बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भएका बालबालिकालाई एमआईएस (सी) को खतरा

के हुन् यसका लक्षणहरु ?
मङ्गलबार, २२ असार २०७८, १० : ४३
मङ्गलबार, २२ असार २०७८

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमणबाट मुक्त भएका १९ वर्षमुनि उमेर समूहलाई  एमआईएस (सी) लाग्छ । कोरोना सङ्क्रमण मुक्त भएको दुईदेखि चार हप्ताभित्र यो रोग देखिनसक्ने कान्ति बाल अस्पतालका पेडियाट्रिक विभागका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. अजित रायमाझी बताउँछन् । यद्यपि कोरोना सङ्क्रमण मुक्त भएको एकदेखि तीन महिनासम्म पनि बालबालिकालाई एमआईएस (सी) देखिन्छ ।

एमआईएस (सी) लागेर गम्भीर स्वास्थ्य समस्या भई उपचारका क्रममा बालबालिकाको मृत्युसमेत भएको छ ।

एमआईएस (सी) रोग कोरोना सङ्क्रमणकै कारण हुने गर्छ । तर कम बालबालिकालाई कोरोना सङ्क्रमण भएकै बेलामा पनि एमआईएस (सी) लाग्न सक्नेसमेत बालरोग विशेषज्ञ डा. रायमाझीले बताए ।

कोरोनामुक्त भएका बालबालिकामा उचित ध्यान पु¥याउन नसक्दा स्वास्थ्यमा गम्भीर खालको समस्या देखापर्ने उनले सुनाए । यो गम्भीर खालको रोग भएकाले यसबारे सचेत रहन अति आवश्यक भएको डा. रायमाझी ठान्छन् ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थाहा पाईकन नै एमआईएस (सी) रोग लाग्ने गरेको छ । कोरोना सङ्क्रमण लक्षणविहीन देखिएपछि थाहा नपाईकन नै निको हुन गर्छ । तर बालबालिकालाई सङ्क्रमण भएको पत्तो नपाई पनि एमआईएस (सी) को लक्षण देखिने गरेको डा. रायमाझी बताउँछन् ।

एमआईएस (सी) पुष्टि भएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ देखाउने उनले सुनाए । कोभिडसँग लड्नका लागि शरीरले प्रतिक्रिया जनाउने क्रममा एमआईएस (सी)  रोग लाग्ने उनले बताए । शरीरले भाइरसप्रति प्रतिक्रिया जनाउने क्रममा प्रतिक्रिया नदिने र ज्यादै प्रक्रिया दिँदा एमआईएस (सी) हुन सक्ने डा. रायमाझीले सुनाए ।

भाइरसप्रति शरीरले तीन खालका प्रतिक्रिया देखाउँछ । भाइरस शरीरमा हुँदा एउटाले सामान्य प्रतिक्रिया देखाउँछ, अर्कोले प्रतिक्रिया नै नदेखाउने हुन्छ र शरीरले एकदमै धेरै प्रतिक्रिया दिने उनले बताए ।

कोरोना सङ्क्रमण निको भएपछि भाइरसले शरीरमा साधारण प्रतिक्रिया देखाउनुपर्ने सट्टामा प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया देखाएर शरीरभरी गलत सूचना फिजाउँदा एमआईएस (सी) हुने वातावरण सिर्जना गर्ने डा. रायमाझीको भनाइ छ । त्यही भएर नै कोभिड सङ्क्रमण हुनेबित्तिकै यो रोग शरीरमा देखापर्दैन ।

एमआईएस (सी) लाग्दा देखिने लक्षणहरू यस्ता छन् ।

–दुई तीन दिनसम्म उच्च ज्वरो आउने ।

–आँखा रातो भएर पक्ने ।

–हातखुट्टा चिसा हुने, नसाहरू खोज्दा नभेटिने ।

–मुटुको धड्कन बढ्ने ।

–हात, खुट्टा, शरीर लगायतका विभिन्न ठाउँमा काला डाबरहरू आउने ।

–नाक वा शरीरको कुनै भागबाट रगत बग्ने

 ।

–पेट दुख्ने, पखाला लाग्ने, बान्ता आउने  ।

–कोभिड मुक्त भएपछि एमआईएस (सी) भएर जटिल अवस्था जटिल नै सिर्जना भएको बेलामा जिब्रो, ओठ सुन्निने ।

–श्वासप्रश्वासमा समस्या हुने, पिसाब फेर्न पनि गाह्रो हुने ।

–हातखुट्टा सुन्निने ।

कोभिड मुक्त भएपछि देखिने एमआईएस (सी) को उपचार महँगो पर्ने चिकित्सकहरू बताउँछन् । यो रोग लागेर अस्पताल पु¥याउन ढिला भएमा बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्नेसमेत डा. रायमाझीले सुनाए । मे २०२० कालासाकी जस्तो लक्षणदेखिएका बाल रोगी आएपछि जाँच तथा परीक्षण गर्दा एमआईएस (सी) भन्न  पहिचान भएको उनले सुनाए । त्यसपछि कान्ति बाल अस्पतालले यस रोगको बारेमा स्वास्थ्य मन्त्रालयलाई सेप्टेम्बरमा रिपोर्टिङ गरेको उनले बताए । ‘जाँच तथा परीक्षण क्रममा कोभिड मुक्त भएका बालबालिकालाई एमआईएस (सी) लागेको देखियो भनेर प्रकाशन ग¥यौँ,’ उनले भने, ‘त्यसपछि धेरै अस्पतालमा यो रोगका बिरामीको जाँच, पहिचान उपचार गर्न सुरु गरिएको छ  ।’

त्यसपछि लक्षणदेखिएका बालबालिकालाई एमआईएस (सी) को शङ्का गर्न थालिएको हो । शङ्काका आधारमा अस्पतालमा बिरामीलाई समयमै ल्याउँदा उपचार पाएर निको भएर घर जान थालेको उनको भनाइ छ । कान्ति बाल अस्पतालमा हप्तामा १५ देखि १७ जना एमआईएस (सी) आशङ्का भएर आउने गरेको उनले जानकारी दिए ।

बालबालिकामा एमआईएस (सी)को आशङ्का लाग्ने बित्तिकै अस्पताल लैजानुपर्छ । यो नवजात शिशुलाई समेत लाग्छ । त्यसैले शिशु तथा ससाना बालबालिका, किशोर किशोरीहरूले तत्काल थाहा पाउँदैनन् । कोरोना मुक्त भएका बालबालिकालाई पुनः स्वास्थ्यमा समस्या देखिएमा अभिभावकले ख्याल गर्न अत्यन्त जरुरी भएको उनले सुनाए । यो रोग कम उमेर समूहका नवजात शिशु, बालबालिका र किशोर किशोरीलाई देखापर्ने भएकाले कोरोना भाइरस मुक्त भएका उनीहरूमा स्वास्थ्य समस्या देखिएमा अभिभावक धेरै सचेत हुनुपर्ने बालरोग विशेषज्ञ डा. रायमाझीको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप