राष्ट्रियसभा बैठक : प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकको विषेश समयमा उनीहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गरे । साथै नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरीको धारणा थियो भने अर्काथरीले संविधानअनुसार हुने निर्वाचनले मात्र लोकतन्त्रको रक्षा गर्ने र गैरसंवैधानिक रुपमा हुने निर्वाचनले लोकतन्त्र नै नष्ट हुने धारणा व्यक्त गरेका थिए ।
बैठकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले पुनःस्थापित प्रतिनिधिसभाले यसअघि प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनमै जानुपर्ने बताए । नयाँ जनादेशका लागि सबै दल अब निर्वाचनमा नै जानु उपयुक्त हुने उनको तर्क थियो । उनले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच लुकामारी खेलेजस्तो भएको भन्दै दुवै सभा एकैपटक सञ्चालन नभएसम्म कानून निर्माण हुन नसक्ने बताए । अहिले संसदीय राजनीतिक व्यवस्थाका नाममा गैरसंसदीय गतिविधि भइरहेको जनाउँदै सांसद दाहालले आफ्नै दलका नेतालाई प्रधानमन्त्रीबाट हटाउन अदालतमा लाइन लागेको दृश्य अनौठो देखिएको धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस सांसदका रमेशजंग रायमाझीले सरकारले कोरोना सङ्क्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेर आरोप लगाए । उनले अहिले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै कोरोनाविरुद्धको खोप खरीदमा पारदर्शिता कायम हुनुपर्ने माग गर्नुभयो । फरक प्रसङ्गमा सांसद रायमाझीले संसदबाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गरे ।
साथै उनले प्रधानमन्त्रीले कानून निर्माण गर्ने जनप्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको आरोपसमेत लगाए । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न आग्रह गर्दै प्रतिनिधिसभा नभएका बेला यस सभालाई लोकतन्त्रको रक्षा र जनताको आवाज उठाउने थलोका रुपमा निरन्तरता दिन उनले आग्रह गरे ।
साथै उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार संविधानले नदिएको तर्क गर्दै नयाँ सरकार बन्ने अवस्था नभएपछि मात्र अन्तिममा मात्र प्रतिनिधिसभा विघटन हुने व्यवस्था संविधानले स्पष्ट गरेको बताए । सांसद श्रेष्ठले संविधानको धारा ७६ (२) र ७६ (५) फरक फरक भएको उल्लेख गर्दै एउटै हो भन्नु संविधानलाई विगत पार्नु भएको उनको भनाई थियो । धारा ७६ (५) सांसदलाई विशेषाधिकार प्रयोग गर्ने व्यवस्था हो भन्दै उनले संविधानले राष्ट्रपतिलाई अलङ्कारिक रुपमा राखेको र स्वविवेकको अधिकार नदिएको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा