शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, प्रधानमन्त्रीले विस्थापित गरेको तुइनको भरमा स्थानीय

बुधबार, २३ असार २०७८, १८ : ००
बुधबार, २३ असार २०७८

मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) र क्षेत्र नम्बर२ को (क) अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,४ र ५ लाई जोड्ने सामरी खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत निर्माणको काम अलपत्र छ ।

प्रदेश राजधानी हेटौंडासँगै जोडिएको उक्त पालिकाको सो पुल मुख्यमन्त्री डोरमणी पौडेलको सरकारी निवास र कार्यालयबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ । तर, उक्त पुल निर्माणमा भने मुख्यमन्त्री पौडेलको कुनै चासो देखिएको छैन ।

सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ सत्तारुढ दल नेकपा एमालेका विरोध खतिवडा र कृष्णप्रसाद दाहाल निर्वाचित भएका थिए । सांसद् दाहाल सरकारको अर्थसमिति सभापति समेत रहेका छन् । तर, उनीहरुलाई पुल निर्माणको विषयमा कुनै चासो देखिँदैन ।

तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शंखरमाली जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई १५ महिनाभित्र पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

तर निर्माण व्यवसायी कम्पनीको लापरबाही र सरोकारवाला निकायको मौनताका कारण हालसम्म पनि उक्त पुलको निर्माणको काम एक चौथाई पनि हुन सकेको छैन ।

नागार्जुन शंकरमाली जेभीलाई ५ करोड ३७ लाख ९२ हजार रुपैयाँ लागतमा २०७३ साल पुस ११ गते उक्त पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधि सकिएकै ५ वर्ष बितिसकेको छ तर, अहिलेसम्म एक पुलको स्पान (एक भाग) समेत निर्माण हुन सकेको छैन ।

सम्झौता अनुसार, गत २०७४ चैत्र ११ गतेसम्ममा उक्त पुलको निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने हो । ठेक्का सम्झौता भएको ५ बर्ष बितिसक्दा समेत १ सय ३ मिटर लम्बाइको उक्त पुल अलपत्र अवस्थामा छ । समयमै पुल निर्माण हुन नसक्दा मकवानपुरगढी वडा नम्वर ३, ४ र ५ का जनताले दैनिक रुपमा सास्ती खेप्दै आइरहेका छन् ।

३ स्पानको उक्त पुल ठेकेदारको बदमासीले गर्दा अहिलेसम्म ३ वटा मात्र पिल्लर उठाइएको छ ।

प्रशासनिक जटिलता

देश संघीयतमा गएपछि केही समयको प्रशासनिक जटिलता समेत उक्त पुलले खेप्नु परेको थियो । प्रशासनिक जटिलताका कारण उक्त पुल निमार्णमा ठेकेदार कम्पनीले आफ्नो जिम्मेवारी पुरा गरेन ।

चालु आर्थिक बर्षको साउनमा प्रशासनिक जटिलतालाई समाधान गर्दै उक्त पुल अनुगमन र नियमनको जिम्मेवारी प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालय चितवन अन्र्तगत पठाइयो ।

पुलको जिम्मेवारी पूर्वाधार विकासमा आए लगत्तै एक वर्षको लागि ठेक्का सम्झौताको म्याद थप गर्ने निर्णय भएको थियो । सोही अनुसार उक्त कम्पनीको ठेक्का सम्झौता आगामी भदौसम्म कायम छ ।

स्थानीय तह र पूर्वाधार विकास कार्यालयको बारम्बारको ताकेता पछि भने  ठेकेदार कम्पनीले पुल निर्माणको लागि केही तदारुकता देखाएर चालु आर्थिक वर्षको चैत ताका पुलको एक स्पानको ढलानको लागि भनेर रड र फर्मा हाल्यो तर ढलान गरेन ।

खोला थुन्दा बस्तीमा जोखिम

पुलको ढलान कार्यका लागि निर्माण कम्पनीले खोलाको केही भाग थुनेको छ । ढलानको लागि संरचना तयार गर्दा पुलको मुनीपट्टि ग्राभेल थुपारेर  खोला थुनेको छ ।

चैत्रमा नै ढलान गर्ने गरी खोला थुनिएको हो । तर असारको अन्तिम लाग्दा समेत पुल ढलान हुने नहुने ठेगान छैन ।

वर्षातको समय भएकाले भारी वर्षा हुँदा खोला थुनिएर पानीको सतह बस्तीसम्म आइपुग्ने उच्च जोखिम कायम छ ।

हरेक वर्ष सामरी खोला वारपार भएर बस्तीमा छिर्ने गरेको छ । पुल निर्माण क्षेत्रमा ठेकेदारले ग्राभेल थुपारिदिँदा बस्तीमा खोला पस्ने जोखिम झनै बढेको स्थानीयहरु गुनासो गर्छन् ।

प्रधानमन्त्रीले विस्थापित गरेको तुइनको भरमा खोला तर्दै स्थानीय

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल असोज २५ गते २ वर्षभित्र देशैभरीका तुइन विस्थापित गरी पुल निर्माण गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरी सार्वजनिक गरेका थिए ।

तर, उक्त निर्णय भएको ६ वर्षसम्म पनि प्रधानमन्त्री ओलीको विश्वासपात्र मुख्यमन्त्री पौडेलको कार्यालय नजिकका जनता तुइनको भरमा खोला तर्न बाध्य छन् ।

गढी ३ र ५ जोड्ने करिब २ दशकअघि निर्माण गरिएको तुइन अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । सोही तुइनबाट खसेर वर्षेनी स्थानीय जनताले ज्यान  गुमाउनु परेको छ ।

जीर्ण अवस्थाको तुइनमा समस्याहरु आइरहन्छन् तर विकल्प नभएकै कारण मर्मत गर्दै सोही तुइनको माध्यामबाट खोला वारपार गर्नुपरेको स्थानीयले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप