महन्थ ठाकुर र उपेन्द्र यादव आ–आफ्नै अडानमा, भोलि होला त सहमति ?

जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने तय हुने बताइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा पत्र दर्ता गराएपछि अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि आफ्नो प्रमाण दिन आयोगले पत्र पठाएको थियो । जवाफमा ठाकुरले पार्टीमा आफ्नो पनि बहुमत रहेको भन्दै निर्वाचन आयोगमा पत्र पठाइसकेका छन् ।
पार्टीमा दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि दुवै पक्षका लागि बोलाएको हो । आयोगमा हुने छलफलका लागि आज दुवै पक्षले आआफ्नो समूहमा छुट्टा छुट्टै छलफल गरेको छ । बैठकपछि दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेका छन् । ठाकुर पक्षले २० जना हेरफेर गरी कायम गरिएको कार्यकारिणी समितिलाई मान्यता दिएर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन यादव पक्षसँग समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ । उता, यादव पक्षले भने ठाकुर पक्षले हेरफेर गरेको कार्यकारिणी समितिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बरु आत्मालोचना गरेर आए पार्टीमा आउन दिने निर्णय गरेको छ ।
२०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकार अनुसार कार्यकारिणी समिति हेरफेर गरी पुनर्गठन गरेको र त्यसलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन ठाकुरको प्रस्ताव रहेको छ । यदि यादवले सो प्रस्ताव स्वीकार नगरे उनलाई समाजवादी पार्टी बनाएर अलग हुन भनिने ठाकुरको तयारी रहेको छ ।
यता, यादव पक्षका कार्यकारिणी सदस्य इस्तियाक राइले महन्थ ठाकुरहरू आत्मालोचना गरेर पार्टीमा फर्किए स्वागत गरिने बताए । ‘महन्थ ठाकुरहरूले पार्टीको विधान मात्र होइन, संविधान विपरीत पनि काम गरेकाले त्यतिकै माफ गर्न सकिँदैन । तर उहाँहरू आत्मालोचना गरेर एकताका लागि तयार हुनुभयो भने त्यसलाई स्वीकार गर्ने छलफल भएको छ,’ उनले भने ।
महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एकवाल मियाँले भोलि निर्वाचन आयोगले बोलाएको विषयमा छलफल गर्नका लागि आज पार्टीमा अनौपचारिक छलफल भएको बताए । ‘एकताका लागि प्रयास गर्ने छलफल भएको छ । तर, यादव पक्षबाट त्यसलाई स्वीकार भएन भने निर्वाचन आयोगले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्ने कुरा भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै