बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

खातामा पैसा नै नभएको विदेशी कार्डबाट यसरी झिकिएको थियो ३४ लाख ३५ हजार रुपैयाँ

सिद्धार्थ बैङ्क कति सुरक्षित ? पैसा विदेश गएको भए के हुन्थ्यो ?
बुधबार, २३ असार २०७८, १४ : ४८
बुधबार, २३ असार २०७८

बैंकमा खाता छ, चेकबुक पनि छ । तर के खातामा आफ्नो रकम नै नभई बैङ्कले भुक्तानी दिन सक्ला त ? पक्कै पनि सक्दैन । कुनै पनि बैङ्कले आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेकमा लेखिएको रकम दिन सक्दैन । रकम भुक्तानी गर्नका लागि खातामा पैसा हुनैपर्छ ।

तर के विदेशी बैङ्कको खाता भएमाचाहिँ खातामा रकम नभए पनि पैसा दिन मिल्छ ? स्वाभाविक हो, त्यो पनि मिल्दैन ।

तर सिद्धार्थ बैङ्कबाट केही दिनअघि ३४ लाख ५० हजार रुपैयाँ बाहिरियो, त्यो पनि खातामा पैसा नै नभएको विदेशी बैङ्कको भिसा डेबिट कार्डबाट । अनि भिसा डेबिट कार्ड पनि २ महिनाअघि नै एक्सपायर भइसकेको ।

हो, २ महिनाअघि एक्सपायर भइसकेको, खातामा पैसा नै नभएको विदेशी बैङ्कको एक भिसा डेबिट कार्डबाट नेपालमा ३४ लाख ३५ हजार रुपैयाँ निकालियो त्यो पनि मात्रै ४ दिनको समयमा ।

एक्सपायर भइसकेको कार्डबाट यसरी झिकियो ४ दिनमा ३४ लाख रुपैयाँ

सोलुखुम्बु स्थायी घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ भूतपूर्व बेलायती सेना हुन् । धेरै पहिले नै सेवानिवृत्त भइसकेका गुरुङ यति बेला कालोपुलमा डेरा गरी एक युवतीसँग लिभिङ टुगेदरमा बसिरहेका छन् ।

भूतपूर्व सैनिक भएको कारण गुरुङलाई मासिक करिब ६० हजार रुपैयाँ पेन्सनबापत आउने गरेको छ । उनले बेलायतबाट फर्कँदा लण्डनको लोइड्स बैङ्कबाट भिसा कार्ड बनाएर नेपाल आएका थिए । जुन २०१८ मा बनाएको उनको भिसा डेबिट कार्डको मिति मे २०२१ मा सकिइसकेको थियो । गुरुङकै भनाइलाई आधार मान्ने हो भने केही समयका लागि त्यही भिसा कार्ड चलाउन मिल्ने गरी नवीकरण गरिदिन उनले बैङ्कसँग आग्रह पनि गरेका थिए ।

जब गुरुङको साथमा भएको पैसा सकियो, उनी मिति गुज्रिसकेको भिसा कार्ड बोकेर सिद्धार्थ बैङ्कको कालोपुलस्थित एटीएम बुथमा छिरे । कार्डको पिन नम्बर हाले र रकम झिक्ने प्रयास गरे । अचम्म, एक्सपायर भइसकेको विदेशी बैङ्कको भिसा डेबिट कार्डबाट पैसा पो निस्कियो ।

पहिलोपटक पैसा निस्किएपछि उनले फेरि पैसा निकाल्ने कोसिस गरे । फेरि पनि बैङ्कबाट पैसा निस्कियो ।

लण्डनस्थित लोइड्स बैङ्कले उक्त कार्ड चल्ने बनाइदिएको भए पनि उनले अधिकतम ६० हजार हाराहारीमा मात्रै रकम झिक्न पाउने थिए । तर उनले ६० हजार रुपैयाँ निकालिसकेपछि पनि पटक पटक उक्त कार्डबाट पैसा आइरह्यो । त्यसपछि गुरुङको मनमा लोभ पलायो र झोला नै बोकेर उनी पैसा झिक्न विभिन्न एटीएम बुथमा पुगे ।

सुरुमा कालोपुलस्थित सिद्धार्थ बैङ्कको एटीएमबाट रकम निकालेका गुरुङले अन्य बैङ्कको एटीएम बुथमा पनि पैसा झिक्ने प्रयास गरे । तर अन्य एटीएम बुथबाट पैसा आएन । सिद्धार्थ बैङ्ककै चाबहिलमा रहेको एटीएममा पनि उनी पुगे । त्यहाँबाट पनि पैसा आयो । अन्य बैङ्कको एटीएमबाट पैसा नआएको तर सिद्धार्थ बैङ्कको एटीएमबाट भने धमाधम पैसा आउन थालेपछि उनी अन्य स्थानको सिद्धार्थ बैङ्कको एटीएमसम्म पुगे । गुरुङ पैसा निकाल्न भन्दै सिद्धार्थ बैङ्कको हात्तीसारमा रहेको एटीएम बुथ र भाटभटेनीमा रहेको बुथसम्म पनि पुगे । तर पुरानो मोडलको एटीएम मेसिन रहेको कालोपुल र चाबहिलबाट पैसा निस्किए पनि अन्य स्थानको एटीएम बुथबाट भने रकम निस्किएन । यद्यपि ती मोडलको मेसिनहरू अन्य स्थानमा पनि रहेको थियो, जहाँ गुरुङ भने पुगेनन् ।

दुई स्थानको एटीएमबाट मात्रै पैसा निस्केपछि जुलाई १ अर्थात् असार १७ गतेदेखि लगातार ४ दिनसम्म उनले रकम निकालिरहे । ४ दिनको अवधिमा उनले ३४ लाख ३५ हजार रुपैयाँ झिके । उक्त रकममध्ये १० लाख एक सहकारीमा डिपोजिट गरे भने ३ लाख रुपैयाँ जति मोजमस्तीमा खर्च गरे । सित्तैमा आएको रकम, त्यो पनि विदेशी बैङ्कको । कसले खोजबिन गर्ला र भन्ने उनलाई लागेको थियो ।

तर त्यस्तो भएन । जब सिद्धार्थ बैङ्कका कर्मचारी जुलाई ४ तारेखमा कालोपुलस्थित एटीएम बुथमा पुगे, तब त्यहाँ गडबड देखियो । बैङ्कको एटीएमबाट निकालिएको रकम र त्यहाँ हुनुपर्ने बाँकी रकमको हिसाब मिलेन । त्यसपछि पैसा कहाँ गयो भनेर खोजी भयो ।

एटीएम बुथमा रकम हाल्न पुगेका कर्मचारीले तत्कालै बैङ्कको डिजिटल पेमेन्ट सिस्टमलाई खबर गरे । त्यहाँ पनि हिसाबमा गडबडी देखियो । र, तत्कालै उक्त एटीएम बुथ सट डाउन गरी अनुसन्धान सुरु भयो ।

कालोपुलको मात्रै नभएर चाबहिलको एटीएम बुथमा पनि त्यही समस्या देखियो । ग्राहकले एटीएम बुथबाट झिकेको देखिएको रकम र त्यहाँ हुनुपर्ने मौज्दात रकम मिल्दै मिलेन । त्यो खबर पनि तत्कालै बैङ्कको केन्द्रीय कार्यालयमा पुग्यो । त्यसपछि केही समय सबैजसो एटीएम बुथ सटडाउन गरेर अनुसन्धान सुरु भयो । यसको जानकारी भिसा नेटवर्क र नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम नेप्सेलाई पनि गराइयो ।

अनुसन्धान लगत्तै पत्ता लाग्यो कि लण्डनस्थित बैङ्कको एक भिसा डेबिट कार्डबाट लाखौँ रकम झिकियो । जबकि एटीएम बुथमा कार्ड छिराएपछि सिस्टमले डिक्लाइन अर्थात् रिजेक्ट गर्नुपर्नेमा एटीएम बुथबाट पैसा गयो । लण्डनस्थित बैङ्क र भिसा नेटवर्कले डिक्लाइन अर्थात् रिजेक्ट गरेको भए पनि नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम नेप्समा भएको बग अर्थात् खराबीका कारण एटीएमबाट पैसा गयो ।

कुनै व्यक्तिले अनधिकृतरुपमा पैसा झिकेको पत्ता लागे लगत्तै सिद्धार्थ बैङ्कले नेप्स हुँदै प्रहरीमा खबर गर्‍यो । सिद्धार्थ बैङ्कको एटीएम बुथमा रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले ५७ वर्षीय जगतबहादुर गुरुङ र ३० वर्षीय युवती सावित्री गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो ।

उनीहरू रहेको कोठा खानतलासी गर्दा प्रहरीले कोठाबाट २१ लाख नगद बरामद गर्‍यो भने चाबहिलको गोमा गणेशनामक सहकारीमा जम्मा गरेको १० लाख ५० हजारको भौचरसमेत भेट्यो । बाँकी करिब ३ लाख रुपैयाँ भने उनीहरूले खर्च गरिसकेका थिए ।

कस्तो हुन्छ एटीएमको पेमेन्ट सिस्टम ?

मुख्यतः एटीएम बुथबाट पैसा झिक्नका लागि विद्युतीय माध्यमबाट ४ तह पार गर्नुपर्छ । कुनै ग्राहक पहिले एटीएम बुथमा पुग्छ । त्यहाँ उसले आफ्नो कार्ड छिराउँछ र पिन नम्बर हान्छ । त्यसको जानकारी नेप्सको सिस्टममा पुग्छ र नेप्सले उक्त जानकारी भिसा नेटवर्कमा पठाउँछ । भिसा नेटवर्कले सो बारेको जानकारी कार्ड जारी गर्ने बैङ्कसम्म पुराउँछ । त्यसपछि बल्ल कार्डको आधिकारिकता, खातामा रकम रहेको नरहेको, रकम दिने वा नदिने भन्नेबारे निर्णय हुन्छ । कार्ड जारी गर्ने बैङ्कले पैसा दिनु भनेको खण्डमा उसले उक्त म्यासेज भिसा नेटवर्कलाई पठाउँछ । भिसा नेटवर्कले फेरि उक्त विषयको जानकारी नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम अर्थात् नेप्समा पठाउँछ र नेप्सले उक्त जानकारी पैसा झिक्न लागिएको बैंकमा पठाउँछ । नेप्सले दिएको सन्देशका आधारमा बैङ्कले पैसा झिक्न मिल्ने वा नमिल्नेबारे जानकारी दिन्छ ।

गडबड कहाँ भयो ?

सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जनका अनुसार भिसा कार्ड, नेप्सको बग र एटीएम मेसिनमा भएको ‘अचम्मको संयोग’का कारण डेट एक्सपायर भएको विदेशी कार्डबाट पनि रकम निकाल्न सम्भव भयो । असिस्टेन्ट जनरल म्यानेजर महर्जनका अनुसार मुख्यतः नेप्समा भएको खराबी र एटीएम मेसिनको मोडलका कारण उक्त ‘दुर्घटना’ हुन पुग्यो । 

महर्जनका अनुसार ग्राहकले एटीएम मेसिनमा कार्ड छिराएपछि सुरुमा एटीएम बुथबाट सो को जानकारी नेप्समा गएको, नेप्सबाट सो सन्देश भिसा नेटवर्क हुँदै कार्ड जारी गर्ने बैङ्कसम्म पुगेको देखिन्छ । तर कार्ड जारी गर्ने बैङ्कले कार्डको मिति सकिएको र खातामा पैसा पनि नभएको भन्दै डिक्लाइन अर्थात् पैसा झिक्न नमिल्ने सन्देश भिसा नेटवर्कमा पठाएको छ । भिसा नेटवर्कले पनि सोही ब्यहोराको सन्देश नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा पठाएको छ । तर डिक्लाइन ट्राञ्ज्याक्सन भनेर पठाएको म्यासेजमा पनि क्यास डिस्पेन्स भएको छ । नेप्सले जारी गरेको प्रेस विज्ञप्तिमा नेप्सको सिस्टममा रहेको बगका कारण त्यस्तो त्रुटि भएको भनेको छ । यसको मतलब नेप्सले खरिद गरेको सिस्टममा भएको खराबीका कारण डेट एक्सपायर भएको, खातामा रकम नै नभएको अवस्थामा पनि चाहेजति पैसा निकाल्न सकिएको छ । यसबाट सिद्धार्थ बैङ्कको सिस्टममा नै नदेखिने गरी ३४ लाख ३५ हजार रुपैयाँ गायब भयो । 

गल्ती कसको ?

यस सम्बन्धमा मुख्यतः सिद्धार्थ बैङ्कको एटीएम बुथमा रहेको पुरानो मोडलको मेसिन र नेप्सको सिस्टमको खराबी नै कारक रहेको बुझिएको छ । नेप्सले सिंगापुरको विपिसी बैङ्किङ टेक्नोलोजीबाट खरिद गरेको स्मार्ट भिष्टा स्वीचमा रहेको खराबीका कारण पैसा नदिनु भन्ने सन्देश हुँदाहुँदै पनि पैसा गएको बुझिएको छ । 

सिद्धार्थ बैङ्कले पनि नेप्सको सिस्टम इररका कारण त्यस्तो भएको दाबी गरे पनि पक्राउ परेका आरोपीले अन्य बैङ्कका एटीएम मेसिनमा पनि पैसा निकाल्ने प्रयास गरेका थिए । तर अन्य बैङ्कका कुनै पनि एटीएमबाट पैसा नआउनु तर सिद्धार्थ बैङ्कका सीमित एटीएम बुथबाट मात्रै पैसा आउनुले नेप्सको मात्रै फेलियर भन्न मिल्ने अवस्था भने देखिँदैन । सिद्धार्थ बैङ्ककै डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जनले भने झैँ अचम्मको संयोगका कारण मात्रै यस्तो हुन सम्भव भएको होइन । बैङ्किङ प्रणालीमा देखिएको समस्या, एटीएम बुथको खराबी र डिजिटल पेमेन्ट सिस्टममा देखिएको खराबीले पनि यस्तो समस्या ल्याएको बुझ्न सकिन्छ ।

पैसा विदेश गएको भए के हुन्थ्यो ?                                            

जगत बहादुर गुरुङका केसमा करिब करिब सबै रकम बरामद भएको छ । करिब ३ लाख रुपैयाँ मात्रै बरामद नभएकाले त्यो ठुलो रकम होइन र बैङ्कले कुनै न कुनै रूपबाट असुल गर्न सक्नेछ । 

तर चुनौती कहाँ छ भने यदि उक्त रकम सिमानाका एटीएम बुथबाट झिकिएको थियो र आरोपी विदेश गइसकेका थिए भने के हुन्थ्यो ? वा विदेशी नागरिकले नेपाली एटीएम बुथबाट रकम झिकेर विदेश उडिसकेका हुन्थे भने के हुन्थ्यो ? के कार्ड जारी गर्ने बैङ्क उक्त रकम फिर्ता गराउन बाध्य हुन्थ्यो ?

सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जन कार्ड जारी गर्ने बैङ्क उक्त रकम तिर्न बाध्य नहुने बताउँछन् । किनभने पहिलो कुरा एक्सपायर भएको कार्ड एटीएम मेसिनमा हाल्ने बित्तिकै उक्त कार्ड एक्सपायर भएको वा नचल्ने म्यासेज आउनुपर्छ । दोस्रो जब कार्ड जारी गर्ने बैङ्कले नै रकम दिन नमिल्ने भनिसकेको छ भने यदि कुनै एटीएमबाट पैसा गएमा उक्त रकम तिर्न कार्ड जारी गर्ने बैङ्क बाध्य हुनेछैन । 

यदि यो मामिलामा कुनै विदेशी व्यक्तिले एक्सपायर भएका कार्डको प्रयोग गरेर नेपाली बैङ्कका एटीएमबाट रकम निकालेर फिर्ता गएका भए उक्त रकम नेपाल ल्याउन असम्भवजस्तै हुन्थ्यो र त्यो रकम स्वीच सेवा उपलब्ध गराउने संस्थाले तिर्नुपर्ने हुन्थ्यो । स्वीच सेवा उपलब्ध गराउने संस्थाले पनि उक्त रकम तिर्न नमानेको अवस्थामा त्यो रकम बैङ्कको घाटामा पुग्थ्यो ।

सिद्धार्थ बैङ्कको कमजोर अनुगमन

प्रत्येक बैङ्कले एटीएम बुथमा सिसि क्यामेरा जडान गरेकै हुन्छन् । एटीएम बुथमा कुनै अव्यवहारिक हर्कत भएको अवस्थामा तत्कालै सो बारे जानकारी बैङ्कको सिस्टममा जान्छ । तर सिद्धार्थ बैङ्कले ४ दिनसम्म पनि आफ्नो एटीएम बुथमा के भइरहेको छ भनेर अनुगमन र नियमन नै गर्न सकेन ।

एउटा एटीएम बुथमा १५ देखि २५ लाख रुपैयाँसम्म रकम लोड गरिन्छ । र, उक्त रकम बढी आर्थिक चहलपहल हुने स्थानमा २ दिन र चहलपहल कम हुने स्थानमा ५ दिनसम्म पुग्न सक्छ । तर बैङ्कको सिस्टमबाट नै कुन एटीएमबाट कति रकम झिकियो र कति रकम बाँकी छ भन्ने जानकारी पाउन सकिन्छ । तर सिद्धार्थ बैङ्कले एटीएम बुथमा पैसा सकिएको जानकारी पाउँदा पनि आफ्नो सिस्टममा क्रसचेक गर्न सकेन । जबकि आरोपीले २ दिनको बीचमा नै बुथमा रहेको रकम सकाइसकेका थिए तर बैङ्कले भने ४ दिनमा मात्रै बुथ पुगेर चेक गरेको थियो । यस्तो अवस्थामा विदेशी नागरिक आएर रकम झिकेका भए आफ्नो देशसमेत जान पाउने पर्याप्त समय पाउने थिए ।

नेपाली कार्डलाई अधिकतम १ लाख, विदेशी कार्डलाई मनोमानी !

नेपालका बैङ्कहरूले जारी गर्ने डेबिट कार्डबाट एक दिनमा अधिकतम १ लाख वा २४ घण्टामा अधिकतम ४ पटकसम्म मात्रै कार्ड प्रयोग गर्न पाउँछन् । तर विदेशका बैङ्कले जारी गरेका कार्डका सम्बन्धमा भने नेपालमा कुनै रोकटोक लागेको छैन । कार्ड जारी गर्ने बैङ्कले कतिपटक वा कति रकमसम्म झिक्न मिल्ने तय गरेको छ, सोही आधारमा ग्राहकले आफूले चाहेजति रकम झिक्न सक्छन् । जसका कारण उक्त कार्डबाट खातामा एक रुपैयाँ नै नभए पनि, कार्डको मिति सकिएको भए पनि ४ दिनको अन्तरालमा ३४ लाख ३५ हजार रुपैयाँ झिकिएको थियो ।

सिद्धार्थ बैङ्क कति सुरक्षित ?

एक्सपायर भएको, खातामा रकम नै नभएको भिसा कार्डबाट ४ दिनको अवधिमा ३४ लाख ३५ हजार रकम झिकेपछि यति बेला प्रश्न उठेको छ कि सिद्धार्थ बैङ्क कति सुरक्षित ? के सिद्धार्थ बैंकमा रहेको जनताको रकम सुरक्षित छ त ? सिद्धार्थ बैङ्कको एटीएम सुरक्षित छ त ? कतै जनताको लगानी रहेको अरबौँ रकम गायब हुने त होइन ?

सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जन बैङ्क र बैङ्किङ सिस्टम सुरक्षित नै रहेको दाबी गर्छन् । कहिलेकाहीँ सेवा प्रदायक संस्थाका कमजोरीका कारण यस्ता समस्या आउनसक्ने भए पनि जनताका डिपोजिट कहीँ नजाने दाबी गर्छन् । यस्तो घटनामा स्वीच सर्भिस प्रोभाइडर नै जिम्मेवार हुने हुँदा उक्त रकम बाहिर गए पनि स्वीच प्रोभाइडर ले नै तिर्नुपर्ने महर्जनको दाबी छ । केही मोडलका एटीएम मेसिनका केही समस्या देखिएको हो कि भनेर अनुसन्धान समेत भइरहेको भन्दै मेसिनमा समस्या देखिए तत्कालै परिवर्तन गरिने उनले बताए ।

आगामी दिनमा यस्ता समस्या आउन नदिन सधैँ चनाखो हुने भन्दै सिद्धार्थ बैङ्क सुरक्षित नै रहेको र डिजिटल पेमेन्ट सिस्टम चुस्त नै रहेको उनले दाबी गरे । यद्यपि ४ दिनसम्म अनुगमन गर्न नसक्नुमाचाहिँ केही कमजोरी भएको महर्जनले बताए ।

यस सम्बन्धमा कसको के कमजोरी भएको हो, यदि रकम बाहिर गइसकेको भए के हुन्थ्यो भन्ने सम्बन्धमा कुराकानी गर्न खोज्दा नेप्सले भने कुराकानी गर्न मानेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप