शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आयोगले बोलाएपछि महन्थ र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक

सोमबार, २१ असार २०७८, १५ : ५०
सोमबार, २१ असार २०७८

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको सोमबार कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक चलिरहेको छ ।

बबरमहलमा ठाकुर पक्षको र बालकुमारीमा यादव पक्षको बैठक चलिरहेको छ । पार्टीभित्रको विवादका विषयमा निर्वाचन आयोगले छलफलका लागि दुवै पक्षलाई मंगलवार बोलाएपछि उनीहरु छलफलमा जुटेका हुन् । 

ठाकुर पक्षको बैठकमा हेरफेर गरि नयाँ कायम गरिएको कार्यकारिणी समितिका सदस्य समेत सहभागी रहेका छन् भने यादव पक्षको बैठकमा पुरानै कार्यकारिणी समितिका सदस्यहरु सहभागी छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिबाट यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेका थिए । 

तर सो कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । तर, पुनर्गठित कार्यकारिणी समितिका सदस्य अकवाल मियाले भने हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता दिए–नदिएको जानकारी निर्वाचन आयोगले नदिएको दावी गरे । 

विवाद बढ्दै जाँदा पार्टीको अधिकारिताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि छलफलका लागि दुवै पक्षलाई बोलाइएको हो । आधिकारिकताका लागि अध्यक्ष यादवले निवेदन दिएपछि आयोगले ठाकुर पक्षलाई पनि आफ्नो पक्षबाट प्रमाण बुझाउन पत्र पठाएको थियो । सो पत्र अनुसार अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई पत्र पठाएका थिए । पत्रका अध्यक्ष ठाकुरले पार्टीमा आफूहरुको बहुमत रहेको दावी गरेका थिए । 

आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएपनि सहमतिको सम्भावना छैन । सहमति हुने सम्भावना नभएकाले कसरी अघि बढ्ने भन्नेबारे ठाकुर पक्षको बैठकमा छलफल भइरहेको एक नेताले बताए । महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले छलफल चलिरहेपनि कुनै निर्णय भइनसकेको बताए । उनले भने,  ‘अनौपचारिक छलफल चलिरहेको छ, हेरौं छलफलबाट के आउँछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप