बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जात प्रथाबारे केही झूटा तर्कहरुको खण्डन

बुधबार, २३ असार २०७८, १३ : १०
बुधबार, २३ असार २०७८

संसारमा सबभन्दा ठूलो अपराध विचारमा विष फैलाउनु हो । एउटा गलत विचारले लाखौँ मानिसको जीवन बर्बाद पार्न सक्छ । जातप्रथाको एउटा गलत विचारले लाखौँ दलितको जीवन नारकीय बनाएको छ ।

तर, पनि विभेदबाट फाइदा लिनेहरू भने विचारमा विष फैलाउन नै तल्लीन छन् । विभेद कायमै राख्न अनेक भ्रम छर्दैछन् । भ्रमका ‘आविष्कारक’हरूको झुटो प्रचारले गहिरिएर नबुझ्ने र वैचारिक रूपमा कम सचेत वर्गलाई दिग्भ्रमित पार्न सक्ने भएकाले यहाँ केही प्रस्ट पार्ने प्रयास गरिएको छ ।  

जातप्रथाको शोषण र वर्गीय शोषणलाई गिजोल्ने चलाखी

जातप्रथाको शोषण र वर्गीय शोषण सम्बन्धित त छ । तर गिजोलेपछि गर्दा भ्रम पैदा हुन्छ ।  एउटा गरिब बाहुनले वर्गीय शोषण भोगेको हुन्छ, तर जातप्रथाको शोषण भोगेको हुन्न । तर, एक गरिब दलितले  वर्गीय शोषण पनि भोगेको हुन्छ र जातप्रथाको शोषणको पनि भोगेको हुन्छ । 

जातप्रथाको शोषणको कुरा गर्दा दुर्गम गाउँको गरिब बाहुन पनि शोषित नै छ भन्नु विषयान्तर गर्ने चलाखी मात्र हो । दुर्गम हुनु क्षेत्रीय शोषण हो, गरिब हुनु  वर्गीय शोषण हो । ती शोषण त त्यो क्षेत्र र त्यो वर्गको  बाहुन मात्र होइन, सबै समुदायले भोगेकै हुन्छ । गरिबै भए पनि बाहुनले जातप्रथाको शोषण कहिल्यै भोगेको हुँदैन र भोग्नु पनि पर्दैन ।

अझ त्यो क्षेत्र र वर्गका बाहुन त त्यही क्षेत्र र वर्गको दलितको लागि त गन्यमान्य  वा मान्न पर्ने व्यक्ति नै हुन्छ । त्यसैले जातप्रथाको शोषणको कुरामा वर्गीय शोषणको कुरा ल्याएर गिजोलेपछि जातप्रथाको शोषण कायमै राख्ने चलाखी मात्र हो ।  

नेपालमा वर्ग निर्माणको एउटा मुख्य आधार जातप्रथा हो । बाहुनहरू वर्ग निर्माणको यो आधारबाट पनि पीडित हुन परेन । त्यसैले असलमा वर्गीय शोषणमा पनि दलितहरू नै धेरै पिल्सिएका छन् ।

जातप्रथाको समस्या वर्गीय समस्याभन्दा फरक

शर्मा भोजनालय चल्ने, सार्की भोजनालय नचल्ने छ । कतिपय मानिस जातप्रथाको समस्या केही पनि होइन । वर्गीय समस्या समाधानपछि यो स्वतः समाधान हुन्छ भन्ठान्छन् । तर जातप्रथाको समस्या वर्गीय समस्या मात्र होइन । यो अर्कै किसिमको समस्या या शोषण हो । जातप्रथाको शोषण वर्गीयभन्दा गहिरो शोषण हो । हाम्रो समाजमा जति नै सफा, राम्रो भए पनि सार्की भोजनालय चल्दैन, शर्मा भोजनालय चल्छ । यो जातप्रथाको असर हो । त्यसैले वर्गीय समस्या समाधान भए पनि जातप्रथाको समस्या समाधान हुँदैन । यो सांस्कृतिक– सामाजिक समस्या हो र त्यसैअनुसार समाधान गर्नुपर्छ ।

कथित ठूलो जात आफैमा सत्ताको स्वरूप  

जातप्रथा भएको समाजमा जात आफैमा सत्ताको स्वरूप हो । कथित ठूलो जातको ठूलो नै इज्जत, मान सम्मान हुन्छ, समाजमा स्वीकारोक्ति हुन्छ । जातैको नामले काम बन्ने, सम्मान पाउने, हेर्ने नजर फरक हुने हुन्छ । सत्ता भनेको यही हो । बाहुन आफैमा सत्ता हो । तल्लो भनिएको जातको मान, सम्मान, स्वीकारोक्ति केही हुन्न । उल्टो अपमान, भेदभाव र दुव्र्यवहार हुन्छ । दलित भन्ने वित्तिकै उसलाई हेय दृष्टिले हेर्ने, दोस्रो दर्जाको मानिसलाई झैँ व्यवहार गर्ने, समाजमा उसको ‘नम्बर’ घट्ने  धरातलीय यथार्थ हो । कुनै जातको नामैले काम बन्छ, कुनै जातको नामैले काम बन्दैन भने जात आफैमा सत्ता भएको स्प्ष्ट हुन्छ । 

उत्पीडित वर्ण (जात) र उत्पीडित वर्ग 

जन्मको आधारमा जात र जातको आधारमा पहुँच छुट्याउने जातप्रथाले गर्दा कथित तल्लो जातले सदियौँ वर्ष शिक्षा, सम्पत्ति, स्रोत साधनमाथिको हक अधिकारबाट वञ्चित हुनुप¥यो । फलतः उत्पीडित वर्ण उत्पीडित वर्गमा परिणत भयो । सरकारी तथ्याङ्कमा पनि सबैभन्दा गरिबमा दलित पर्नुका कारण पनि यही हो । नेपालमा वर्ग निर्माणको एउटा मुख्य आधार नै जात वा वर्ण हो । सम्पत्ति राख्ने अधिकार नदिएकैले राजाधानीमै पनि सदियौँ वर्षदेखि आफू बस्दै आएको घर जग्गाको पनि लालपुर्जा धेरै दलितहरूसँग छैन ।

गरिब शब्द हटाउँदैमा गरिबी र दलित शब्द हटाउँदैमा दलन हट्दैन

दलित शब्द हटाएपछि दलन हट्छ भन्ने कुरा सही होइन । समाजमा दलन भएर दलित शब्द आएको हो । दलित शब्द भएर दलन भएको होइन । जसरी गरिब शब्द हटाउँदैमा गरिबी हट्दैन, त्यसरी नै, दलित शब्द हटाउँदैमा दलन हट्दैन ।  

कमैया मुक्तिको नाममा कमैया नभन्ने, नराख्ने भनेर कमैयाहरूलाई मोहियानी हकबाट बेदखल गरी अधिकारविहीन बनाए जस्तै हजारौँ वर्षदेखि उत्पीडनमा परेका दलितहरूलाई कुनै राहत या क्षतिपूर्ति नदिलाउन यो विषय उठान गरिएको हो ।  

दलित शब्द अहिले अधिकारसँग जोडिएको छ । र त यसको विरोध सुरु भएको हो । शासक वर्ग वा शासकीय मानसिकता भएकाहरूलाई पहिला हेला या ‘गाली’को शब्दपछि अधिकारको शब्द भएको मन पर्दैन । जस्तै पहिला पहिला शासकहरू मधेसी शब्दको प्रयोग हेप्नका लागि गर्दथे, पछि यो अधिकार र पहिचानको शब्द बन्न थाल्यो र शासकहरूलाई ‘ज्वरो’ आयो । दलित शब्द पनि हिजो शोषणको पर्याय हुँदा ठीकै थियो तर आज अधिकार प्राप्तिसँग जोडिएपछि शासकहरूलाई गलत लाग्न थालेको हो ।

कोटाको भ्रम र यथार्थ

विगतमा विभेदमा पारिएका समुदायहरू हरेक क्षेत्रमा शोषित पीडित नै हुन्छन् । दलितहरूलाई विगत लामो समयसम्म शिक्षा, सत्ता, शक्ति, स्रोत साधनवाट वञ्चित गरियो । जातका नाममा हजारौँ वर्ष शिक्षा, सत्ता, शक्ति, स्रोत, साधनमा एकाधिकार जमाएका कथित ठूलो जातसँग उत्पीडित जातले प्रतिस्पर्धा गर्न सक्दैन । कुपोषित बालकले बलियो युवासँग प्रतिस्पर्धा गर्न नसके जस्तै । त्यसैले विगतमा विभेदमा पारिएकाहरूलाई विशेष अधिकार या कोटा अनिवार्य हुन आउँछ । कोटा पाउनेहरूले पनि निश्चित मापदण्ड भने पार गरेकै हुन्छ ।

कुनै पनि क्षेत्रमा आफ्नो प्रतिनिधित्व शून्य भयो भने अपनत्व हराउँछ । विभेदको अनुभव भयो भने विद्रोह पनि हुन सक्छ । त्यसैले यो देश मात्र होइन यो राज्य पनि मेरो हो भन्ने भावना पैदा गर्न, अपनत्व अनुभव गराउन वा  भावनात्मक एकताका लागि कोटा दिइन्छ । समाज जस्तो छ राज्यमा पनि त्यस्तै प्रतिनिधित्व गराउन कोटा दिइन्छ । कोटा विश्वकप फुटबलमा पनि छ, सबै महादेशको प्रतिनिधित्व गराउन । कोटा नभएको भए विश्वकप फुटबलमा कुनै एसियाली मुलुक पर्दैनन् । 

कोटा अनन्त कालका लागि होइन, हुँदैन । हजारौँ वर्ष शोषणमा पारिएकोको सट्टा केही समयको लागि कोटा दिइन्छ । विकासको सूचकाङ्कमा सुधार नभएसम्मका लागि मात्र । १०/क१२ वर्षदेखि दलितले केही कोटा पायो भन्ने कथित उच्च जातकाहरू हजारौँ वर्षदेखि आफूले मात्र पढ्न पाउने कोटा पाएको, पुरोहित आफू मात्र हुन पाएको कोटाको बारे कुरा गर्दैनन् ।

कोटाका लागि धेरै प्रतिमानहरू हुन्छन् । वर्गको आधारमा मात्रै कोटा दिइयो भने उत्पीडित समुदायले अवसर पाउँदैनन् किनभने उत्पीडक जाति जति नै गरिब भए पनि उसलाई जातप्रथाको भेदभाव कहिले भएन, हुँदैन । वेद पढ्न कहिले रोकेन, उसले अरूको भाषामा कहिले पढ्न परेन । अरूको भाषामा कहिले लिखित मौखिक जाँच दिनु परेन, पर्दैन । अड्डा– अदालतमा अर्काको भाषा प्रयोग गर्न परेन । विजातीय अधिकारी झेल्न कहिल्यै परेन । राज्य सत्ताबाट कहिल्यै प्रताडित नभएकाहरूलाई कोटा दिइन्न । अझ १० प्रतिशत जनसङ्ख्या भएकोले ८० प्रतिशत पद ओगटेको छ भने कोटाको आवश्यकता उसलाई होइन अरूलाई नै हुन्छ । 

वर्गको आधारमा कोटा दिन प¥यो भन्नेहरू वर्ग छुट्याउने आधार, कसरी सम्पत्तिको सीमा तोक्ने, सम्पत्ति लुकाए के गर्ने, आदि समस्या बारे मौन छन् । अर्को कुरा, हजारौँ वर्ष सम्पत्तिमा हक नदिइएका उत्पीडित वर्ण नै सबभन्दा गरिब छन् । उत्पीडित वर्ण उत्पीडित वर्ग हुन् भन्नेबारे पनि प्रस्ट हुन आवश्यक छ ।

योग्यता र वर्गीय कोटा आफैमा विरोधाभाषपूर्ण देखिन्छ । अहिले पनि सरकारी विद्यालयबाट एसईई दिएकाहरूलाई  ‘वर्गीय’कोटा छ । प्राविधिक शिक्षामा तर तिनीहरूको पनि प्राप्ताङ्क थोरै छ ।

कोटाकै कुरा गर्दा परीक्षा प्रणाली पनि एउटा कोटा हो । थोरै प्राप्ताङ्क आए पनि पैसाको भरमा पढ्नु पनि कोटा हो । लोकसेवामा विषयगत प्रश्न राख्नु पनि कोटा हो । लोकसेवामा वस्तुगत प्रश्न मात्र दिइएको भए  मात्र पनि जनजातिहरूलाई धेरै राम्रो हुन्थ्यो ।  विषयगत प्रश्नको उत्तरको भाषाबाटै धेरै फरक पार्छ । ज्ञान प्राप्तिदेखि जागिर प्राप्तिसम्मको भाषा आफ्नो मातृभाषा नहुनेलाई गाह्रो हुनु स्वाभाविक हो । वर्षौंसम्म एउटै भाषा, संस्कृति, जातिका लागि करोडौँ बजेट राज्यले लगानी गर्नु पनि कोटा हो ।

बाहुन र बाहुनवादबीच फरक 

बाहुन भनेको जात हो । बाहुनवाद भनेको विचार हो । बाहुनवाद भनेको वर्णवाद हो । वर्णवाद वा जातप्रथाको विचार बाहुनहरूले निर्माण गरेकाले वर्णवादी विचाराधारालाई बाहुनवाद वा ब्राह्मणवाद भनिएको हो ।

लगभग ३५०० वर्ष पहिले हिन्दू धर्मशास्त्रमा एउटा विराट पुरुषको मुखबाट ब्राह्मण, छातीबाट क्षत्री, घुँडाबाट वैश्य र खुट्टावाट शूद्रको जन्म भयो र बाहुन सबभन्दा माथिल्लो र शूद्रहरू सबभन्दा तल्लो जात हो भनेर लेखियो । यी कुरा भगवानको वचनझैँ प्रचार गरियो । जात प्रथाको स्रस्टा, हर्ताकर्ता बाहुनहरू भएकाले अहिले समाजमा जसले विभेद गरे पनि बाहुनवादको विरोध गर्ने गरिएको हो ।  

बाहुनवाद भनेको सबैलाई सम्मान अधिकार दिनु हुन्न, अरूलाई कमजोर पार्नुपर्छ, कमजोरलाई थिच्नुपर्छ, शक्तिको भक्ति गर्नुपर्छ, आफ्नो विकास गर्न अरूलाई विभेद गर्नैपर्छ भन्ने  विचार हो । विचार र व्यवहारअनुसार जोकोही जो विभेदवादी छ ऊ बाहुनवादी हुन्छ, बाहुन भए पनि नभए पनि । 

जातप्रथा टिक्नुको मुख्य  कारण– हेपाहा प्रवृत्ति

जातप्रथा टिक्नुको मुख्य कारण सत्ताको दुरुपयोग, हेपाहा प्रवृत्तिर दास मानसिकता हो । कमजोरलाई हेप्नु हेपाहा प्रवृत्ति हो भने र बलियोको चरण स्पर्शमा घोप्टिनु दास मानसिकता हो । बाहुनवाद र सामन्तवादले सबै समुदायमा हेपाहा प्रवृत्ति र दास मानसिकता छिरायो । दलित दलितबीच पनि भेदभाव हुनुको कारण पनि हेपाहा प्रवृत्ति र दास मानसिकता नै हो । आफूलाई कसले र किन शोषण गरेको छ भन्दा पनि आफूले कसलाई शोषण गर्ने भन्ने सोच नै हेपाहा प्रवृत्ति र दास मानसिकताको उपज हो ।

हेपाहा प्रवृत्तिको शिकार दलितहरू आफैमा हेपाहा प्रवृत्ति– बाहुनवादकै उपज

आफूलाई गरिएको शोषणको प्रतिरोध गर्नुभन्दा पनि आफूले चाहिँ कसलाई शोषण गर्ने होला भन्नेतिर लाग्नु  नै शोषकीय सोच हो । यो सोच दलितमा पनि छ । यो सोचका कारण पनि हेपाहा प्रवृत्तिर दास मानसिकता हो । अनि हेपाहा प्रवृत्ति र दास मानसिकताको कारक चाहिँ बाहुनवाद हो । हेपाहा प्रवृत्ति र दास मानसिकताले गर्दा हो जातप्रथा नमान्ने जनजातिले पनि भेदभाव गर्न सिकेको । त्यसैले सबै समुदायमा भेदभाव फैलिनुको कारण बाहुनवाद हो । विभेद या जातप्रथाको ‘स्कुलिङ’ बाहुनवाद हो । बाहुनवादको आधार सामन्तवाद हो । 

सामन्तवाद र बाहुनवाद

राजनीतिक भाष्यमा शोषणको आधार जमिन भयो भने त्यसलाई सामन्तवाद भनिन्छ । कसैसँग हजारौँ बिघा जमिन हुने र कसैसँग एक टुक्रा जमिन पनि नहुने अनि जमिन हुनेले नहुनेलाई शोषण गर्ने या जमिनदार– किसानको आर्थिक सम्बन्धको व्यवस्थालाई सामन्ती व्यवस्था वा सामन्तवाद भनिन्छ । राजा भनेको सामन्तको नेता  हो । त्यसैले राजतन्त्रको अन्त्यलाई सामन्तवादको अन्त्य पनि भनिन्छ ।

तर, नेपालमा राजतन्त्र गए पनि सामन्ती अर्थ व्यवस्था बाँकी नै छ । सामन्ती सत्ता टिकाउन सामन्ती सोच, संस्कार, मानसिकतासहितको प्रथा चलाइन्छ । बाहुनवाद यसको ज्वलन्त उदाहरण हो । बाहुनवादले सामन्तवाद टिकाउन सेवा गर्छ, समान्तवादले बाहुनवादको रक्षा गर्छ । नेपालमा राजतन्त्र गए पनि बाहुनवाद बाँकी नै छ । 

राजतन्त्र वा सामन्तवाद सकिए पनि सामन्ती चेतना नसकिनुको कारण 

सामन्ती सत्ताले आफ्नो व्यवस्था टिकाइराख्न विभिन्न विचार, मनोविज्ञान, संस्कार, संस्कृति,  मूल्य, मान्यता, पात्र, प्रवृत्ति, विश्वास– अन्ध विश्वास, मानक, प्रतिमान आदि स्थापित गरेको हुन्छ । सामन्ती व्यवस्था हटे पनि यी सामन्ती सोच, चेतना, मानक र संस्कार हट्दैन ।

वर्षौंको अभ्यास, समाजको सिकाइ र सामन्ती विचारको कलापूर्ण र मिहिन प्रस्तुतिले चाल नै नपाई यो मानिसको मन–मस्तिष्कमा गहिरो गरी गढेको हुन्छ । वर्षौंको अभ्यास पछि गलतै भए पनि पुरानो सबै राम्रो भन्ने भ्रम हुन्छ । केही व्यक्तिमा नयाँ चेतना आए पनि पूरै समाजमा नयाँ चेतना ल्याउन गाह्रो छ । पुरानो व्यवस्थावाट फाइदा लिइराखेकाहरूले विभेद पूर्ण नै भए पनि त्यसलाई अनेक रङ्ग दिएर टिकाउन खोज्छ ।

टोकनाइजेसन मुठीभरका व्यक्तिलाई अवसर, समुदायलाई शोषण

कोही दलित सम्पन्न हुनु या राजाले कोही दलितलाई मन्त्री वा पूजारी बनाउनु टोकनाइजेसन हो ।  केही व्यक्तिलाई अवसर दिएर पूरै जातीलाई शोषण गर्नु टोकनाइजेसन हो । राजाले नेवारहरूको भाषा, भूमि, संस्कृति अतिक्रमण गरेर एक जना नेवारलाई नै  राजपरिषद्को मुख्य सचिव बनाए जस्तै एक व्यक्तिले अवसर पाउनु र पूरै समुदायले अधिकार पाउनु धेरै फरक कुरा हो । टोकनाइजेसनको भ्रममा पर्नु हुँदैन । कोही नेपालीको नाम फोब्स पत्रिकामा अर्बपतिको सूचीमा आयो भन्दैमा सबै नेपाली अर्बपति हुँदैनन् ।

व्यक्तिगत जीवनरेखा र समाजको जीवनरेखा फरक 

मानिसको व्यक्तिगत जीवन रेखा भएजस्तै समाजको पनि आफ्नै जीवन रेखा हुन्छ । व्यक्तिगत रूपमा कोही सम्पन्न वा सफल भई भेदभावमा केही कमी भएजस्तो हुनु र पूरै समाजमा भेदभाव अन्त्य हुनु फरक कुरा हो । केही व्यक्तिमा चेतना आउनु र पूरै समाजमा चेतना आउनु फरक कुरा हो ।

क्रम विकास होइन, क्रान्ति चाहिन्छ, विस्तारै हुन्छ भन्नेले नेतालाई गाली नगरे हुन्छ 

दलितहरूले ३५०० वर्ष झेलेको विभेद हामी ३५ मिनेट पनि झेल्न सक्दैनौँ तर पनि हामी कति सजिलै भन्दिन्छौँ विस्तारै हट्छ भनेर । विस्तारै परिवर्तन त सबै हुन्छ । पहिला एउटा श्यामश्वेत टीभी पनि थिएन, अहिले घरघरमा रङ्गीन टीभी छ । हिजो रेडियो थिएन, आज हात हातमा मोबाइल छ ।  क्रमिक विकास छ त । विस्तारै परिवर्तन हुन्छ,  क्रमिक विकास ठीक छ भन्नेले मुक्तिको सपना नदेखे पनि हुन्छ । नेतालाई गाली नगरे पनि हुन्छ । विभेद ठीक छ भने बेथितिको विरोध नगरे हुन्छ । त्यसैले क्रम विकास होइन क्रान्ति चाहिएको हो । अझ मानवताविरोधी विभेद छिटोभन्दा छिटो अन्त्य गर्नपर्ने भएको हो । पुराना या यो वा त्यो नाममा निहुँ पारेर  भेदभाव कायम गर्नु अक्षम्य अपराध हो ।

उत्पीडनले उत्पीडित समुदायलाई मात्र पछाडि पारेन, सिङ्गो समाज र देशलाई नै पछाडि पा¥यो । व्यापक जनतालाई विकासको मूलधारबाट विमुख पारेपछि देश विकास हुने सम्भावना नै रहेन, हुन्न । देश विकास र मानवताको विजयका लागि विभेदपूर्ण जातप्रथाको यथाशीघ्र अन्त्य गर्न आवश्यक छ । अब पनि यो वा त्यो नाममा ढिलो गर्नु भनेको समाजले मानवताविरोधी कलङ्कको टीका लगाउनु हो, विकास धेरै पछाडि धकेलिनु हो । समाज परिवर्तनको गति बढाउन सबैले आआफ्नो ठाउँबाट उत्प्रेरकको भूमिका निभाउन आवश्यक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिवराम सुलु
शिवराम सुलु
लेखकबाट थप