सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

युवाहरूलाई आम्दानीकै आधारमा ऋणमा पहुँच

लोकप्रिय बन्दै एफवान सफ्टको ‘फोन लोन’, बैङ्कहरू उत्साहित
सोमबार, २१ असार २०७८, १३ : १६
सोमबार, २१ असार २०७८

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा ‘आकाशको फल आँखा तरी मर’ जस्तै छ । पछिल्लो समय फाइनान्सियल टेक्नोलोजीमा काम गरिरहेको संस्था एफवान सफ्टले सानै कमाइ भए पनि क्रेडिटमा पहुँच विस्तार गर्नकै लागि भनेर ‘फोन लोन’ (मोबाइलबाटै कर्जा लिन मिल्ने) प्रविधिको विकास गरेको छ । जसमा बैङ्कहरूलाई अभ्यस्त गराउँदै ग्राहकलाई फोन लोनका लागि प्रेरित गरिरहेको छ ।

युवाहरूलाई लक्षित गरेर विकास गरिएको फोन लोन एक प्रकारको डिजिटल (मोबाइल) प्रविधि हो । यसलाई बैङ्कहरूले आफ्नो योजनामा सामेल गराएका छन् । युवाहरूलाई क्रेडिटमा पहुँच विस्तार गरी अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले एफवान सफ्टले यस्तो प्रविधिको विकास गरेको जनाएको छ ।

फोन लोन

राष्ट्र बैङ्कले डिजिटल (विद्युतीय) माध्यमबाट कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएसँगै यतिबेला बैङ्क तथा वित्तीय संस्थाहरूले हरेक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिरहेका छन् । हरेक कारोबार डिजिटल माध्यमबाट भए पनि कर्जा (लोन)का लागि कागजातको चाङ बोकी बैङ्क धाउनुपर्ने र औँठा छाप नै लगाउनुपर्ने बाध्यता भने अझै हटेको छैन । अझ मुलुकमा कोरोना भाइरसको महामारी फैलिएसँगै त यी कार्यले ग्राहक तथा बैङ्कका कर्मचारीलाई झनै जोखिम बढाइदिएको छ । यस्ता असहजता न्यूनीकरणका लागि एफवान सफ्ट इन्टरनेसनलले कर्जा सुविधालाई पनि डिजिटल माध्यमबाटै गर्ने कार्यको थालनी गरेको हो ।

एफवान सफ्टले ल्याएको यो सुविधालाई यतिबेला बैङ्कहरूले धमाधम सञ्चालन गरिरहेका छन् । ठूला कर्जामा मात्रै केन्द्रित हुने बैङ्कहरू यतिबेला साना कर्जा(लोन) मा केन्द्रित हुन थालेका छन् । सरल र सहज कर्जाको नाममा साना कर्जा दिन बैङ्कहरूमा प्रतिस्पर्धा नै देखिन थालेको छ । यतिबेला बैङ्कहरूले एफवान सफ्टसँगको सहकार्यमा ‘फोन लोन’ सेवालाई प्रोत्साहन गरिरहेका छन् ।

एफवान सफ्टले गत वर्षको निषेधाज्ञाको समयमा ल्याएको थियो फोन लोन सेवा । यो सेवामा बैङ्कहरूलाई आबद्ध गराउन एफवान सफ्टलाई निकै चुनौती थियो । कर्जा जस्तो कुरा पनि मोबाइलबाट ? तर कारोबारका आधारमा बैङ्कहरूले आफ्ना ग्राहकलाई विश्वास गर्दै कर्जा स्वीकृत गर्न सक्ने भएकाले र बैङ्कको सिस्टमले नै कारोबारको आधारमा ग्राहकलाई कर्जा दिन योग्य भनेर प्रमाणित गरिदिने भएकाले पनि यो सेवा लोकप्रिय बन्दै गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा बताउँछन् ।

यो कर्जा बिना झन्झट, बिना धितो, बैङ्कमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत छिटो र सहज तरिकाले लिन सकिन्छ । तर फोन लोनका लागि कुनै पनि सङ्घ संस्था तथा रोजगारदाता कम्पनीहरूले बैङ्कहरूमा आफ्ना कर्मचारीको तलबी खाता खोलेको हुनुपर्छ । तलब खाता भएका कर्मचारीले मात्र लोनका लागि आवेदन दिन पाउनेछन् । यो व्यवस्था कर्मचारीको हकमा मात्र लागू गर्नुको पछाडिको कारण बैङ्कमा नियमित कारोबार देखिनुपर्ने प्रावधान नै हो । नियमित कारोबार नहुने ग्राहकसँग बैङ्कले विश्वास गर्ने आधार नहुने भएकाले यस्तो व्यवस्था गरिएको एफवान सफ्टले जनाएको छ । तर अहिले केही बैङ्कहरूले नियमित कारोबार गर्ने अन्य ग्राहकलाई पनि यो सुविधा प्रदान गर्दै जाने बताएका छन् ।

तलबी खाता भएको बैङ्कबाट ‘फोन लोन’ लिनका लागि अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर खराब कर्जा नभएको र कालोसूचीमा नपरेको हुनुपर्ने प्रावधान बैङ्कहरूले राखेका छन् । बैङ्कहरूले ग्राहकको खाता सुरु भएको समयावधि, खातामा पैसा जम्मा हुने र बचत हुने प्रवृत्तिको अध्ययन विश्लेषण गरेर मात्रै बिना धितो लोन स्वीकृत गर्ने गरेका छन् ।

यो कर्जाका लागि ग्राहकले आफ्नो खाता भएको बैङ्कको मोबाइल एप (स्मार्ट बैङ्किङ) आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ । उक्त एपमा बैङ्कले कर्जाका लागि न्यूनतम मापदण्ड पूरा भएको छ भने कर्जाका लागि आवेदन दिन सक्ने बारे नोटिफिकेसन पठाएको हुन्छ, जसको आधारमा कर्जाका लागि आवेदन दिन सकिन्छ । आवेदन दिएको केही समयमै बैङ्कले प्रक्रिया पूरा गरी आवेदन रकम (२ लाख सम्म) खातामा जम्मा गरिदिन्छ । 

सुवास शर्मा

डिजिटल कारोबारमा एफवान सफ्टको पहल

एफवान सफ्ट’ नेपालको डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले २००४ को मार्च ६ बाट आफ्नो सेवा सुरु गरेको थियो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्माले बताए ।

एसएमएस बैङ्किङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, भाइबर बैङ्किङ, फोन लोन जस्ता निकै रुचाइएका प्रविधि निर्माण गरिसकेको छ ।

कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्दै आइरहेको छ । एफवान सफ्ट ग्रुपअन्तर्गत ई–सेवा, फोनपे, ई–सेवा मनी ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यस्तै एफवान सफ्टले ई–सेवा र फोन–पे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ । ई–सेवा, फोन–पे, मोबाइल बैङ्किङ पेमेन्ट लगायत सफल भइसकेकाले फोन लोन अर्को खुड्किलो भएको कम्पनीका सीईओ शर्माले बताए ।

बैङ्किङ सर्भिसमा ल्यान्डिङ र डिपोजिटमा काम गरिरहेको एफवानले अब फोनबाटै लोन लिनेगरी व्यवस्था गरेको हो । बिना कागज, बिना धितो, बिना उपस्थिति साना लोनका लागि सहज हुने भएकाले यसमा काम गरिरहेको शर्मा बताउँछन् । बैङ्कको नयाँ नयाँ सिस्टममा अध्ययन गर्दै र ग्राहकको चाहना र सहजतालाई ध्यान दिँदै फोन लोनमा गएको उनले बताए । कागजात लिएर ल्याप्चे लगाउनुपर्ने अवस्थाको अन्त्य गर्दै डिजिटल माध्यमबाट ग्राहकलाई कारोबारमा पहुँच पु¥याउने उद्देश्यका साथ कम्पनी अगाडि बढेको शर्मा बताउँछन् ।

फोन लोनमा बैङ्कहरू उत्साहित

अहिलेसम्म एफवान सफ्टमा फोन लोनका लागि ५ वटा बैङ्कहरू आबद्ध भइसकेका छन्  । हालसम्म नबिल बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सिटिजन्स बैङ्क र मेगा बैङ्कले फोन लोन सेवा सञ्चालन गरिसकेका छन् भने सनराइज बैङ्क र ग्लोबल आईएमई बैङ्क पनि फोन लोनका लागि एफवान सफ्टसँग जोडिने तयारीमा रहेको सीईओ शर्माले बताए ।

बैङ्कहरू ठूला कर्जामा फोकस हुने तर साना कर्जा लिन चाहने ग्राहक कि त फाइनान्सतिर नै जानुपर्ने कि त सरसापटीमै अल्झिनुपर्ने अवस्था रहेकाले कसैलाई अनुरोध गरिरहनुभन्दा आफूले चाहेको समयमा रकम आफ्नै खाताबाट लिन सक्ने सुविधाका लागि यो अवधारणा आएको शर्मा बताउँछन् ।

यो निकै सहज र सरल प्रक्रिया भएकाले पनि ग्राहकलाई डिजिटल प्लेटफर्ममा जोडिन सहज हुने विश्वास कम्पनीको थियो । यता बैङ्कहरू पनि मोबाइल टेक्नोलोजीमार्फत ग्राहकलाई कारोबारमा सहज बनाउन अग्रसर देखिएको बेला यो सुविधा लोकप्रिय बनेको छ ।

सीईओ शर्माका अनुसार ग्राहकले कर्जा तिर्न सक्छ कि सक्दैन भन्ने डाटा बैङ्क आफैसँग हुने भएकाले यस्तो प्रक्रियामा धोका हुन सक्दैन । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनालिटिक्स सफ्टवेयरले गर्ने छ ।

फोन लोनले ग्राहकको डाटा विश्लेषण गरेर कर्जा जोखिममा हुँदैन भन्ने बैङ्कको सफ्टवेयरले नै भनिदिने भएकाले यो निकै सुरक्षित र भरपर्दो पनि छ । कर्जा पास भएपछि रकम सीधै ग्राहकको बचत खातामा जान्छ । यसका लागि बैङ्कले अतिरिक्त कर्मचारी राख्नु नपर्ने सबै प्रक्रिया सिस्टमले गर्ने भएकाले बैङ्कलाई थप भार पनि पर्दैन । त्यसैले पनि योजना सुरु भएपछिको पहिलो वर्षमा निकै राम्रो नतिजा आएको छ । १ वर्षको अनुभवमा ग्राहक निकै खुशी देखिएका छन् र डिफल्डको सम्भावना पनि निकै कम छ ।

सबैभन्दा पहिला गत (२०७७) असोजमा नबिल बैङ्कले फोन लोन योजना सार्वजनिक ग¥यो । बैङ्कले आफ्नो बैङ्कमा तलब खाता हुने ग्राहकलाई १ महिनाका लागि २.५ प्रतिशत ब्याजदरमा १ लाख रुपैयाँसम्म कर्जा फोनमार्फत दिने योजना ल्यायो । त्यसैगरी मेगा बैङ्क नेपाल लिमिटेडले पनि ‘फोन लोन’ सुविधा सार्वजनिक गरेको छ । बैङ्कमा आफ्नो मासिक तलब खाता भएका विभिन्न सङ्घ संस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि न्यूनतम ३ हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म उपभोग गर्न सक्ने छन् । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले ‘पेडे लोन’ नाममा फोन लोन सुविधा सार्वजनिक गरिसकेको छ । ग्राहकहरूले अधिकतम ३० दिनसम्मका लागि २ लाखसम्म मोबाइल बैकिङबाट ‘पे डे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यसैगरी लक्ष्मी बैङ्कले पनि २०७७ फागुनबाट स्मार्टफोन लोन सेवा सुरु ग¥यो । बैङ्कका ग्राहकले मोबाइल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । कुमारी बैङ्क लिमिटेडले तलब खाता सञ्चालन गरिरहेका ग्राहकहरूले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैङ्किङबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

अहिलेसम्म १२ हजार १ सय २१ जनाले यो लोनका लागि आवेदन दिइसकेका छन् भने २ हजार ७ सय ४४ जनाले लोन पाएका छन् । सोही अवधिसम्ममा लोन सङ्ख्या ६ हजार ७ सय २२ पुगेको छ । एफवान सफ्टका अनुसार लोनको भल्युम १० करोड ९५ लाख ४९ हजार अनुमान गरिएको छ । कानुनी कागजातको झन्झट बिना लोनका लागि आवेदन दिन सकिने भएकाले यसमा ग्राहकको आकर्षण बढ्ने बैङ्कहरूले विश्वास लिएका छन् ।

एफवान सफ्टले फोन लोनसँगै नयाँ आर्थिक वर्षबाट ईएमआई सुविधा पनि थप गर्ने योजना अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप