मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बीपी प्रतिष्ठानको आन्दोलन नयाँ मोडमा : सिंहदरबार घेराउको कार्यक्रम परिमार्जन, माग पूरा नभए सामूहिक राजीनामा

मङ्गलबार, २२ असार २०७८, १९ : ५७
मङ्गलबार, २२ असार २०७८

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग लिएर आन्दोलनरत पक्षले आन्दोलनको स्वरुपलाई परिमार्जन गर्दै अभियानको रुपमा लैजाने योजना बनाएको छ ।

उपकुलपतिसहितका चार पदाधिकारीको राजीनामालाई न्यूनतम् शर्त बनाएका आन्दोलनकारीहरु सिंहदरवार घेराउको कार्यक्रमबाट भने पछि हटेका छन् ।

उपकुलपतिसहितका चार पदाधिकारीसँगको वार्ता वहिष्कार गरी २५ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले सात दिनभित्र आफ्ना माग पूरा नभए प्रधानमन्त्री कार्यालय घेराउ गर्ने जनाएका थिए । उक्त समयसीमा सकिएकै दिन अर्थात् मंगलबार उनीहरुले सिंहरवार घेराउको कार्यक्रम परिमार्जन गरेका हुन् ।

सिंहदरबार घेराउ गर्न जाँदा प्रतिष्ठानमा भर्ना भएका बिरामीको उपचारमा समस्या पर्ने भन्दै उनीहरुले उक्त कार्यक्रम नगर्ने निर्णय लिएका हुन् । यद्यपि उनीहरुले आफ्नो मागलाई सरकारले बेवास्ता गरेमा सामूहिक राजीनामा दिने कार्यक्रम यथावत रहेको जनाएका छन् ।

संघर्ष समितिका अध्यक्ष डा सुर्यप्रसाद रिमालले प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी कार्यालय घेराउ गर्ने कार्यक्रम फिर्ता लिइएको जनाए । प्रतिष्ठानमा भर्ना भएका बिरामीको उपचार सेवा प्रभावित हुने भएकाले सिंहदरवार घेराउको कार्यक्रमलाई परिमार्जन गरिएको उनले बताए ।

प्रतिष्ठान सुधारको मागलाई लिएर आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै अब आन्दोलनलाई अभियानकै रुपमा अघि बढाउने तयारी भएको पनि उनले जानकारी दिए ।

‘हाम्रा माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम निरन्तर अघि बढ्छ,’ रिमालले भने, ‘आन्दोलनसँगै प्रतिष्ठानको सुधारका लागि अब बौद्धिक वर्ग, सिनेटर, दलका लिडरहरुसँग वार्ता तथा सम्वादको कार्यक्रम पनि सँगै अगाडि बढ्ने छ ।’

प्रतिष्ठान सुधारका लागि आफूहरुको उद्देश्य सम्पूर्ण रुपमा केन्द्रित हुने उनको भनाइ छ । सरकारलाई माग सम्बोधनका लागि दबाब दिन सामाजिक सञ्जालको समेत सहारा लिने पनि बताए ।

प्रतिष्ठानमा विभिन्न समस्या रहेको भन्दै उनले त्यसको निकास खोज्न प्रतिष्ठानका पदाधिकारीबाट सम्भव नदेखिएकाले अब अधिकार सम्पन्न आयोगसँग मात्र निर्णायक वार्ता गर्ने बताए ।

सरकारले आफूहरुको माग सम्बोधन नगरेको खण्डमा प्रतिष्ठानमा कार्यरत १८ सय कर्मचारी, ६ सय शिक्षक र ३ सय चिकित्सकले सामूहिक राजीनामा दिने उनको चेतावनी छ ।

आन्दोलनकारीले दिएको समयसीमा सकिनु एक दिनअघि प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षसँग वार्ताका लागि सरकारले दुई सदस्यीय ‘समन्वयकारी टोली’ धरान पठाए पनि संयुक्त संघर्ष समितिले पदाधिकारीसँग वार्ता नगर्ने अडान दोहो¥याएको छ ।

संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले आन्दोलनप्रति स्वास्थ्य मन्त्रालयले चासो दिएको पाए पनि मन्त्रालयको टोलीले सचिवस्तरीय निर्णयलाई मात्र सुधारका लागि पहल गर्ने बताएपछि वार्तामा बस्न आफूहरु असमर्थ भएको र दुई सदस्यीय समन्वयकर्ता टोली फर्किएको बताए ।

बीपी प्रतिष्ठान सुधार र शुद्धीकरणको माग राखेर २५ दिनदेखि चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलनरत छन् । जसका कारण प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य प्रभावित हुँदै आएको छ ।

आन्दोलनरत पक्षले माग सुनुवाई नभएको भन्दै एक सातादेखि प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी, रेक्टर प्राडा गुरु खनाल र मेडिकल डाइरेक्टर प्राडा गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले चारैजना पदाधिकारीको बहिर्गमनलाई न्यूनतम शर्तका रुपमा अघि सार्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप