शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारले साढे ४ अर्बको ठेक्का लगाएको आरोप

मङ्गलबार, २२ असार २०७८, १९ : ४६
मङ्गलबार, २२ असार २०७८

पोखरा । पृथ्वी सुब्बा गुरुङ सरकारले साढे ४ अर्बमा ठेक्का लगाएको खुलेको छ । गुरुङ नेतृत्वको सरकारले काँग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि रातो किताबमा उल्लेख नै नगरेका ११ सडकलाई साढे ४ अर्बमा ठेक्का लगाएको आरोप लागेको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले साढे ४ अर्बको बजेट नियमविपरीत ठेक्का लगाएको आरोप लगाएका हुन् ।

मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्काले सरकार ढल्ने निश्चित भएपछि बिभिन्न जिल्लाका १० वटा योजनामा वितरण गरिएको बताए । उनले यस निर्णयले सरकारलाई आर्थिक व्ययभार थपिएको बताए ।

‘रातो किताबमा नभएका योजनामा बजेट राखेर ठेक्का दिएकाले अहिलेको सरकारलाई आर्थिक व्ययभार थपिएको छ,’उनले भने,‘प्राविधिक प्रस्ताव स्वीकृत नभएको, आर्थिक प्रस्ताव स्वीकृत नभएको भन्दै नया योजनामा ठेक्का लगाउने निर्णय भएको रहेछ ।’

सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा अघिल्लो आर्थिक वर्षमा खर्च नभएर बचत भएको २ अर्ब १० करोड रुपैयाँ अहिले प्रस्तुत गरिएको बजेटको स्रोत भएको उल्लेख गरेका थिए । 

मन्त्री खड्काकाले नयाँ ठेक्का लगाएपछि रकम नबच्ने भएकाले अहिलेको बजेट समेत प्रभावित हुने बताए । मन्त्री खडकाले अघिल्लो सरकारले गरेको निर्णयका आधारमा ठेक्का खोल्न सरकारसँग पैसा नभएको बताए । उनले अघिल्लो सरकारले गरेका कामहरूबारे श्वेतपत्र ल्याउने तयारी भएको समेत बताए ।

मन्त्री खड्का अनुसार अघिल्लो​ सरकारले तनहुँको शालिग्राम करिडोर लोकमार्ग (बैडी घिरिङ खण्ड), स्याङ्जाको शालिग्राम करिडोर लोकमार्ग (मालुङ्गा–बास्टारी–रानीघाट–रुद्रबेनी–सेतीवेणी, फलेवास कुश्मा) वेलटारी–रानीघाट–सतुका खण्ड, लमजुङको खात्रीठाँटी–कुन्टा सोतीपसल सडकको हाँडेटार–कुन्छा (भलुवा) सडक खण्ड, कास्कीको माछापुच्छ्रे गाउँपालिका जोड्ने सार्दीखोला–घाचोक जोड्ने सडकमा सेती नदीमा मोटरेबल पुलका लागि रकम थप भएको छ । 

त्यसैगरी कास्कीको काहुँखोला सिक्लेस दूधपोखरी सडक, गोरखाको नारेश्वर पाणिनी चौतारा निवेत ताकुघाट सडक, म्याग्दीको बेनी दर्बाङ सडक, स्याङ्जाको नौंडाँडा–कार्कीनेटा सडक स्तरोन्नती, बागलुङको कुश्मिसेरा (जैमिनी)देखि राङ्खानी–नाम्दुक–बरेङ–शान्तिपुर सडक र लमजुङको करापुटार–डढवा–साल्मेभञ्ज्याङ–मालिङ्ग–कपुरगाउँ सडक का लागि साढे ४ अर्ब भन्दा बढी रकम दिने निर्णय भएको बताए । 

मन्त्री खड्काले असारे विकारका लागि सरकारले बजेट रकमान्तर गरेको स्वीकारे। उनले बाहिर आएको १६ कारोड रकामान्तर नगरेको बताए । उनले नया सरकार आएपछि जनताको अपेक्षा धेरै भएकाले रकमान्तर गर्न बाध्य भएको दावी गरे । 

उनले किसुनजी,मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराला,केपी ओली र माधव नेपालले समेत रकमान्तर गर्ने गरेको बताए ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु माया अधिकारीको संयोजकत्वमा विपद् व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन गरेको जानकारी दिए । उनका टास्क फोर्समा मन्त्री अधिकारीसहित २ जना विनाविभागीय मन्त्री, कानून सचिव र मुख्यमन्त्री कार्यालयका सचिव सदस्य रहने बताए । 

उनले सरकारले नीति तथा योजना आयोगको उपाध्यक्ष डा.रघु राज काफ्ले, सदस्यमा डा.सुभाष अधिकारी,महान्यायाधिवक्तामा रोहित राज बास्तोला, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा खड्ग बहादुर कुमाल र मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला नियुक्त गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप