प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् ।
दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो हालखबर सोधेको उनले जानकारी दिइन् ।
करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेको उनले बताइन् ।
प्रधानमन्त्रीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेको मेयर साहको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले तपाईको कतिजना नानीबाबु छन्, कति वर्षका भए कुनकुन कक्षामा पढ्दैछन् भनेर सोध्नुभयो,’ उनले भनिन्, ‘मैले सहजरूपमा जवाफ दिएँ ।’
अविरल वर्षा र बाढीले रौतहट डुबानमा परेको समय प्रधानमन्त्री ओलीले जिल्लाको अवस्थाबारे बुझ्न आफूलाई फोन गर्नु गौरवको विषय भएको मेयर साहको भनाइ छ ।
माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय खटपट चलिरहेको भन्ने चर्चा भइरहेको समयमा ओलीले साह पत्नी तथा मेयर रिनालाई फोन गर्नु अर्थपूर्ण मानिएको छ ।