बालकथा :

...त्यसपछि पायो  असन्तोषी कागले सुख

person explore access_timeअसार २३, २०७८ chat_bubble_outline0

नेपालीमा एउटा उखान छ । ‘झलक्क हेर्दा तँ राम्रो हेरिरहँदा म राम्रो ।’ धेरै पहिलेदेखि चल्दै आएको यो उखान भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । न सुनेका भए पनि बाबा, आमा, दाजु, दिदीलाई भनेर सुन्न

 सक्छौ । यसको अर्थ हो संसारमा कोही पनि राम्रो र न राम्रो भन्ने हुँदैन । सबैको एउटा न एउटा महत्व रहेकै हुन्छ । यदि कसैलाई त्यस्तो लागेको छ भने लागेको मात्र हो । वास्तविकता होइन । उनीहरू नै भएर वा उनीहरूभित्रै छिरेर बुझ्ने प्रयास गर्नुपर्छ कुरो आफैँ प्रष्ट हुन्छ । त्यसैले केही पाइन्छ भने आफ्नै जीवनबाट पाइन्छ, कहीँ पुगिन्छ भने आफ्नै जीवनलाई सदुपयोग गरेर पुगिन्छ । अर्काको जीवनलाई राम्रो मानेर पछि लाग्दा दुःखबाहेक केही पनि पाइन्न ।

धेरै पहिलेको कुरा हो । एकपटक एउटा कागले सन्तसमक्ष गएर भनेछ–

‘साधु महाराज ! यस जीवनबाट मुक्ति पाउँ ।’

सन्तले आश्चर्य मान्दै सोधे–

‘किन, के भयो र प्राणी ?’

कागले दिक्क हुँदै भन्यो–

‘तुच्छ कागको जीवनबाट दुःखित छु ।’

साधुले सम्झाउँदै भने–

‘के भयो पहिले त्यो त भन ।’

कागले गुनासो गर्दै भन्यो–

‘हेर्नुस् न । न रूप राम्रो छ । न स्वर नै । उता बानी त्यस्तै । जहिले पनि अरुको अगाडि गएर कराउन मन लाग्छ, जसले गर्दा कसैले पनि देखिसँहदैनन् । देख्नासाथ शुभ बोल, शुभ बोल भन्दै हाहा गर्छन्, ढुङ्गाले हान्छन्, लखेट्छन् ।’

सन्तले निष्कर्ष खोज्दै भने–

‘यसको अर्थ आफ्नो जीवनबाट सन्तुष्ट छैनौ हो ?’

‘हो हजुर ! ठीक भन्नुभयो, सन्तुष्ट छैन ।’

‘तिम्रो विचारमा कसको जीवन राम्रो होला त ?’

‘हाँसको जीवन राम्रो देखेको छु ।’

‘किन र ?’

‘किनकि उसको शरीर पनि राम्रो छ गुण पनि राम्रो छ । सबैले माया गर्छन् । त्यसैले सुखी पनि हुनुपर्छ ।’

‘यसको अर्थ हाँस बन्न चाहन्छौ हो ?’

‘हो हजुर हाँस बन्न चाहन्छु ।’

‘त्यसो भए एकपटक उसलाई सोधेर आऊ न त हुन्छ ?’

कागले खुसी हुँदै भन्यो–

‘हुन्छ, हजुर किन नहुने, मैले खोजेकै त्यही ।’

यति भनेर उसले हाँसको अगाडि गएर सोध्यो–

‘हाँस भाइ ! तिमी कति सुन्दर छौ । रूप पनि राम्रो, बानी पनि राम्रो । तिमीलाई त सुखैसुख होला होइन ?’

कागको कुरा सुनेर हाँसले हाँस्दै भन्यो–

‘मलाई पनि पहिले त्यस्तै लाग्थ्यो तर जब सुगालाई देखेँ त्यस दिनदेखि मभन्दा उसैलाई राम्रो र सुखी पाएको छु । सबैले माया गर्छन् । सुमसुम्याउँछन् । जतनसित पालन पोषण गर्छन् ।’

त्यसपछि उसले सुगाको अगाडि गएर भन्यो–

‘सुगा भाइ ! तिमी निकै भाग्यमानी रहेछौ । रूप पनि राम्रो । स्वर पनि राम्रो । तिमीलाई त सुखैसुख होला हगि ?’

कागको कुरा सुनेपछि सुगाले मुस्कुराउँदै भन्यो–

‘पहिले त म पनि त्यस्तै सोच्थेँ, निकै राम्रो छु जस्तो लागेको थियो । मेरो घमन्डको सीमै थिएन तर जब मयूरलाई देखेँ त्यसपछि मेरो घमण्ड चुर भयो । राम्रो म होइन भाइ ! मयूर हो । एकपटक गएर हेर त आफैँ थाहा पाउने छौ ।’

सुगाको सुनेपछि आश्चर्य मान्दै उसले मयूर समक्ष गएर भन्यो–

‘मयूर भाइ ! तिमी साह्रै राम्रा छौ । रूप त्यस्तै, स्वर त्यस्तै । मलाई तिमीभन्दा सुखी संसारमा कोही पनि छैन होला जस्तो लगिरहेको छ । के यो साँचो हो ?’

कागको कुरा सुनेर मयूरले लामो सास फेर्दै भन्यो–

‘के कुरा गर्ने भाइ ! यही त अभिशाप भइरहेछ ।  यही रूपको कारण स्वतन्त्र हुन पाएको छैन । मानिसले यसरी चिडिया घरमा बन्द गर्छन् । न बाहिरफेर घुम्न पाउँछु न बाहिरको दुनियाँ हेर्न पाउँछु । बस्दाबस्दै पखेटा समेत कुँजिसके । यस्तो जीवन पनि के जीवन । यदि तिमी सुखी देखेका छौ भने त्यो तिम्रो भ्रम बाहेक केही होइन ।’

त्यसपछि कागले आश्चर्य मान्दै सोध्यो–

‘त्यसो भए तिम्रो विचारमा कसको जीवन राम्रो र सुखी होला त ?’

मयूरले खिस्स हाँस्दै भन्यो–

‘मेरो विचारमा तिमी कागहरूभन्दा राम्रो र सुखी दुनियाँ कोही छैनन् । न कसैले पिँजडामा बन्द गर्छन् । न घरमा पाल्ने विचार नै गर्छन् । जसले गर्दा स्वतन्त्र भएर आफू खुसी घुम्न पाएका छौ ।’

मयूरको कुरा सुनेपछि काग झस्क्यो र सन्तको अगाडि आएर सबै कुरा सुनायो ।

त्यसपछि सन्तले सम्झाउँदै भने–

‘हेर भाइ ! तिमीलाई यही शिक्षा दिनकै लागि पठाएको थिएँ । को राम्रो र को सुखी भन्ने कुरा हेर्नेको आखामा भर पर्ने कुरा हो । आफैँसित त्यति ठूलो स्वतन्त्रता हुँदाहुँदै किन अरुको पछि लाग्छौ । हेर्दै गए केही न केही कमी सबैमा फेला पर्छ । त्यसैले अरुको पछि लाग्ने होइन आफ्नै जीवनसित सन्तुष्ट हुने प्रयास गर्नुपर्छ । तिम्रो जीवन आफैँमा प्रकृतिको वरदान हो । तिमीले चाहेर पाएका होइनौँ । कसैले चाहेर पाइने कुरा पनि होइन । प्रकृतिले जे दिएको छ त्यसैमा सन्तुष्ट हुन सिक्नुपर्छ र त्यसैमा सुखी र आनन्दित हुने प्रयास गर्नुपर्छ ।’

त्यस दिनदेखि कागले कहिले पनि त्यस्तो विचार गरेन । आफ्नै जीवनलाई राम्रो मानी स्वतन्त्रसित संसार घुम्न थाल्यो । सायद त्यसैले हुनुपर्छ अहिलेसम्मका कागहरूसमेत त्यसै गरिरहेका छन् ।

अब त भाइबहिनीहरूले पनि थाहा पायौ होला होइन, असन्तोषीहरूको अवस्था कस्तो हुँदो रहेछ ? जबसम्म काग आफ्नो जीवनबाट असन्तुष्ट थियो त्यतिबेलासम्म दुःख मात्र पायो । जब सन्तुष्ट भयो त्यस दिनदेखि सुखबाहेक केही पाएन ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।