २३ असार २०७८

आन्दोलनरत नेपाल वायुसेवा निगमका संयुक्त युनियन कर्मचारी संघले महाप्रबन्धक डिमप्रसाद पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।  राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम जस्तो इतिहास बोकेको राष्ट्रिय गौरवको संस्थाको चाबी निजी (हवाई माफिया) लाई बुझाउन खोज्ने दलाल महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका हुन् । 

बुधबार दिउँसो निगमकै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निगमका तीनवटै कर्मचारी ट्रेड युनियनहरूले महाप्रबन्धक पौडेलको राजीनामा माग गरेका छन् ।  ‘नालायक दलाल महाप्रबन्धक डिमप्रसाद पौडेललाई एक मिनेट पनि निगमको नेतृत्वमा बस्ने अधिकार छैन । त्यो उनले गुमाइसकेका छन् । निगमलाई, सरकारलाई र सिंगो मुलुकलाई नै गुमराहमा राखेर वायु सेवा निगम जस्तो गरिमामय संस्थालाई अमुक निजी क्षेत्रलाई सुम्पन खोज्ने कार्य हामीलाई कदापी स्वीकार्य छैन ।’ 

नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले भने– ‘नालायक महाप्रबन्धक डिमप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।’ आन्दोलित संयुक्त कर्मचारी ट्रेड युनियनले महाप्रबन्धक पौडेलकै चलखेलमा निजी क्षेत्रको स्वार्थ पूर्ति गर्न निगमलाई कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप लगाएका छन् । यसको प्रतिरोधमा सिंगो निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिँदा पौडेलले प्रहरी प्रशासन लगाएर धरपकड गर्ने, लाठ्ठी चार्ज गर्ने र कार्य क्षेत्रबाटै गिरफ्तारी गर्ने गरेको भन्दै त्यसको घोर भर्त्सना समेत संयुक्त ट्रेड युनियनले गरेको छ । 

साथै, महाप्रबन्धक पौडेलले भित्री चाल छोप्न मिडियाबाजी गर्दै हिँडेको उनीहरुको आरोप छ । पत्रकार सम्मेलनमार्फत तीनवटै कर्मचारी ट्रेड युनियनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने निर्णय तत्काल फिर्ता लिन र महाप्रबन्धक राजीनामा गर्न माग गरेका छन् । अन्यथा आन्दोलनलाई अझ सशक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् । 

गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारीबीच तनावको स्थिति पनि आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप